समाज

इन्जिनियरिङ विद्यार्थीले गरे कलेज तोडफोड

पाल्पा- पाल्पा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले कलेज तोडफोड गरेका छन्। उनीहरुले आफुहरुको माग पुरा नभएको भन्दै टायर बालेर प्रदर्शन गर्नुका साथै कम्प्यूटर ल्याव र कलेजका भवनमा तोडफोड गरेका हुन्। विद्यार्थीहरुले कलेजका झ्यालढोला, डेक्सबेन्च, कम्प्यूटर तथा भवनको भित्ताहरु फुटाएका छन्।

नेपाल विद्यार्थी संघका नेता प्रमोद अधिकारीले कलेज प्रशासन पैसा कमाउ धन्दामामात्र लागेको र आफुहरुका मागका विषयमा बेवास्ता गरेको हुँदा तोडफोडमा उत्रिनु परेको बताए। उनी भन्छन्, ‘हामिहरुले मंसिर ७ गते ८ बुँदे मागपत्र बुझाएको भए पनि प्रशासन मौन रह्यो । बाध्य भएर तोडफोडमा उत्रिनुपर्यो ।’ उनले भने, ‘प्राक्टिकल सामाग्रीको यथोचित व्यवस्था हुनुपर्ने, अध्ययन अवलोकन भ्रमण व्यवस्था हुनुपर्ने, नियमित अतिरिक्त क्रियाकलाप हुनुपर्ने, कर्मचारीको अशिष्ट व्यवहार अन्त्य हुनुपर्ने, कक्षा नियमित हुनुपर्ने, सर्वेक्याम्प अन्य जिल्लामा हुनुपर्ने, नयाँ संस्करणको पुस्तकको व्यवस्था हुनुपर्ने माग राख्यौं तर प्रशासन यसबाट पन्छिन खोजिरहन्छ।’ अधिकारीले आफुहरुको माग पुरा नहुँदा उत्पन्न हुने परिस्थितिको कलेज नै जिम्मावार रहन आग्रह गरे।

पाल्पा इञ्जिनियरिङ्ग कलेज प्रशासनले भने विद्यार्थीका मागहरु सबै एकै पटक पुरा गर्न नसकिने किसिमको रहेको जनाएको छ। उनीहरुका जायज मागहरु पुरा हुँदै पनि गैरहेको प्रशासनले जनाएको छ।

प्रकाशित: २ पुस २०७४ ०९:३६ आइतबार

इन्जिनियरिङ विद्यार्थीले गरे कलेज तोडफोड