समाज

बाढीपछि चितवन निकुञ्जमा अर्नाको बेहाल

चितवन निकुञ्जका अर्ना । फाइल तस्बिर

चितवन – कोसी टप्पु बन्यजन्तु आरक्षबाट स्थानान्तरण गरेर चितवन निकुञ्जमा ल्याइएका अर्ना (जंगली भैँसी) बाढीका कारण बेहाल अवस्थामा पुगेका छन् । निकुञ्जभित्र पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमिनलाई विद्युतीय तारबार गरेर कोसीबाट ल्याएका १२ र जावलाखेलको सदर चिडियाखानाबाट ल्याएका तीन गरेर १५ वटा अर्ना राखिएको थियो । चिडियाखानाबाट ल्याएका तीनवटा अर्ना पहिला नै मरेका थिए। 

बाढीपछि कोसीबाट ल्याएका दुईवटा अर्ना पनि मरेका छन् । निकुञ्ज कार्यालयले दिएको जानकारी अनुसार बाँचेका १० अर्नामा अहिले  गोलो जुका, नाम्ले र माटेको संक्रमण देखिएको छ । अर्ना बचाउन गाह्रो हुने पो हो कि भन्ने डर निकुञ्जका अधिकारीलाई छ । शारीरिक अवस्था निकै कमजोर देखिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए। 

‘अर्ना अहिले त दुब्लाएर साह्रै नाजुक अवस्थामा पुगेका छन्,’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने । बाढीअघि भएको अनुगमनमा सवै अर्नाहरू हृष्टपुष्ट थिए । झुण्डमा मिलेर चरेका थिए । चितवनमा साउन २८ र २९ गते लगातार वर्षा भएको थियो । वर्षापछि निकुञ्ज हुँदै बग्ने राप्तीलगायतका खोलाहरूमा ठूलो बाढी आएको थियो।

बाढीले अर्ना राखेको खोरको बार पनि भत्काएको थियो । ‘बाढीपछि दुईवटा अर्ना मरे पनि भदौ १५ मा मै गएर हेर्दा बाँकी बँचेका अर्नाहरू स्वस्थ थिए, झुण्डमै भेटिएका थिए । तर असोज ३ गते फेरि अनुगमनमा जाँदा अर्नाको अवस्था नाजुक भइसकेको थियो । दुब्लाएर हाडछाला भएको छ,’ प्रमुख संरक्षण अधिकृत कँडेलले भने । गोबर परीक्षण गर्दा गोलो जुका, नम्ले र माटे रोगले संक्रमित गरेको पत्ता लागेको हो।

प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार घाँटी सुनिएका अर्नाहरू धेरै नै गलेका छन् । ‘बाढीले विद्युतीय खोर (इन्क्लोजर) पनि बिगारेको थियो । मर्मत गरेका छौं । अर्ना बस्ने ठाउँमा बाढी पस्यो । बाढीको फोहरले गर्दा अर्नालाई समस्या आएको हुनुपर्छ,’ कँडेलले भने । विशेषज्ञको सिफारिसमा अर्नालाई पोषिलो दाना र घाँस खुवाउनुका साथै उपचार पनि सुरु गरेको उनले बताए।

‘बाढीको फोहर मिसिएको घाँस पानीका कारण अर्नालाई समस्या भएको हुन सक्छ । यदि त्यसो हो भने यसले गम्भीर परिणाम पनि ल्याउन सक्ने भएका कारण हामीले नुन, चोक्कर र अन्य बाहिरी घाँस लगेर अर्नाको खोरमा राखेका छौं,’ कँडेलले भने । कोसीमा खुला ठाउँमा बगेको पानी खाँदै बस्ने गरेका अर्नाहरू सानो ठाउँमा दुषित पानीको सिकार भएका हुन् कि भन्ने आशंका निकुञ्जका अधिकारीहरूको छ।

सरकारले ठूलो तयारीका साथ कोसीबाट चितवनमा अर्ना ल्याएको थियो । कोसीका स्थानीयले विरोध गरेका कारण उनीहरूलाई सम्झाएर र सहमति लिएर अर्ना ल्याउन समय लागेको थियो । अर्ना स्थानान्तरणमा ९० लाख रुपैयाँ खर्च भएको निकुञ्ज कार्यालयले जनाएको छ । त्यसैले अर्ना बचाउन हरसम्भव प्रयास गरिएको छ । 

गैंडा पनि जोखिममा 

बाढीले धेरै घाँसे मैदान बिथोलेका कारण गैंडा पनि समस्यामा परेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । गैंडाले रूखको घाँस खाँदैन । उ भुइँमा रहेको घाँसमा नै चर्ने हो । घाँसे मैदान बाढीले पुरिएको छ । ‘लेदोले ढाकेका कारण एक त घाँस नै कम हुने भो । यदि कतै कतै देखिएको घाँस खाए दुषित भएर अर्नालाई झै हुने पो हो कि भन्ने खतरा भएको छ,’ प्रमुख संरक्षण अधिकृत कँडेलले भने।

बाढीले बगाएर चितवनका गैंडा भारतसम्म पुगेका थिए । नेपालको सिमाना भन्दा ४२ किलोमिटर पर भारतीय क्षेत्रबाट समेत गैंडाको उद्धार गरिएको थियो । बगेका आठवटा गैंडाको उद्धार भएको चितवन निकुञ्ज कार्यालयले जनाएको छ । बाढीले वासस्थानमा पुर्‍याएको असरको बारेमा अनुगमन आवश्यक भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले बताए।

‘ठाउँ ठाउँमा फोहरको डंगुर लागेको छ । दुषित पानीका कारण गैंडा जस्ता ठूला जनावर र अन्य साना जनावरहरू पक्कै प्रभावित भएका छन् । अर्नामा देखिएको समस्याले पनि हामीलाई सजग हुनु पर्ने अवस्था आएको छ,’ कँडेलले भने । चितवन निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको मुख्य वासस्थल हो । देशभर छ सय ४५ गैंडा रहेकोमा यहाँ मात्रै छ सय पाँच गैंडा छन्। 

 

प्रकाशित: १८ आश्विन २०७४ ०३:१९ बुधबार

बाढीपछि चितवन निकुञ्जमा अर्नाको बेहाल