समाज

बाध्यता र रहरले विदेश पुगे पनि छैन सहज

विदेशिनेका व्यथा

तीनपटक त्रिभुवन विमानस्थलबाट फर्काइए पनि चौथो प्रयासमा उनी कुवेत पुगेरै छाडिन्। विदेश जाने र राम्रो कमाइ गर्ने चाहनाले उनलाई धकेलिरह्यो। तर सोचे झैं विदेश त रहेनछ। जब उनी कुवेत पुगिन्। नारकीय जीवन यहीँबाट सुरु भयो। मानव बेचबिखन अनुसन्धान ब्यूरोले पहिलो, दोस्रो र तेस्रोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशको नारकीय जीवनबाट बचाउन सफल भए पनि चौथोपटकको भिजिट भिषाले उनलाई कुवेत पुर्याएको थियो।

उनी दुई छोरीकी आमा थिइन्। पतिको साथ सहयोग नपाएपछि छोरीको भविष्य सम्झेर विदेसिन बाध्ये भइन्। ‘ब्युरोले सयौंपटक रोकेको भए पनि छोरीहरूको उज्जवल भविष्य निमार्ण गर्दै एक दिन विदेश छिरेर टन्नै पैसा कमाउने सोच थियो,’ उनले भनिन्, ‘घरपरिवारको साथसहयोग नभए पनि पतिको साथ भए पुग्थ्यो। पतिबाट पाउने साथ, माया र ममता पनि पाउन सकिन। त्यसै कारणले विदेश जान बाध्य भएकी थिए। छोरीको मायालाई डोर्याउँदै विदेश पुगेको दिनदेखि नै दशा सुरु भयो।’

उनलाई भिजिट भिषामा कुवेत पुर्याएसँगै घरको काममा लगाउने एक एजेन्टको खेल थियो। त्यो सहजै सफल भयो। एजेन्टले भनेअनुसार १ सय २० दिनार तलबमा ती युवती कुवेत पुगिन्। कुवेत पुगेको केही दिनमा नेपाली एजेन्टले कुवेतबाट नै घरको काममा लगाइदिएको उनले बताइन्। ‘जबदेखि घरको काममा लाग्न थाले तबदेखि कुटाइ पनि खान थाले,’ उनले भनिन्, ‘जिन्दगीमा कहिले कुटाइ खाएकी थिइनँ। कुटाइ खानलाई नै कुवेत पुगेछु। घरको कामसँगै कुटाइ पनि बढ्दै थियो। घरको काम, घरमालिकको कुटपिटको चापले बिरामीको उचाइ बढ्दै थियो।’

स्वदेशमा धेरै बेरोजगार छन् । सरकारले बेरोजगारलाई रोजगारी दिन नसक्दा नेपालमाबाट दैनिक करिब तीन हजार युवा विदेसिन्छन् । विदेशिने क्रममा उनीहरू ठगिने घटना पनि बढिरहेका छन् ।

उनले फेरी थपिन, ‘कुटपिट नगरेको भए जस्तो काम गर्न पनि तयार हुन्थ्ये। घर मालिकको ससाना कुरामा हात हालिहाल्ने बानी थियो। एजेन्टसँग संवाद गर्दै, यहाँ काम गर्न सक्दिन, मलाई स्वदेश फर्काउनु भनेपछि एजेन्टले पनि उल्टै चार लाख माग्यो। सुको पैसा थिएन। आफू बेचिएको रहेछु भन्ने चाल पाए। कुटाइ खाएर काम गरेको पैसा पनि दिएको थिएन घरमालिकले।’

कुवेतमा डेढ महिनाको बसाइपछि नेपाल पुग्नेबित्तिकै एजेन्टलाई चार लाख दिने सहमतिमा उनी यही साताको सोमबार नेपाल आइन्। उनी स्वदेश आएलगतै मानब बेचबिखन अनुसन्धान ब्युरोमा मंगलबार उजुरी पनि दिएकी छिन्। कुवेत भिजिट भिषामा पुर्याएको उक्त एजेन्टले स्वदेश फर्किएलगतै पैसा माग्दै आएको ती युवतीले बताइन्। अहिले उनको विदेश जाने सपनाको बिन्दु टुंगिएको छ।

तर, हन्डरपछिको सिकाइ मिठो हुन्छ भन्ने उनले पुष्टि गरेकी छन्। सुनसरी इटहरीकी उनी संयोगले त्रिभुवन विमानस्थलबाट फर्काइएका ५२ जनालाई आफ्नो दुःख कथा सुनाउँदै स्वदेशमै बस्न आग्रह गरिरहेकी थिइन्।  

उनी आफैं तीनपटक विमानस्थलबाट फिर्ता भएपछि चौथोपटकको प्रयासमा कुबेत पुगेकी थिइन्। फेरि उनी डेड महिनामै फिर्ता हुनुपर्ने अवस्था आयो।  उनले भनिन्, ‘एयरपोर्टमा सयौंचोटी रोके पनि विदेश जाने धोको थियो। बिदावारी भई एयपोर्ट पुग्दा मलाई तिनपटक फर्काइयो। विदेशी भूमिमा पाइला हाल्ने ठूलो उद्देश्य थियो। त्यो पूरा पनि भयो। फेरि विदेशको पीडा लिएर स्वदेश नै फर्किएँ।’  

 हन्डरपछिको सिकाइ मिठो हुन्छ भन्ने उनले पुष्टि गरेकी छन्। सुनसरी इटहरीकी उनी संयोगले त्रिभुवन विमानस्थलबाट फर्काइएका ५२ जनालाई आफ्नो दुःख कथा सुनाउँदै स्वदेशमै बस्न आग्रह गरिरहेकी थिइन्।  

