समाज

पूर्व गृहमन्त्री चढेको गाडीमा बम प्रहार

रुकुम- चुनावी प्रचारका लागि गाउँ पुगेका उम्मेदवारलाई लक्षीत गरी शुक्रबार बम प्रहार गरिएको छ । पूर्व गृहमन्त्री समेत रहेका बिनाविभागीय मन्त्री जनार्दन शर्मालाई लक्षीत गरी चौरजहारी नगरपालिका वडा नंं ८ गोइरीमा बम प्रहार गरिएको हो ।
शर्मा लगायतको प्रचार टोली चौरजहारीको चुनावी कार्यक्रम सकेर सानीभेरीको सिम्लीमा चुनावी कार्यक्रम गर्न आउने क्रममा गोइरीमा बम प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रेड बुुलको क्यानमा बम फिट गरी मन्त्री चढेको गाडी नजिकै प्रहार गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । उनका अनुसार एउटा बम विस्फोट भएको थियो भने अर्काे बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको थियो । बम प्रहारवाट कुनै क्षति भएको छैन । उक्त घटनाको बारेमा अनुसन्धान भई रहेको प्रहरीको भनाइ छ ।
यता उम्मेदवार शर्माले भने सुरक्षित रूपमा प्रचार प्रसार गर्न पाउनुपर्ने बताएका छन् । उनले चुनावी विरोधीहरूले कसैको ज्यान लिनुभन्दा वार्तामार्फत समस्याको समाधान गर्नुपर्ने बताए ।
उनी वाम गठबन्धन तर्फवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । यस अघि पनि नेकपा माओवादीले उनको घरमा कालो झन्डा टाँगेको थियो ।
जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शर्माको गाडी अघिपछि गाडी भए पनि शर्माकै गाडीलाई लक्षित गरी बम प्रहार गर्नु आपराधिक मनसाय भएको जनाउँदै नेकपा माओवादी केन्द्रले घटनाको घोर भत्र्सना गरेको छ । उसले तत्काल दोषीलाई पत्ता लगाई कानुनी कारबाही गर्नुपर्ने बताएको छ । कसैको जीउ ज्यान लिने हेतुले बम प्रहार गरिएको भन्दै उसले यस्ता आपराधिक घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही हुनपर्ने बताएको छ ।

प्रकाशित: २५ कार्तिक २०७४ ०३:५० शनिबार

पूर्व गृहमन्त्री चढेको गाडीमा बम प्रहार