परिवारको सुखशान्ति र समृद्धिको कामना गर्दै मनाइने छठ पर्व पछिल्ला वर्षमा सामुदायिक र धार्मिक सद्भावको साझा पर्व बन्न थालेको छ।
दुई दशक अघिसम्म तराईका हिन्दु धर्मावलम्बीमा सीमित छठ पछिल्लो समय पहाडी समुदायसँगै अन्य धर्मावलम्बीको समेत पर्व बनेको छ।
सद्भावको पर्व छठको उज्यालो उपत्यकाका नदी तथा पोखरीमा पनि प्रतिबिम्बित देखियो। काम विशेषले यतै रहँदै आएका मधेसी मूलका भक्तालुसँगै पहाडी समुदायका श्रद्धालुले एकै ठाउँमा बसेर आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिए। प्रसादका रूपमा नरिवल, केरा र ठेकुवा चढाउँदै सूर्यलाई अर्घ दिँदा दुवै समुदाय एकै परिवारका सदस्यजस्तै देखिन्थे।
‘पहाडी समुदायका दिदीबहिनीसँगसँगै बसेर छठ मनाउँदा रमाइलो लागेको छ,’ गौरीघाटस्थित वाग्मती किनारमा छठ मनाउँदै गरेकी पर्सा सुगौलीकी रमादेवी साहले भनिन्, ‘अघिल्लो वर्ष पनि हामी सँगै बसेका थियौं।’
उनीसँगै रहेकी गोठाटारकी नमिता पुडासैनीले पनि छठ पर्वले खुसी दिएको सुनाइन्। ‘पर्व जसले मनाए पनि सहभागी हुँदा रमाइलो लाग्दो रहेछ,’ उनले भनिन्, ‘दसैंतिहार सकिएपछि छठमा रमाउन पाएका छौं।’
राजधानीका गौरीघाट, कमलपोखरी, विष्णुमती, नक्खु, गहना पोखरी, कुपण्डोललगायत काठमाडौंको २१ स्थानमा पूजास्थलमा यसैगरी छठको रौनक छाएको छ। छठको अवसरमा बेहुलीझैं सिँगारिएका पोखरी र तलाउमा नववस्त्रमा सजिएका श्रद्धालुको भिड उल्लेखनीय रह्यो।
पहाडे र मधेसी समुदायले एकै ठाउँमा बसेर संयुक्त रूपमा छठ पर्व मनाउँदा नदीकिनारमा सद्भाव प्रतिबिम्बित देखिन्थ्यो। गुह्येश्वरीस्थित वाग्मती किनारमा पहाडे र मधेसी समुदायका परिवार मिलेर छठ पर्व मनाउन थालेको एक दशकभन्दा बढी भइसक्यो।
फरक समुदायका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदा नदीकिनारमा सद्भाव प्रवाह भएको आभास मिल्थ्यो। उपत्यकामा करिब आठ दशकअघि टंकेश्वरको विष्णुमती नदीकिनारमा सीमित व्यक्तिले छठ पर्व मनाउन सुरु गरेको अनुमान छ। छठ पर्व हेर्न सर्वसाधारणको समेत भिड लाग्न थालेको छ।
पर्व अर्थात् सद्भावको पुल
गुह्येश्वरीस्थित वाग्मती किनारमा हरेक वर्षझैं यसपटक पनि बाँसको अस्थायी पुल बनेको छ। नदीका दुई किनारमा बसेर छठ माईको पूजा गर्ने भक्तालुका लागि ओहोरदोहोर गर्न सहज होस् भनेर कामचलाउ साँघु बनाइएको हो। नदीका दुई किनार बासको पुलले छठ पर्वले पहाडी र मधेसी समुदायलाई जोड्ने ‘पुल’को काम गरेको छ।
छठ मनाउनेको सूचीमा महतो, भट्टराई, महत, गुप्ता, रौनियार, पासवान, कोइराला, अग्रवाल, ओली, ढकाल, मैनाली, पण्डित, ठाकुर थरका धेरै छन्। ‘सूर्य भगवान् सबैका साझा हुन्,’ मीना सिम्खडाले भनिन्, ‘पर्व मनाउने पनि सबै समुदायका छन्।’
साँच्चिकै रविबार
आइतबार अर्थात् रविबार। रवि अर्थात् सूर्य। सूर्य आराधनाको उल्लासमय पर्व छठको मुख्य दिन। त्यसैले आइतबार साँच्चिैकै रविबार। प्राय मान्छेले बलेको आगो ताप्छन्। डुब्दै गरेको र निभ्दै गरेकालाई नजरअन्दाज गर्छन्। तर यो पर्व यति पवित्र छ कि आइतबार साँझ तराईदेखि पहाडसम्मका श्रद्धालुले नदी तथा ताल तलैयामा जम्मा भएर अस्ताउँदो सूर्यलाई अर्घ दिए। अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान र जीवनकै पाटोका रूपमा लिइनु हो। यस अर्थमा छठपर्वको मुख्य दिन आइतबार साँच्चिैकै रविबार।
छठ अर्थात् सद्भावको पर्व। गुह्येश्वरीस्थित वाग्मती किनारमा रहेका श्रद्धालुदेखि रौतहटको वाग्मती किनारमा भेलामा भएका श्रद्धालु सबैले साँझ सूर्यलाई पवित्र भावना बोकेर अर्घ दिए। वाग्मतीले पहाड र तराई जोडेजस्तै छठ पर्वले पहाड र मधेस जोड्दैछ। कतिपय ठाउँमा त हिन्दुसँगै मुस्लिम समुदायका दाजुभाइ पनि भेला भएर सामूहिक रूपमा पर्व मनाएको विगत छ।
नदीकिनारमा बलेको सद्भावको दियोले रातमा पनि चम्केको सूर्यको झल्को दिन्छ। त्यस अर्थमा पनि साँच्चिैकै रविबार। धनी–गरिब तथा माथिल्लो–तल्लो भनिएका जाति–जनजाति एकै ठाउँमा भेला भएर मनाइने सद्भावको पर्व हो छठ।
ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ। यस अर्थमा पनि आज साँच्चिकै रविबार।
मधेसका नदी र ताल तलैया मात्र हैन, पछिल्लो समय राजधानीका नदी र पोखरीमा पनि सद्भावको पर्व फैलिएको छ। राष्ट्रप्रमुख पूजास्थलमा पुगेर उत्सवमा सहभागी हुने परम्परा छ। सूर्यको घामजस्तै सिंगो समाजलाई यस पर्वले न्यानो दिने गरेको छ। यस अर्थमा पनि आज साँच्चिकै रविबार।
छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसैको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ। व्रतालु रातभर जाग्राम बस्छन्। पात्रोमा उदाउँदो सूर्यलाई अर्घ दिने दिन सोमबार उल्लेख भए पनि पर्वको नजरमा उक्त दिन पनि रविबार।
प्रकाशित: ४ मंसिर २०८० ००:५७ सोमबार