समाज

सुन तस्करी अनुसन्धानमा तगारो बन्यो प्रविधि

राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन तस्करीको सञ्जाल विस्तार वि–च्याट र ह्वाट्सएपमार्फत भएको पाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेयता नै उनीहरूले प्रयोग गर्ने मोबाइललगायत प्राविधिक डिभाइसहरूको परीक्षण गर्ने क्रममा सामाजिक सञ्जालले उपयोगमा ल्याएको वि–च्याट र ह्वाट्सएपमार्फत सञ्जाल विस्तार भएको पाइएको हो।  

सुन तस्करीमा पक्राउ परेका आरोपितहरूले प्रयोग गर्ने मोबाइलमा रहेको वि–च्याट र ह्वाट्सएपमार्फत कुराकानी हुने गरेको पाइए पनि विवरण माग गर्ने निकाय र कानुन अभावका कारण प्रहरीले उनीहरूको ट्र्याक रेकर्ड खोज्न सकेको छैन। सुन तस्करीमा पक्राउ बेल्जियन नागरिक दावा छिरिङ, तिब्बतियन मूलका भारतीय नागरिक तथा नेपालमा रहेका केही राजनीतिज्ञ र व्यापारीबिच भएको कुराकानी सुन तस्करीकै लागि हो भन्ने खुल्न सकेको छैन। बेल्जियन नागरिक दावा छिरिङको सम्पर्क राजनीतिक दलमा आबद्ध नेता तथा कार्यकर्तासँग देखिएको छ। तर उनीहरूबिच के कुराकानी भयो भन्नेबारे केही नखुलेको सिआइबी स्रोतले जनाएको छ। ‘उहाँहरूबिच कुराकानी भएको देखिन्छ तर कुराकानी के विषयमा भयो भन्ने खुलेन र लेनदेन पनि देखिएन भने यो विषय पुष्टि गर्न सकिँदैन तर उनीहरूले प्रयोग गरिरहेको च्याटमा भएको विवरण पाइए, त्यहाँ रेकर्ड भएको विषय आए पुष्टि गर्न र प्रमाण जुटाउन सकिन्छ,’ सिआइबी स्रोतले भन्यो।

सिआइबीको टोलीले भदौ १ गते दुई चिनियाँ नागरिक याओ पुचेङ, लि वेन सुङलाई पक्राउ गरेको थियो। उनीहरू दुवैजनालाई सिआइबीको टोलीले त्यतिबेला काठमाडौंबाटै पक्राउ गरेर अहिले पनि अनुसन्धान गरिरहेको छ। उनीहरूबीच टेलिफोनमा कुराकानी भएको देखिँदैन तर नियमित रूपमा मोबाइल एपमार्फत कुराकानी भएको देखिएको थियो। यसअघि साउन ३१ गते नै सिआइबीको टोलीले तार चिनियाँ टियान मी, विङ टङ, डिङ सेग्फा, ली नेङकाइलाई पक्राउ गरेको थियो। उनीहरूबिच पनि यसैगरी वि–च्याटमार्फत कुराकानी भएको देखिँदा पनि प्रहरीले के–के विषयमा कुराकानी भएको भन्ने पत्ता लगाउन चिनियाँ प्रहरीमार्फत वि–च्याटमा भएको कुराकानीको विवरण मागेको थियो। तर नेपाल सरकारसँग कुनै सहमति वा सम्झौता र कानुनी आधार नभएको भन्दै विवरण दिन अस्वीकार गरियो। वि–च्याटले व्यक्तिको विवरण दिन बाध्य नभएको जनाएको थियो। त्यसपछि प्रहरीले अमेरिकामा रहेको ह्वाट्स एपसँग पनि विवरण मागेको थियो। उसले पनि व्यक्तिको विवरण दिने कुनै कानुनी आधार नभएको र नेपाल सरकारलाई विवरण दिन कुनै पनि बाध्यकारी नियम नभएको उल्लेख गरेपछि नेपाल प्रहरीको अनुसन्धान केवल कागज र बयानमा मात्रै सीमित हुने अवस्थामा पुगेको छ। ‘नेपाल सरकारले वि–च्याट, फेसबुक, ह्वाट्सएप तथा गुगलजस्ता सामाजिक सञ्जालका म्यासेज आदानप्रदान गर्ने एपलाई दर्ता गर्ने कानुन नबनाएसम्म नेपाल प्रहरीले जतिसुकै अनुसन्धानका लागि मेहनत गरे पनि विवरण नपाउँदासम्म प्रमाण जुटाउने आधार देखिँदैन,’ अनुसन्धानमा संलग्न सिआइबीका एक अधिकारीले भने।सिआइबीको हिरासतमा रहेका चिनियाँ नागरिक मात्र होइन, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा र चिनियाँ व्यापारी दाओजिन वाङबिच भएको कुराकानी के भएको थियो भन्ने रेकर्ड छैन। उनीहरूबिच कति पटक कुराकानी भयो भन्ने खुल्छ तर के के विषयमा कुराकानी भएको भन्ने कल रेकर्ड छैन। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पनि अनुसन्धानमा सामाजिक सञ्जालद्वारा सञ्चालित एप प्रयोगले अप्ठेरो पारेको बताए। ‘नेपालमा कुनै पनि सामाजिक सञ्जालको सर्भर छैन, यहाँ सर्भर नभएपछि अनुसन्धानका लागि विवरण माग गर्दा समयमै उपलब्ध हुने अवस्था पनि छैन।  

