समाज

सडक कालोपत्रेको काम सुस्त भएको भन्दै स्थानीयद्वारा दबाब

सुकेटार काफ्लेपाटी सडकखण्डको कच्ची सडक। तस्बिर: नागरिक ।

ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरतर्फ जाने सुकेटार–काफ्लेपाटी सडक खण्ड कालोपत्रे गर्ने काम अलपत्र परेपछि दबाब सुरु भएको छ।

प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराईको संयोजनमा निर्माण कम्पनीका प्रतिनिधि र नियमक निकायबीच भएको छलफलमा उल्लेख्य प्रगति नभए तीन महिना भित्र ठेक्का सम्झौतामा कानुन अनुसार प्रकृया अघि बढाउने सहमति भएको छ।

निर्माण कम्पनी कन्टेक प्रालिले सो सडक खण्ड आउँदो असार ११ गते सम्ममा कालोपत्रे गरिसक्नु गरी सम्झौता भएको थियो। तर उल्लेख्य काम हुन नसकेपछि कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई असोज २१ भित्र शंसोधित कार्यतालिका पेश गर्न भनिएको छ। कन्टेक प्रालिसंग २०७८ पुस ११ गते सुकेटारबाट काफ्लेपाटीसम्मको १० किलोमिटर कालोपत्र गर्ने ठेक्का सम्झौता भएको थियो। ९५ करोड रुपैयाँको बोलपत्र आवह्वान भएकोमा कन्टेकले ४१ करोड ७६ लाख ४७ हजार अर्थात् बोलपत्र आवह्वान भएको अंकको ४६ प्रतिशत घटीमा ठेक्का पारेको थियो।  

सम्झौताको दुईवर्ष अवधि हुन लाग्दा कार्य प्रगति भने ज्यादै न्यून भएकोले कालोपत्रे गर्ने कार्य अलपत्र अवस्थामा पुग्ने खतरा बढेपछि निर्माण कार्य चाँडो पूरा गर्न निर्माण कम्पनी माथि दबाब बढाउन थालिएको फुङलिङ नगरप्रमुख अमिर मादेन बताउँछन्। ‘मैले काठमाडौं पुगेको बेला निर्माण कम्पनीका प्रतिनिधिलाइ बोलाएर छलफल गरें’मादेनले भने, ‘तर कार्य प्रगति ज्यादै न्यून छ,जिल्लाका सबै जनप्रतिनिधि मिलेर संयुक्त दबाब बढाउने तयारीमा छौं।’  

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले निर्माण कम्पनीले पाएको जिम्मेवारी पूरा गर्न आनाकानी गरेका कारण अझै केहि समय यात्रुले कच्ची बाटोमै यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था सृजना भएको बताउँछन्। ‘तर यो अवस्थाको अन्त्य जरुरी छ,उनले थपे‘निर्माण कम्पनीले काममा कञ्जुस्याँई गर्न मिल्दैन।’  सम्झौता अनुसार निर्माण कम्पनीलाई काम सक्ने अवधि करिव ८ महिना बाँकी छ। सम्झौताको दुईबर्ष बित्न लाग्दा काम भने १० देखि ११ प्रतिशत हाराहारी मात्र भएको निर्माण व्यवसायीहरु बताउँछन्। सम्झौता अनुसारको काम बाँकी अवधिमा सम्पन्न गर्न अहिले सम्म करिव ७५ प्रतिशत काम सम्पन्न भइसक्नु अवस्था देखिएको तमोर करिडोर(सुभाङ–दोभान ओलाङचुङगोला)सडक योजनाका निमित्त योजना प्रमुख बसन्तकुमार गाँइ बताउँछन्।

योजना कार्यालयले कामका लागि निर्माण कम्पनीलाई नियमित दबाब दिने र झक्झक्याउने कार्य गरेपनि कार्य प्रगति अपेक्षाकृत नबढेको उनको भनाई रहेको छ। निर्माण कम्पनी कन्टेक प्रालिका इञ्जिनयर मदन कत्यादले भने स्थानीय क्षेत्रमा निर्माण सामाग्री(ढुङ्गा, गिटी, बालुवा) नपाइने र त्यसको व्यवस्थापनले समय लिएकोले निर्माण कार्य केहि ढिला जस्तो देखिएको बताए। ‘काम भइरहेको छ,गरिरहेका छौं’उनले भने। अहिले ताप्लेजुङ सदरमुकामबाट ८ किलोमिटर दुरीमा रहेको सुकेटार सम्म मात्र कालोपत्रे रहेको छ। त्यसभन्दा उता काफ्लेपाटी सम्मको १० किलोमिटर दुरी भने कच्ची रहेको छ। सोहि भाग कालोपत्रे हुनेगरी सम्झौता भएको हो।  

प्रकाशित: १६ आश्विन २०८० ०६:५९ मंगलबार

सुकेटार काफ्लेपाटी सडक