समाज

अझै उँचो छ इन्जिनियरिङप्रतिको साख

पछिल्लो समय इन्जिनियरिङ इज्जतको पेसा बनेको छ। यही कारणले हो कि इन्जिनियरिङ अध्ययनमा नयाँ पुस्ताको साख घट्दो होइन, बरु बढ्दो छ।

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारी इन्जिनियरिङ पढ्न चाहने विद्यार्थी संख्या उत्तिकै रहेको तर विषयान्तर भएको बताउँछन्।

 ‘इन्जिनियरिङ धेरै विधामा विस्तार भइसक्यो, उनले भने, ‘पहिला इन्जिनियरिङ भनेपछि सिभिल, कम्प्युटर मात्रै भन्ने बुझिन्थ्यो। अहिले नयाँ विधाप्रति विद्यार्थी आकर्षण बढ्दो छ।’

समाजमा प्रतिष्ठित पेसाका रूपमा मात्रै नभई राम्रो अवसर पनि भएकाले यस पेसाप्रति विद्यार्थीको आकर्षण बढेको अनुभव उनी सुनाउँछन्। सजिलै रोजगार मात्र होइन, आकर्षक आम्दानी पनि गर्न सकिने पेसा भएकाले यसप्रतिको आकर्षण बढेको उनको बुझाइ छ।

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणले राखेको तथ्यांकअनुसार यस कलेजमा मात्रै यो वर्ष पाँच सयजतिले प्रवेश परीक्षाका लागि नाम दर्ता गराएका थिए। कलेजमा सबै गरेर चार सय ८० जना विद्यार्थी कोटा छ। कलेजमा स्नातक तहको आर्किटेक्चरमा ४८, सिभिलमा एक सय ४४, कम्प्युटरमा ९६, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा ९६, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा ४८ र सिभिल एन्ड रुरलमा ४८ जनाको सिट क्षमता छ। प्रत्येक वर्ष सबै कोटा पूर्ण हुन्छ।

विज्ञान पढेर ११र १२ उत्तीर्ण गरेपछि वा तीनबर्से स्नातक तह पूरा गरेपछि सोही तहको इन्जिनियरिङमा भर्ना हुन पाइन्छ। स्नातक तहका इन्जिनियरिङ पनि विविध विधामा छन्।

स्नातक तहको इन्जिनियरिङमा सिभिल, सिभिल एन्ड रुरल, आर्किटेक्चर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, कम्प्युटर, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनलगायतका विधामा भर्ना हुन सकिन्छ। यी कोर्समध्ये अधिकांश चारबर्से छन्। केही भने पाँचबर्से पनि छन्। सामान्यतः चारबर्से कोर्सका लागि पाँच लाखदेखि १० लाख र पाँचबर्सेका लागि १२ लाखदेखि माथि नै छ।

नेपाल इन्जिनियरिङ काउन्सिलले राखेको तथ्यांकअनुसार त्रिभुवनसहित विभिन्न विश्वविद्यालयले इन्जिनियरिङ विषयको पठनपाठन गराइरहेका छन्। तथ्यांकअनुसार देशभर त्रिभुवन विश्वविद्यालयअन्तर्गत १४, पोखरा विश्वविद्यालय अन्तर्गत १४, काठमाडौं विश्वविद्यालयअन्तर्गत दुई, पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत १६ कलेजमा इन्जिनियरिङका पढाइ भइरहेका छन्। यस हिसाबले देशभर वार्षिक नौ हजार इन्जिनियर उत्पादन हुने तथ्यांक छ।

यसैबीच चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको टोलीले शनिबार नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायणमा नयाँ शैक्षिक सत्रमा भर्ना हुन चाहने विद्यार्थीका लािग भएको प्रवेश परीक्षाको अनुगमन गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालक समितिको अध्यक्षसमेत रहेका खत्रीलगायत सञ्चालक समितिका सदस्यसम्मिलित टोलीले परीक्षा अनुगमन गरेको हो। कलेजमा शनिबार प्रवेश परीक्षा भएको थियो।

प्रकाशित: २४ भाद्र २०८० ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App