समाज

वनमन्त्रीसँग वन्यजन्तु पीडितले भने: राहत पाएनौ

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १७ वर्षमा जंगली हात्तिको आक्रमणबाट ३६ जनाको मृत्यु भएको तथ्याकं छ। बाघ र गैंडाको आक्रमणमा परि ज्यान गुमाउने परिवार दुई दर्जन र अंगभंग भएका ५० भन्दा बढि रहेको तथ्याकंले देखाउँछ। तर,त्यस बापत सरकारले ‘बर्दिया संरक्षण कार्यक्रम’ मार्फत उपलब्ध गराउने राहत रकम नपाएको भन्दै पीडित परिवार आक्रोसित छन्। वनमन्त्री विक्रम पाण्डे समक्ष  सरोकारवाला निकायको  लापरबाहीले वन्यजन्तु पीडित परिवारले दुःख पाएको भन्दै आक्रोस पोखे। बर्दिया राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु पीडितले पाउँदै आएको मासिक राहत रकम नपाएको गुनासो गरे।

वनमन्त्री तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष पाण्डे जिल्लाको समग्र स्थित अवलोकनको क्रममा शनिवार  बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्धारा पुगेका थिए। निकुञ्जले आयोजना गरेको कार्यक्रममा पीडित परिवारले मन्त्री पाण्डे समक्ष वन्यजन्तुवाट पीडित परिवारले हारगुहार गरेका हुन्। पीडितलाई मासिक रुपमा १ हजार पाँचसय रुपैयाँ घरमा नै लगि बुझाउने पर्ने  रकम समेत नपाएको भन्दै आपत्ति जनाए।

 बर्दिया राष्ट्रिय निकुञ्ज निरीक्षण भ्रमणका लागि वन बिभाग र राष्ट्रिय निकुञ्ज बिभागका महानिर्देशक सहित आएका मन्त्री पाण्डेलाई कोष(एनटिएनसि) अन्तर्गत सञ्चालित बर्दिया संरक्षण कार्यक्रमबाट निकुञ्ज र मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिलाई कुनै जानकारी नदिई आफुखुसी अपारदर्शी ढंगबाट कार्यक्रम संचालन गरेको भन्दै विरोध गरेका थिए। मन्त्री पाण्डेले के कति कारणले रकम रोकिएको खुलाउने कार्यक्रममा उपस्थित सरोकारवालालाई निर्देशन दिएका छन् ।समस्या समाधान गर्न नसके नितिगत निर्णय गरि पीडित परिवारलाई यथासिघ्र राहत रकम उपलब्ध गराउने पुस ११ गते वोर्ड बोलाउने समेत प्रतिबद्धता मन्त्री पाण्डेले व्यक्त गरे।

बर्दिया संरक्षण कार्यक्रमका कार्यालय प्रमुख अम्बिका खतिवडा बिगत एक बर्ष देखि कार्यालयमा अनुपस्थित रहेको पीडित परिवारले मन्त्रीलाई जानकारी गराए। लक्ष्य बमोजिम प्रगति देखाउनका लागि हचुवा र अपारदर्शी कार्यक्रम संचालन गरि रकम खर्च गरिएको मन्त्रीसमक्ष स्थानीयले आरोप लगाए।

राष्ट्रिय निकुञ्ज बिभागका महानिर्देशक मन बहादुर खड्काले बर्दिया संरक्षण कार्यक्रमका लागि कार्यालय प्रमुख खटाउन र समस्या समाधान गर्न आफुले कडा कदम चाल्नु पर्ने प्रतिक्रिया दिए।

संरक्षण कार्यक्रमका कार्यालय प्रमुख १ बर्ष देखि कार्यालयमा अनुपस्थित रहेको र राहत कोषको खाता कार्यालय प्रमुखले रोक्का राखेका कारण रकम निकाशा गर्न समस्या भएको एक  कर्मचारीले बताए । निकुञ्जबाट उठेको खरखडाई र प्रवेश शुल्क वापतको उठेको रकम संरक्षण कार्यक्रम खातामा जम्मा गरि पीडित परिवारलाई उपलब्ध गराउनु पर्ने प्राबधान छ।

बर्दिया संरक्षण कार्यक्रबाट वन्यजन्तु पीडित परिवारका ३० जना बिद्यार्थीलाई दिंदै आएको छात्रबृत्ती समेत यस बर्ष देखि कटौति गरिएको छ। मन्त्री पाण्डे बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्र,जिल्ला वन कार्यालय र निकुञ्जको कोर क्षेत्रमा शुक्रवार र शनिवार दुई दिन भ्रमण गरेका थिए।

 

प्रकाशित: ९ पुस २०७४ ११:५२ आइतबार

वनमन्त्रीसँग वन्यजन्तु पीडितले भने राहत पाएनौ