समाज

मार्सी धान फल्ने ज्युलोमा पक्की घर ठडिँदै

केही वर्ष अघिसम्म जुम्लाको सिंजा गाउँपालिका–६ काडागाँउमा मार्सी धान फल्ने स्थानको रुपमा चिनिन्थ्यिो। तर, आजभोलि काडागाँउमा मार्सी धान उत्पादन हुने ज्युलो (खेत) मा पक्की घरहरू ठडिने क्रम बढ्न थालेको छ।  

काडागाँउका जनक बहादुर बुढाको नराकोटमा १५ रोपनी ज्यूलोमा धान रोप्ने सिजनमा कालो मार्सी मात्रै रोपिन्थ्यो। अन्य सिजनमा सिमि, कोदो, जौँ लगाउने गरिन्थ्यो। जसले बुढाका १२ जनाको परिवारलाई वर्षभरी खान पुग्थ्यो। बचत भएको केही धान लगायत खाद्यान्न बिक्री पनि उनले गर्ने गरेका थिए। तर, आजभोलि उनको ज्युलोमा मार्सी धान, सिमि, कोदो, जौँ जस्ता अन्न फलेको देखिँदैन। उनको सबै जग्गामा सिमेन्टका पक्की घरहरू धमाधम बन्न थालेका छन्।  

हाल १५ रोपनीमध्ये २ रोपनीमा मात्रै खेती हुने गरेको जनक सुनाउँछन्। उनी भन्छन्, ‘बाँकी रहेका १३ रोपनीमा पक्की घर बनिरहेका छन् । आफ्नो मात्रै दुईवटा घर बनाइयो। ज्युलो बजारीकरणमा रुपान्तरण हुँदै गएको र गाउँपालिकाको सदरमुकाम भएका कारण होटल व्यावसायका कारण पक्की घर निर्माणको क्रम बढेको छ।’  

सिंजाकै बाचे बुढाको पनि ज्युलोमा अहिले पक्की घर ठडिने क्रम धमाधम बढिरहेको छ। १२ रोपनी ज्यूलो रहेको बुढाको अहिले १ रोपनीमा मात्रै खेती हुने गरेको छ।  

केही वर्षयता खेती गर्ने कोही नभएको भन्दै धमाधम बिक्री गर्दा ऊक्त जग्गामा अहिले पक्की घर ठडिएका छन् । आसपासका अन्य खेतमा पनि धमाधम भवन बन्दै गएका छन्। बजार विस्तारका नाममा खेतीयोग्य ज्युलो भरी अहिले धमाधम ठूला भवनहरू बनिरहेका देखिन्छन्। स्थानीय तहको संरचना पश्चात वस्ती तथा बजार विस्तारको नाममा झनै खेतीयोग्य खेतहरू मासिने गरेको सिंजा–३ नराकोट स्थानीय तिलाचन्द्र उपाध्याय बताउँछन्।  

उनका अनुसार सडक पुगेको ठाउँमा १२ लाख एक घडेरीको मूल्य पर्छ भने सडक नपुगेको ५ देखि ६ लाखमा किनबेच भइरहेको छ। स्थानीय सरकारले संरक्षणका लागि कुनै ध्यान नदिएकै कारण खेतीयोग्य जग्गा बिक्री हुँदै आएको र ती जग्गामा धमाधम भवनहरू बनिरहेको उनको भनाइ ।  

उनले भने, ‘खेतमा धमाधम पक्की भवन बन्न थालेपछि खाद्यान्न उत्पादनमा धेरै असर परेको छ। कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्क अनुसार जुम्लामा २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुन्छ। खेतीयोग्य जग्गा संरक्षणको बारेमा जुम्लाका कुनै पनि स्थानीय सरकारले चासो दिन सकेका छैनन्।  

कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीका अनुसार स्थानीय तहले  खेत मासेर घर बनाउनेलाई कारबाहीको दायरामा नल्याउदासम्म यो क्रम रोकिँदैन। यस्तै जुम्लाको पातारासी गाउँपालिका–५ मा रहेको लासी ज्युलोमा पनि व्याक्तिगत घर र स्थानीय तहको भवन निर्माण भएका छन्। जुन चिन्ताको विषय बन्दै गएको देखिन्छ।  

प्रकाशित: १२ भाद्र २०८० ०७:१५ मंगलबार

जुम्ला मार्सी धान