समाज

सप्तकोसीमा पानीको बहाव यस बर्षकै उच्च

इटहरी- सप्तकोसी नदीमा यस बर्षकै उच्च पानीको बहाव पुगेको छ। शुक्रबार दिउँसो ४ बजेको मापन अनुसार पानीको बहाव बढेर २ लाख ६७ हजार ८५० क्यूसेक पुगेको छ। दुई दिनदेखि यता सप्तकोसीमा पानीको वहाव निरन्तर बढ्दो छ।

पहाडी जिल्लामा पानी पर्दा सप्तकोसीमा बहाब बढ्ने गर्छ ।  पानीको वहाब बढेसँगै कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३३ वटा ढोका खुल्ला राखिएको छ। पानीको बहाव अरु बढेमा ढोका खुल्लाको संख्या अवस्था हेरेर बढाउन भारतीय पक्षलाई आग्रह गरिने सुनसरीका निम्ति प्रमुख जिल्ला अधिकारी राजेश गिरीले बताए । उनका अनुसार, अहिलेसम्म सप्तकोसी नदीमा पानीको बहाब बढीरहेपनि कुनै खतरा भने छैन।

 ‘पानीको बहाब बढेपनि कुनै खतरा नभएपनि प्रशासन भने स्ट्यान्ड बाई बसेको छ,’ उनले भने, ‘पहाडी जिल्लामा पानी परेकाले गर्दा निरन्तर बहाव बढीरहेको छ। रातिको अवस्था हेरेर अरु ढोका खोल्न आग्रह गरिनेछ।’

पानीको बहाब बढेसँगै कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती दुईवटा बालिएको छ । कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म सामान्य मानिन्छ। एक लाख ५० हजारदेखि ३ लाखसम्म खतरा कम मानिन्छ। जब ३ लाखभन्दा माथि अति खतरा मानिन्छ।

 ‘तीन लाख भन्दा बढी पानीको बहाब कट्नासाथ कोशी व्यारेजको बीचमा पनि बत्ती बालेर थप खतराको संकेत जनाइन्छ,’ कोशी व्यारेज प्रहरी कार्यालयका असई प्रेम कट्वालले भने, ‘पाँच लाखसम्म पानीको बहाव धान्न सक्छ । त्यसभन्दा माथि चाँहि कुनै टुंगो नहुन सक्छ ।’

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वितिकै खतराको संकेत पश्चिमतर्फ, दुई लाख काटनेवितिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ । पानीको बहाव तीन लाख काटनासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ ।

कोशी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्यूसेक  छ। सन् १९६८ मा ७ लाख ८८ हजार क्यूसेकसम्मको भार थामेको थियो । तर, व्यारेज  भन्दा माथिल्लो भागमा वालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ । ‘कोसी ब्यारेज निर्माण भएको धेरै बर्ष बित्नाले गर्दा कुल भारवहन क्षमता त धान्दैन,’ असई कट्वालले भने, ‘पाँच लाखसम्म पानीको वहाव पुग्दा आतिनु पदैन् ।’

२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुदाँ सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका मानववस्तीमा पसेको  थियो।

प्रकाशित: २७ श्रावण २०७४ १४:१५ शुक्रबार

सप्तकोसीमा पानीको बहाव यस बर्षकै