समाज

मुगुमा एकै परिवारका चार जनाको हत्या

मुगुको छायानाथ रारा नगरपालिका–६ मुदुगाउँमा तीन छोराछोरी र आमाको शव फेला परेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मुदु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, उनको ११ वर्षीया छोरा मनोज, सात वर्षीया छोरी अप्सरा र एक वर्षीय छोरा रहर बोहोरा घरभित्र मृत फेला परेका हुन्।

प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालका अनुसार श्रीदेवी बुधबार छोराछोरीसहित माइती घर गएकी थिइन् । ‘बिहीबार बेलुका छोराछोरीसहित घर फर्किएपछि घटना भएको देखिन्छ,’ डिआइजी ढकालले भने, ‘यो घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धान सुरु गरेका छौं।’ गाउँलेले माइतबाट फर्किसकेकी श्रीदेवी र छोराछोरीलाई घरमा नदेखेपछि प्रहरीलाई खवर गरेका थिए ।

‘घरभित्र तीन छोराछोरीसहित आमाको शव थियो, बाहिरबाट घरको ढोकामा ताला लगाइएको थियो,’ डिआइजी ढकालले भने, ‘घटना कस्ले र किन घटाएको हो भन्ने विषयमा अनुसन्धानका लागि प्रदेश कार्यालयको टोली र डग टोलीलाई पठाइसकेका छौं ।’प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा चारै जनाको घाँटी रेटेर हत्या गरिएको देखिन्छ । मृतकमा श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा छन्।

प्रकाशित: १० कार्तिक २०८० १०:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App