परम्परागत रुपमा निकालिँदै आएको रोपाई जात्रा आज ताप्लेजुङमा सम्पन्न भएको छ । रोपाई जात्राको दिन आज बिहानैदेखि मौसम परिवर्तन भएर कहिले घाम र कहिले धुम्म भए पनि ताप्लेजुङ सदरमुकाम फुङलिङमा भने चहलपहल बढेको थियो ।‘रोप न रोप रोपाहारे बहिनी’...... बोलको सुमधुर धुनको तालमा सुरिलो स्वरको गीत घन्काएर नेपाल भाषा तथा सांस्कृतिक समाजले यसपल्ट मनाएको रोपाईंजात्रा हेर्न गाउँ–गाउँबाट मानिसहरू फुङलिङ आएका छन्।
अघि–अघि गोरु, हली र बाउसे अनि पछि–पछि रोपाहारले धान रोपेझैँ रोपाईको झल्को दिने रोपाई जात्रामा कलाकारले रोपाईको अभिनय गरेका थिए । रोपाई जात्राको भीड देखेर आयोजक नेपाल भाषा तथा सांस्कृतिक समाजका अध्यक्ष शंकर श्रेष्ठले भने, ‘बजारमा मानिस खचाखच भरिभराउ भएकोले अझै पनि पुराना संस्कृतिलाई मन पराउनेहरू थुप्रै रहेछन् भन्ने लाग्यो ।’ परम्परागत रुपमा युवकहरू युवतीको भेषमा रोपाइँ गर्ने चलन भए पनि एक दशक यता युवक युवतीहरू समान रुपमा रोपाइँमा सहभागी हुँदै आएका छन् । फुङलिङको रोपाई जात्राको अर्को सुन्दर पक्ष भनेका यहाँ जात र धर्मले महत्व पाउँदैन।
‘सबै जाति,भाषा,धर्म र संस्कृतिमा आस्था राख्ने मानिसहरू बर्सेनि एकसाथ जात्रामा सहभागी भएको देखिरहेको छु ’नेपाल भाषा तथा सांस्कृतिक समाजका पूर्व अध्यक्ष निरोज श्रेष्ठले भने । उनले यो परम्परा सदियौँ दिनदेखिको भन्दै यसलाई कायम राख्न सबै समुदायसँग अपिल पनि गरेका छन् । खेतमा छमछम रोपाई गरेजस्तै यो जात्रामा पनि सारी चोलोमा सजिएका महिलाहरूले धान रोप्छन् भने पुरुषको भेषमा महिलाले दाल(मास) तथा भटमास रोपेर पहाडी रोपाई संस्कृतिलाई दुरुस्तै अभिनय गर्छन् ।
आ–आफ्नै सांस्कृतिक पहिरनमा सजिएका नरनारीले रोपाँईजात्रामा नाचेको नृत्य र गाएको गीतले असार–साउनमा हिलोमा बिताएको कष्टपूर्ण दिनहरूलाई बिर्साएर रमाइलो बनाउने विश्वास गरिन्छ । अघि–अघि पञ्चैवाजा, पछि–पछि हली,रोपाहार र बाउसेले खेतमा रोपाई गरेको जीवन्त अभिनय हुने रोपाई जात्रा ताप्लेजुङ,पाँचथर, सङ्खुवासभामा लगायतका क्षेत्रमा पनि मनाइन्छ । रमाइलो सँगै टाढाका आफ्ना साथी सँग भेटघाट हुने र रात भरी नाचगान गरी आनन्द लिन पाइने भएकाले धेरै यो पर्वमा सहभागी हुने धेरै हुन्छन् । लाखे जात्राको पर्व भएकोले लाखे नाचमा रमाउनेहरू कम भेटिँदैनन् ।
प्रकाशित: १५ भाद्र २०८० १३:३५ शुक्रबार