समाज

नर्भिक अस्पतालमाथि आपूर्तिको छानबिन

काठमाडौं- निजी क्षेत्रको नर्भिक अस्पतालले विरामीसँग गैर कानुनी रुपमा हस्पिटल सर्भिस चार्ज लिएको आरोपमा आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले छानबिन सुरु गरको छ।

स्वास्थ्य सेवा प्रदायक नर्भिक इन्टरनेसनफ अस्पतालले होटलमा जस्तै गरी १३ प्रतिशत सेवा शुल्क लिएको विभागका महानिर्देशक कुमार दाहालले बताए। विभागले गरेको अनुगमको क्रममा बिरामीलाई थप व्यवभार पर्ने गरी थप शुल्क लिएको भेटिएपछि सञ्चालकलाई बयानको लागि बोलाएको दाहालले बताए । ‘गैर कानुनी रुपमा १३ प्रतिशत सेवा शुल्क लिएको हामीले प्रमाण भेटेका छौं,’ दाहालले भने, ‘बयानको लागि बोलाउँदा पनि अस्पताल सञ्चालक अटेर गरेर आएका छैनन् ।’ एक सय बेडको लागि अनुमति लिएको भए पनि एक सय ३० बेड सञ्चालन गरिरहेको पनि उनले बताए । राजस्व अनुसन्धानसँग मिलेर थप कारबाही अघि बढाउने विभागको तयारी छ । अस्पतालका सञ्चालक बसन्त चौधरी हुन्।

बुधबार अनुगमन गर्दा कैफियत भेटिएपछि सञ्चाककलाई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिए पनि अटेर गरेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए। ‘तीन दिनको समय दिएका थियौं,’ श्रेष्ठले भने, ‘सरकारको निर्देशनलाई अटेर गरेकाले आइतबारबाट कानुनी कारबाही अघि बढाउछौं ।’ विभागले कालोबजारी ऐन अन्तरगत कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। नर्भिकले अस्पतालले अन्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवा दिँदै आएको दाबी गर्दै आएको छ।

 

प्रकाशित: २४ कार्तिक २०७४ ११:१९ शुक्रबार

नर्भिक अस्पतालमाथि आपूर्तिको छानबिन