समाज

प्रदूषण नियन्त्रणका लागि ‘क्विक एक्सन टिम’

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपत्यकाको वायु प्रदुषण नियन्त्रणका लागि क्विक एक्सन टिम (दु्रत कार्यान्वयन टोली) गठन गर्ने निर्णय गरेको छ । कार्यालयका सहसचिव डा. नारायणप्रसाद  रेग्मीको नेतृत्वमा सो टिम गठन गरिएको हो ।
गत शुक्रबार बसेको बैठकमा काठमाडौ उपत्यकामा हाल उच्चस्तरमा भइरहेको वायु प्रदूषण नियन्त्रण्का लागि तत्काल चाल्नुपर्ने कदमबारेमा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिसँग छलफल भएको थियो । छलफलमा गत वर्ष राष्ट्रिय योजना आयोगले तयार पारेको उपत्यकाको वायु प्रदूषण नियन्त्रण कार्ययोजना प्रस्तुत गर्दै उक्त योजना प्रभावकारी नभएको भन्दै क्विक एक्सन टिम गठन गर्ने निर्णय गरिएको हो । टोलीले कार्ययोजनामा राखिएका १२ वटा क्रियाकलापको प्रभावकारी कार्यान्वयन गराउने, अनुगमन गर्ने तथा कार्यालयलाई मासिक प्रतिवेदन बुझाउने छ । टोलीमा वातावरण मन्त्रालय, महानगरपालिका, सड्क विभाग तथा ट्राफिक प्रहरी रहेका छन् ।
उक्त बैठकले राष्ट्रिय योजना आयोगमा पेश भएको उपत्यकाको प्रदूषण सम्बन्धी कार्ययोजना तत्काल कार्यान्वयनमा लैजान निणय गरेको छ । त्यस्तै निर्माण तथा मर्मत गर्न लागिएका सड्कको काम द्रूत गतिमा सम्पन्न गर्न, सडक निर्माण वा मर्मत गर्दा प्रदूषण कम गर्न कम्तिमा २ पटक पानी पर्कन, वायु प्रदूषण उपकरणले देखाएको तथ्यांक डिस्प्लेमार्फत दखाउने, प्रदूषणको मात्रा मापदण्ड भन्दा माथि गएमा कारबाहीको योजना बनाउने लगायतका निर्णय गरेको छ ।
त्यस्तै महानगरपालिकाले प्रदूषण गर्ने होटल, उद्योग, कलकारखानाको नियमित अनुगमन गरी कारबाही गर्ने, सचेतनाका लागि प्रचारप्रसार गर्ने, खुला क्षेत्रमा फोहोर फाल्ने काम रोक्न प्रयास गर्ने, वातावरण संरक्षण ऐन संशोधनका लागि एक महिनाभित्र मस्यौदा तयार पार्ने, प्रदूषण कोषको रकम परिचालनका लागि यातायता व्यवस्था विभाग, वातावरण विभाग तथा ट्राफिक प्रहरीका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न बजेट प्रस्तावित गर्ने, मेलम्चीको पाइप बिछ्याउने क्रममा भत्किएका सडक पुनःनिर्माण छिटो गर्ने लगायतका निर्णय गरेको छ ।
बैठकमा वायु प्रदूषणले स्वास्थ्यमा पारेको नकारात्मक असर, नियन्त्रणका लागि क्रियाशील नियकायबीच समन्वय, बढीवायु प्रदूषण हुने क्षेत्रको पहिचान, कारकतत्वको नियन्त्रण, हरियो स्टिकरको प्रभावकारी कार्यान्वयन तथा युरो ६ मापदण्ड लागू गर्ने लगायतका विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित: ४ मंसिर २०७४ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App