समाज

वीरगन्जमा फोरम नेपाल जित नजिक, कांग्रेस पछ्याउँदै

वीरगन्ज, असोज १० - वीरगन्ज महानगरपालिकाको जारी मतगणनामा ८७.२४ प्रतिशत मत गनिसक्दा संघीय समाजवादी फोरम नेपाल प्रतिद्वन्द्वी नेपाली कांग्रेसभन्दा एक हजार तीन सय ३५ मतले अग्रता लिएको छ । फोरम नेपाल जितको नजिक पुगिरहेको आकलन गरिएको बेला कांग्रेसले फोरमलाई पछ्याइरहेको छ ।
वीरगन्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृतको कार्यालय अनुसार कुल खसेको मत ८४ हजार पाँच सय १३ मध्ये मंगलबार साँझ ७ बजेसम्म ७३ हजार सात सय ३० मतको गणना भइसकेको छ ।
पछिल्लो मतपरिणाम अनुसार अग्रता लिएको फोरम नेपालका मेयर उम्मेदवार विजय सरावगीले १६ हजार नौं सय ५६ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका कांग्रेसका अजय द्विवेदीले १५ हजार छ सय २१ मत ल्याएका छन । त्यसपछिको तेस्रो बढीमत ल्याउने राष्ट्रिय जनता पार्टीका राजेशमान सिंहले १० हजार दुई सय २४ मत ल्याएका छन् । माओवादी केन्द्रका रहबर अन्सारीले सात हजार छ सय ५० मत ल्याएका छन । त्यसैगरी एमालेका उम्मेदवार बसरुद्दिन अन्सारीले सात हजार छ सय २८ मत ल्याएका छन् ।
पछिल्लो परिणाम आउँदासम्म १० हजार सात सय ८३ मत गणना गर्न बाँकी थियो । गणना गर्न बाँकी रहेका वडामा १६, १७ र १८ रहेका छन् । मंगलबार साँझ वडा नम्बर १६ र १७ लाई दुईदुई ठाउँमा राखेर र १८ को एक ठाउँमा राखेर जम्मा पाँच ठाउँमा मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुधबार साझसम्म अन्तिम परिणाम सार्वजनिक भइसक्ने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आशा लिएको छ । फोरम नेपालको अग्रता बढेपछि काँग्रेसले अन्य केही दललाई मिलाएर पुर्न मतगाण्नाको माग गर्न अवरोध थालेपछि मतगणना पटकपटक रोकिएको छ । पछिल्लो पटकको कांग्रेसको अगुवाईमा मतगणना अवरोध भइरहँदा वीरगन्जमा भरतपुर काण्ड दोहोरिने हल्ला चलेपछि मतगणनास्थलमा सुरक्षा वयवस्था कडा पारिएको छ ।

प्रकाशित: ११ आश्विन २०७४ ०१:४६ बुधबार

वीरगन्जमा फोरम नेपाल जित नजिक कांग्रेस पछ्याउँदै