समाज

पर्सा निकुञ्जमा बाघको संख्या बढ्यो

चितवन- पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्यामा वृद्धि भएको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्। नियमित अनुगमनका क्रममा पर्सा निकुञ्जमा बाघको संख्या १९ वटासम्म पुगेको अध्ययनले देखाएको उनीहरूको भनाइ छ।  सन् २०१३ मा भएको गणनामा पर्सामा सातवटासम्म पाटे बाघ रहेको पत्ता लागेको थियो। बाघ गणना देशभर एकै पटक हुन्छ। सन् २०१३ पछि बाघ गणना भएको छैन।

बस्ती स्थानान्तरणले मानवीय क्रियाकलापमा कमी आयो। पानीका स्रोतहरू सुरक्षित भए। यसको प्रभाव बाघको संख्यामा परेको हो।

विसं २०४१ सालमा पर्सा वन्यजन्तु आरक्ष स्थापना भएको थियो। सोही आरक्षलाई गत वैशाख २५ मा मन्त्रिपरिषद् बैठकले निकुञ्ज बनाउने निर्णय गरेको थियो।

 बाघ पाउने क्षेत्रमा हुने नियमित अनुगमनमा पर्सा निकुञ्जमा बाघको संख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका  अनुसन्धान अधिकृत बाबुराम लामिछानेले बताए। कोषको स्थानीय कार्यालय बाघको अनुगमन र अध्ययनमा संलग्न रहँदै आएको छ।

 सन् २०१३ अघि सन् २००७ मा भएको गणनामा पर्सामा बाघको संख्या चारमात्रै थियो। तर सन् १३ पछि सन् २०१४ मा अनुगमन गर्दा १० वटा बाघ रहेको पत्ता लाग्योे। त्यसपछि सन् २०१६ को अनुगमनमा १९ वटा बाघ भेटिएको लामिछानेले जनाए। पर्सामा बाघको संख्या बढेको अनुगमनबाट पुष्टि भएको उनको भनाइ छ।

 बाघ हिँड्ने सम्भावित ठाउँमा समानान्तर दुईतर्फ क्यामेरा राखिन्छ। ती क्यामेराअगाडिबाट कोही हिँडेमा स्वचालित फोटो खिचिन्छ। क्यामेरा ट्रयापिङ भनिने यो विधिबाट अनुसन्धानकर्ताले बाघको गणना र अनुगमन गर्दै आएका छन्। बाघको शरीरको पाटा एकअर्कासँग मिल्दैन। जसका कारण क्यामेराले खिचेका फोटो विश्लेषण गरेर बाघको संख्या निर्क्योल गर्न सहज भएको हो।

 पर्सा निकुञ्ज पर्साका साथै बारा र मकवानपुर जिल्लासँग जोडिएको छ। यो निकुञ्ज नजिकै चितवन राष्ट्रिय निकुञ्ज छ। चितवन राष्ट्रिय निकुञ्ज बाघको मुख्य वासस्थल हो। सन् २०१३ को गणनामा देशभर १९८ वटा बाघ थिए। जसमध्ये चितवन निकुञ्जमा मात्रै १२० वटा बाघ थिए। चितवनबाट केही बाघ पर्सा गएका छन्। तर, पर्सामै बस्ने बाघ पनि पत्ता लागेका छन्।

 'सन् २०१३ को गणनाका बेलामा चितवन निकुञ्जमा क्यामेरामा परेका केही बच्चा बाघ अनुगमनक्रममा पर्सामा भेटिए। चितवनको माडीसम्मका बाघ पर्सामा भेटिएका छन्,' लामिछानेले भने। पर्सामा भेटिएका मध्ये ४० प्रतिशत बाघमात्रै चितवनबाट गएको हुन सक्ने उनले बताए। तर, त्यहाँ पुगेका धेरै बाघ निरन्तर त्यहीँ बस्ने गरेको भेटिएको छ।

 'वर्ष–वर्ष दिनमा अनुगमन गर्दा ७० प्रतिशत बाघ दोहोरिएर क्यामेरा ट्रयापिङमा परेका छन्। यसको मतलब ती बाघ चितवन र पर्सामा ओहोरदोहोर गर्न छाडेर पर्सामै बस्न थाले भन्ने हो,' उनले भने। वासस्थान सुधारका कार्यक्रमले संख्या बढेको अधिकारीहरू बताउँछन्।

मानव बस्ती स्थानान्तरणको प्रभाव

 पर्सा निकुञ्ज सिमानाभित्र रहेका दुईवटा बस्तीहरु रामभोरी भाटा र रमौली प्रतापपुरलाई निकुञ्जबाहिर स्थानान्तरण गरेका कारण बाघको संख्यामा सुधार भएको अधिकारीहरू बताउँछन्। 'बस्ती स्थानान्तरणले मानवीय क्रियाकलापमा कमी आयो। पानीका स्रोतहरू सुरक्षित भए। जसको प्रभाव बाघको संख्यामा परेको हो,' पर्सा निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले भने।

 रमौली प्रतापपुरमा तीन सय घर थिए। रामभोरी भाटमा सय घर थिए। रामभोरीमा पानीको राम्रो स्रोत पनि थियो। उनले पानीका प्राकृतिक स्रोतको संरक्षणका साथै कृत्रिम ताल पनि निर्माण गरेको बताए। जसका कारण बाघले सिकार गर्ने हरिण, मृत, बँदेलजस्ता आहारा प्रजातिको संख्या बढ्दा बाघको वृद्धिदर पनि बढेको उनको भनाइ छ।

बस्तीमा आउने खतरा छैन

 पर्सा निकुञ्जको मध्यवर्ती क्षेत्रमा तीन जिल्लामा गरेर लगभग सवा लाख जनसंख्या बसोवास गर्छ। निकुञ्जको क्षेत्रफल स्थापनाकालमा ४९९ वर्गकिलोमिटर थियो। ७२ सालमा पूर्व बारातर्फ १२८ वर्ग किलोमिटर क्षेत्र विस्तार गरेर निकुञ्जको कुल क्षेत्रफल ६२७ वर्ग किलोमिटर कायम गरिएको छ। जुन तरिकाले बाघको संख्या बढेको छ, त्यो तहमा मानव बस्तीमा खतरा नरहेको अधिकारीहरू बताउँछन्।

 'अहिलेसम्म बस्तीमा कुनै बाघ निस्केको जानकारी छैन। बाघ र मान्छे जम्काभेट भएको कुनै घटना छैन,' आचार्यले भने। पर्सा जिल्लामा गत वर्षको फाुगन १३ मा मानव बस्तीमा एउटा बाघ पुगेको थियो। बाघ आक्रामक भएपछि प्रहरीले गोली हानेर मारेका थिए। त्यो बाघ तत्कालीन पर्सा वन्यजन्तु आरक्षको नभएको उनको भनाइ छ।

 सरकारले सन् २०२२ मा सन् २०१० को तुलनामा बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ। अर्थात सो समयमा नेपालमा बाघको संख्या २५० पुर्‍याउने सरकारको योजना हो। चितवन निकुञ्ज जहाँ पहिल्यै बाघको संख्या अत्यधिक छ, त्यहाँ उल्लेख्य रूपमा बाघ बढाउन गाह्रो छ। नयाँ वासस्थलमा बाघको वृद्धिदर राम्रो भए सन् २०२२ को लक्ष्य पूरा गर्न सहयोग मिल्ने अधिकारीहरू बताउँछन्।

प्रकाशित: ८ भाद्र २०७४ ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App