समाज

उच्च हिमाली क्षेत्रको गस्तीमा खटिनेलाई डाउन ज्याकेट

फाइल तस्वीर

सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली क्षेत्रको सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई ‘डाउन ज्याकेट’ र ‘हिमाली चुस्ता’को व्यवस्था गरेको छ।

पोसाकसम्बन्धी सुविधासमेत संशोधन गरेर यसै वर्षदेखि सरकारले सो व्यवस्था गरेको हो। सरकारले सशस्त्र प्रहरी नियमावली संशोधन गरी उनीहरूले पाउने स्केलका सामानमा संशोधन र थप गर्दै हिमाली चुस्ता र डाउन ज्याकेट पाउने व्यवस्था थप गरेपछि कार्यान्वयनमा आएको हो। सशस्त्र प्रहरीलाई अहिलेसम्म ‘स्नो पार्क’ ज्याकेट मात्र दिने गरिएको थियो।

उच्च हिमाली क्षेत्रको सीमा सुरक्षामा खटाउने प्रयोजनका लागि तातो र न्यानो पोसाकको प्रबन्ध गरिएपछि त्यहाँको बसाइ सहज हुन थालेको हो। उच्च हिमाली क्षेत्रको जाडो स्नो पार्क ज्याकेटले मात्र थेग्न नसक्ने भएकाले बाक्लो ज्याकेटको व्यवस्था गरेको पनि सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ।

दिइँदै आएको कटन प्याडेट युनिफर्म सुटको सट्टा सशस्त्र प्रहरीका लागि न्यानो हिमाली चुस्ता पनि थप गरिएको हो। सशस्त्र प्रहरीको नियमावली संशोधनसम्बन्धी सूचना पुस ११ गते राजपत्रमा प्रकाशित भएको छ। उच्च हिमाली क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीलाई जाडो छेक्ने राम्रो पोसाक थिएन। सशस्त्र प्रहरी कर्मचारीका लागि ट्र्याकसुट र स्पोर्टस् जुत्ता थपिएका छन्।

नियमावली अनुसार अब सशस्त्र प्रहरीले एक वर्षमा एकएक जोर ट्र्याकसुट र स्पोर्टस् जुत्ता पाउनेछन्। यो सुविधा वर्षमा एक–एक जोरका दरले उपलब्ध हुने भनिएको छ। यस्तै सिनियर अधिकृतहरूले पाउँदै आएको टपबुट अबदेखि जुनियर अधिकृतले पनि पाउनेछन्। सेरेमोनियल ड्रेस पाउने लिमिट पनि खारेज गरिएको छ। अहिलेसम्म राजपत्रांकित अधिकृतहरूका लागि मात्र गर्मी र जाडो मौसममा उपलब्ध गराइँदै आएको सेरिमोनियल ड्रेस आइन्दा सबै सशस्त्र प्रहरी कर्मचारीले पाउनेछन्।

प्रकाशित: २४ भाद्र २०८० १२:३५ आइतबार

सशस्त्र प्रहरी बल नेपाल