समाज

वैदेशिक रोजगार विभागका महानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ (रासस)-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार विभागका महानिर्देशक पाण्डे, शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब सुब्बा खङ्गबहादुर केसीले एक म्यानपावरको रोक्का फुकुवा सम्बन्धमा रु १० लाख घूस मागेको अभियोगमा आयोगले प्रक्राउ गरेको थियो।

म्यानपावर कम्पनीको कामकाज तथा बैंक खातासमेत विभागबाट रोक्का राखेको सम्बन्धमा कम्पनीका तर्फबाट सर्वोच्च अदालमा मुद्दा दायर भई रोक्का फुकुवा गरी नियमानुसार काम गर्नुपर्नेमा सेवाग्राहीसँग घूस मागेको आयोगको ठहर छ।

आयोगको टोलीले शाखा अधिकृत पौडेल र नासु केसीलाई पहिले पक्राउ गरेको थियो भने महानिर्देशक पाण्डेलाई विभाग परिसरबाटै पक्राउ गरेको थियो । आयोगले जनही रु १० लाख बिगो असुलउपर गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो।

आयोगले आजै सिँचाइ डिभिजन कार्यालय कास्कीमा कार्यरत इन्जिनियर गोविन्दप्रसाद भुर्तेलले सेवाग्राहीसँग रु ५० हजार घूस लिँदालिँदै केही दिनपहिले पक्राउ गरेको थियो । आयोगले बिगो असुलउपर गरी हदैसम्मको कारबाहीको माग गरेको छ।

उता आयोगले आजै रु आठ हजार घूस रकमसहित जिल्ला प्राविधिक कार्यालय सिराहामा कार्यरत इन्जिनियर रामबहादुर यादवलाई पक्राउ गरेको छ । एक प्राविधिक प्रतिवेदन बनाउने क्रममा घूस मागेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले इन्जिनियर यादवलाई पक्राउ गरेको आयोगले जनाएको छ।
 

 

प्रकाशित: ४ पुस २०७४ १३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App