समाज

दशैँ नजिकिएसँगै दैनिक एक लाख यात्रु बाहिरिए

काठमाडौँ – नेपालीको महान चाड बडादशैँ नजिकिएसँगै दैनिक उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा घटस्थापना सुरु भएसँगै यात्रुको बाहिरिने संख्या वृद्धि भएको हो। यात्रु उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने गरेका छन्। घटस्थापनादेखि आजसम्म तीन दिनमा तीन लाख १६ हजार १५२ जना बाहिरिसकेका छन्। 

घटस्थापनाका दिन १३ हजार ३४९ सवारी साधनमा ९७ हजार ३४०, दोस्रो दिन १३ हजार ३२१ सवारी साधनमा एक लाख सात हजार ७८ र तेस्रो दिन १४ हजार ४१९ सवारी साधनमा एक लाख ११ हजार ७३४ यात्रु बाहिरिएका छन्। 

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले अरु समयमा दैनिक ७० देखि ८० हजारको हाराहारीमा यात्रु बाहिरिने गरे पनि दशैँको सुरुसँगै बाहिरिनेको संख्यामा वृद्धि भएको बताए। 

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैँका लागि ६ हजारको हाराहारीमा सार्वजनिक सवारी साधनले सेवा दिएको जानकारी दिए। “बाटोको दुरावस्था र वर्षाका कारण योवर्ष नयाँ सवारीसाधन नथपे पनि हामीले यात्रुलाई सेवा दिन पछाडि परेका छैनौँ,”उनले भने। 

यातायात व्यवस्था विभागले यो वर्ष दशैँ मान्न २० देखि २१ लाख यात्रु बाहिरिने जनाएको छ। विभागका प्रवक्ता डा टोकराज पाण्डेले १५ देखि १६ लाख यात्रु सार्वजनिक सवारी साधन र पाँच÷छ लाख यात्रु निजी बसमा दशैँ मान्न घर जाने गरेका छन् भने। 

प्रकाशित: ८ आश्विन २०७४ ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App