समाज

फर्निचर पसलमा आगलागीले करोडौँको क्षति

रौतहटको गरुडामा एउटा फर्निचर पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ।रौतहटको गरुडा नगरपालिका ४ गरुडा बजारस्थित अंशु ट्रेडर्समा आगलागी हुँदा फर्निचरका अनेकौँ सामग्रीका साथमा इलेक्ट्रोनिक सामग्रीहरू खरानी भएका छन्। आगलागीबाट साढे तीन करोडभन्दा बढीको क्षति भएको पसलका संचालक राम जनम साहले बताएका छन्।

पसलमा बिहीबार बिहान दुई बजेतिर आगो लागेको थाहा पाएर तत्काल नेपाल प्रहरीका ४० जवानले नियन्त्रण लिने तथा अन्य फैलिन नदिने उपाय गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी गराएका छन् ।

फर्निचरका सामग्रीहरू भएको र आगलागी भएको गोदाम साँघुरो लाम्चो भएको कारण नियन्त्रणमा निकै कठिनाइ भएको थियो । दुई ओटा दमकलको सहयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीले करिब तीन घण्टामा आगो नियन्त्रणमा लिन सफल भएको हो।

आगलागी भएको गोदाम र पसलमा राति कोही पनि सुतेका थिएनन् । भित्रभित्रै सल्किएर आगोले भयङ्कर रुप लिएपछि मात्र बाहिरबाट देखिएपछि आगो नियन्त्रण गर्न कठिनाइ भएको हो । विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान रहेको डिएसपी खनालले बताएका छन्।

घटनाबारे थप अनुसन्धान थालिएको डिएसपी खनालको भनाइ छ ।गत वर्ष पनि गरुडाको मुख्य बजारमा एउटा मेसिनरी पसलमा आगो लाग्दा घर र सामान गरी करोडौँको क्षति भएको थियो ।

प्रकाशित: ११ आश्विन २०८० ०४:५६ बिहीबार

फर्निचर पसलमा आगलागीले करोडौँको क्षति रौतहटको गरुडा