देशभरिका अदालतमा सबैभन्दा बढी मुद्दा कुन विषयका होलान् ? सम्बन्ध विच्छेद अर्थात् पारपाचुके। सम्बन्ध विच्छेद भनेको विवाहित पति र पत्नी विभिन्न कारणले सँगै बस्न नसकेर कानुनी रूपमा छुटिभिन्न हुनु भन्ने बुझिन्छ।
नेपालमा तथ्याङ्क हेर्दा सम्बन्ध विच्छेदका मुद्दा बिस्तारै उकालो ग्राफमा छन्। २०७९ सालको तथ्याङ्कले देशभरका अदालतमा दर्ता भएका कुल मुद्दामा १२.३ प्रतिशत पारपाचुकेका छन्। पारपाचुकेको मुद्दा गत वर्षदेखि एक नम्बरमा पुगेको हो। यसले नेपालमा पारिवारिक विखण्डन बढ्दै गएको भन्ने बुझ्न सकिन्छ।
आव २०७९–८० को तथ्याङ्क हेर्दा देशभरिका जिल्ला, उच्च र सर्वोच्च अदालतमा गरी ३७ हजार ४३४ वटा मुद्दा सम्बन्ध विच्छेदका दर्ता भएका थिए। त्यसमध्ये २७ हजार ७८ वटा मुद्दा छिनिएका छन्। २०८० साउनयता १० हजार ३५६ जनाका सम्बन्ध विच्छेदका मुद्दा छिन्न बाँकी छन्।
जिल्ला, उच्च, सर्वोच्चमा दर्ता भएका पारपाचुकेका मुद्दामा दैनिक सरदर १०२ जोडी छुटिभिन्न हुन अदालत पुग्ने गरेका छन्। देशभरि छिनिएका मुद्दाको सङ्ख्या हेर्दा सरदरमा दैनिक करिब ७४ जोडीले अदालतबाटै कानुनी रूपमा सम्बन्ध विच्छेदको प्रमाणपत्र लिने गरेका छन्। सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै जिल्ला अदालतहरूमा दर्ता हुने गरेका छन्।
देशभरिमा काठमाडौँ जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा पर्ने गरेका छन्। गत वर्ष काठमाडौँ जिल्ला अदालतमा ५ हजार १७४ वटा पारपाचुकेका लागि मुद्दा दर्ता भएका थिए। तीमध्ये ३ हजार ११२ मुद्दा छिनिएका छन् भने १ हजार ७६२ मुद्दा बाँकी छन्। छिमेकी ललितपुर जिल्ला अदालतमा जम्मा ९७० वटा सम्बन्ध विच्छेदका मुद्दा परेका थिए भने भक्तपुरमा ५४३ वटा मुद्दा दर्ता भएका थिए।
काठमाडौँ जिल्ला अदालतका स्रेस्तादार कौशलेश्वर ज्ञवालीका अनुसार सम्बन्ध विच्छेद विभिन्न कारण, स्थान, भूगोलअनुसार फरक देखिएको बताए। वैदेशिक रोजगारीका कारण पनि पारपाचुके बढेको उनले बताए।
‘वैदेशिक रोजगारीमा गएकाहरूको पनि सम्बन्ध विच्छेद धेरै हुने गरेको छ,’ उनले भने।
प्रायः जसो घरेलु हिंसा सहन नसकेर सम्बन्ध विच्छेदका लागि अदालत जाने महिलाहरू बढी छन्। त्यसैगरी पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने नयाँ कानुन आएपछि पनि मुद्दा बढेको हुन सक्ने उनको आकलन छ। २०७५ सालअघि महिलाले मात्रै सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न पाउँथे। नयाँ मुलुकी संहिता जारी भएपछि पुरुषले पनि सम्बन्ध विच्छेद गर्न चाहे मुद्दा दिन सक्ने कानुनी व्यवस्था गरिएको छ।
त्यसैगरी विदेश जान कागजी अर्थात् अदालती विवाह गर्ने विदेशबाट फर्केपछि डिभोर्स गर्नेहरू पनि छन्।
‘पतिले वास्ता नगरेको, कतिपय छोरा भएन भनेर पारपाचुके हुने गरेको छ,’ स्रेस्तादार ज्ञवालीले भने। तर छोरा भएन भन्नेजस्ता कारण देखाउनेहरू भने कम सङ्ख्यामा छन्। तराईतिर फरक कारणमा पनि सम्बन्ध विच्छेद हुने गरेको छ। दाइजो पेवा थोरै भएको निहुँमा पनि पारपाचुके हुने गरेको छ। वैदेशिक रोजगारीको असर भने देशैभरि देखिएको छ।
प्रकाशित: १० भाद्र २०८० ०९:२४ आइतबार