पूर्वएआइजी बमबहादुर भण्डारीले सामाजिक सञ्जालले दिएको सुविधा उपयोग गर्दा नेपालमा कानुन अभावका कारण अपराध अनुसन्धानलाई अप्ठेरो परेको बताएका छन्। उनले नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताले गरेको कुराकानीको विवरण र रेकर्ड कहीँबाट पनि प्राप्त गर्न कठिन भएको र दिइहाले पनि निकै ढिला गरी प्राप्त हुने गरेको बताए। ‘बयानमुखी अनुसन्धान होइन भन्ने अनि प्रमाणमुखी अनुसन्धानका लागि भने नेपालमा सर्भर नभएका र दर्ता नभएकाले अप्ठेरो परेको छ। यस कुरामा राज्यले चाँडै ध्यान दिनुपर्छ,’ अपराध अनुसन्धानको क्षेत्रमा लामो समय काम गरेका पूर्वएआइजी भण्डारीले भने। प्रहरीले सामाजिक सञ्जाल नियमनका लागि धेरै पटक आवाज उठाएको र त्यसका लागि अनुसन्धानमा सहयोग पुग्ने कानुन निर्माणको आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो। करिब १५ वर्षअघि डा. उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपहरणपछि सरकारले २०६७ सालमा संगठित अपराध ऐनको मस्यौदा भएको थियो।  

त्यतिबेला संगठित अपराध ऐनको मस्यौदा हुँदा मोबाइल र फोनको रेकर्ड गर्ने र त्यसको विवरण प्रहरीले शंका लागे अनुसन्धानका लागि उपलब्ध गराउने भन्ने थियो। तर २०७० सालमा त्यो ऐन आउँदा त्यो प्रावधान हटाइएको थियो। अहिले पनि कतिपय सन्दर्भमा कल रेकर्डको प्रसंग आउने गरेको छ।  

पछिल्लो पटक वि–च्याट, ह्वाट्सएपमार्फत भएका कुराकानीको रेकर्ड प्रहरीले पाउन सकेका छैनन्। चिनियाँ नागरिकले अनलाइन भुक्तानी सेवा प्रणाली वि–च्याटलाई पूर्ण रूपमा प्रयोग गरेको देखिन्छ। तर कति परिणाम वा कुन प्रयोजन भने खुलेको छैन। नेपालमा चिनियाँहरूका होटल, रेस्टुरेन्ट तथा फेन्सी पसलहरूको कारोबार सिधै वि–च्याटबाट हुने गरेको छ। सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकले पनि वि–च्याटमार्फत भुक्तानी दिएको र लिएको देखिएको छ। २०८० असारअघि नेपालमा वि–च्याटमार्फत भुक्तानीलाई प्रतिबन्ध लगाएको थियो। अहिले एनएमबी बैंकमार्फत वि–च्याटमार्फत कारोबार हुने गरेको छ।  

चीनले प्रयोगमा ल्याएको वि–च्याट नेपालमा प्रयोग भए पनि चीनमा सन् २००८ देखि फेसबुकमाथि प्रतिबन्ध लगाइएको छ। सामान्य मोबाइल अथवा कम्प्युटरबाट कुनै पनि ब्राउजर प्रयोग गरेर फेसबुक चलाउन सकिने अवस्था छैन। फेसबुक मात्र होइन, चीनमा युट्युब, गुगल, ट्विटर, जिमेललगायत वेबसाइट तथा सामाजिक सञ्जाल पनि प्रतिबन्धित छन्। चीनले फेसबुकजस्तै वि–च्याट बनाएको र त्यसलाई संसारभर प्रयोग गर्न सक्ने बनाएको छ। वि–च्याटमा टेक्स्ट म्यासेज गर्न, भ्वाइस म्यासेज गर्नलगायत भ्वाइस कल र भिडियो कल गर्न सकिन्छ। यसमा फेसबुकमा जस्तै फोटो, भिडियो, विभिन्न समाचार र सम्बन्धित लिंक राख्न सकिन्छ। चिनियाँले वि–च्याटलाई सामाजिक सञ्जालका रूपमा मात्र नभई सबै बैंकिङ कारोबार पनि प्रयोग गरेकाले नेपालमा रहेका चिनियाँ नागरिकले भुक्तानीको माध्यम पनि बनाएका छन्।

प्रकाशित: १९ भाद्र २०८० ०१:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App