‘मैले त्यहाँबाट फर्केर आएपछि नजाने निधो गरे,’उनले सम्झाइन्, ‘अब विदेश मेरो कल्पनाबाहिरको कुरा हो। तपाईंहरू पनि नजानुहोस्।’ उनी विदेशमा पाएको वेदना र एजेन्टले दिएको दुःखको भारी बिसाउन मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन आएकी थिइन्। सोही समयमा उक्त ब्युरोले अवैध रूपमा विदेसिँदै गरेका ५२ जना युवालाई फकाएर परामर्श दिँदै गर्दा उनीजस्तै विदेशमा आपतविपतमा परिन्छ भन्दै उदाहरणकै रूपमा प्रस्तुत भएकी थिइन्।  

उनले ती ५२ जनालाई सम्झाउँदै भनिन्, ‘विदेशमा कामको सपना बोकेर गएकी थिए। तर, त्यहाँ नमिठो दुःख पाए। आफू बिरामी हुदाँ साथसहयोग कसैको पाइन्। नलडेकालाई विदेशमा लडाईदिन्छन्। कमसेकम स्वदेशमा त नचिनेकाले पनि बोलाउँदै हिँड्छन्। लडेकालाई उठाउँछन्। बिरामी हुँदा अस्पताल पुर्याउँछन्। विदेशमा आफ्ना भन्ने कोही हुँदैनन्।’ उनी थप्छिन्, ‘तपाईंहरू अवैधानिक रूपमा विदेश जाँदै हुनुहुन्छ। त्यसैले ब्युरोले तपाईहरूलाई फर्काएको हो। मलाई हेरेर आखाँ खोल्नुहोस्। विदेश नामको मात्र विदेश हो। विदेशमा १७÷१८ घण्टा काममा खट्नुपर्छ। अरूको हेपाइ उस्तै हुन्छ। पूरै तलब पनि पाइँदैन। इज्जतका साथ स्वदेशमै ८÷९ घण्टा काम गर्नुहोस्। परिवारको भान्सामा पाकेको भात सँगै खानुहोस्। आनन्दले बस्नुहोस्। आफ्नै देशमा बसेर काम गर्नु नै खुसीको कुरा हो।  

परिवारको खुसी खोज्दै विदेशिने महिला संख्या ठूलो छ। पहिले महिला घरबाट बाहिर निस्कने चलन थिएन। घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुन थालेसँगै रोजगारीका लागि ससाना बालबच्चालाई छाडेर विदेशिने महिला धेरै छन्। 

‘नेपालजस्तो सजिलो देश अरू छैन। हाम्रो लागि विदेश होइन। विदेश त पढाइको लागि हो। कामको लागि त स्वदेश नै हो। आफूले आफैंलाई मनन गर्नुहोस्। मिहिनेतीलाई पैसा कमाउने मार्ग स्वदेश नै हो,’ उनले सन्देशमूलक परामर्शसहित भनिन्।  

स्वदेशमा केही गर्न सकिँदैन भन्दै विदेश जाने युवाहरूको लर्को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहजै देख्न सकिन्छन्। विदेसिँदै गरेका युवाहरूको एयपोर्टमा लामो लाम हुन्छ। त्यही लाममा अवैधानिक रूपले विभिन्न तरिकाबाट विदेश प्रस्थान गर्दै गरेका युवाहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले फर्काउने गरेका छन्। उक्त लाममा पटकपटक फर्काएका व्यक्तिहरू अझै विदेशिने उद्देश्य बोकिरहेका हुन्छन्।

परिवारको खुसी खोज्दै विदेशिने महिला संख्या ठूलो छ। पहिले महिला घरबाट बाहिर निस्कने चलन थिएन। घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुन थालेसँगै रोजगारीका लागि ससाना बालबच्चालाई छाडेर विदेशिने महिला धेरै छन्।  

सुनसरीकै अर्की युवती पनि परिवारको आर्थिक भार थेग्न भिजिट भिषामा धेरै प्रयासपछि ओमान पुगेकी थिइन्। उनी सुकिला पोसाक, मनमा व्यथा र हँसिलो अनुहार लिएर कामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट ओमान पुगेलगतै दुखको भूमरीमा रुमलिदैँ थिइन्।

‘ओमान पुर्याउने एजेन्टले कम्पनीको काममा भनेर घरको काममा लगाईदियो,’उनले भनिन्, ‘घरको काममा व्यस्तता भएपनि उनीहरूले भनेको सबै काम मान्नु पथ्र्यो। घरमालिकले भनेको नमान्दाँ धेरै कुट्ने पिट्ने गथ्र्यो। ६ महिना काम गरे तर, पुरै तलब पाइन मैले। घरमालिकले तीन महिनाको तलब नै दिएन। जसोतसो नेपाल फर्किए।’ अहिले उनले पनि साउन ३० गते मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएकी छिन्। इटहरीकी युवतीले भनिन्, ‘यसरी स्वदेशी महिला आफ्नो पीडा लुकाएर परिवारको खुसीका लागि जस्तो दुःख पनि सहन तयार छन्। महिला साच्चै संसारका अद्भूत रचनाकार हुन्। नारीविना कुनै पनि कथा, काव्य वा यस्तै सिर्जनात्मक कल्पना अपुरो हुन्छ। त्यसैले त हाम्रो धर्मशास्त्रले पनि नारीलाई सबैभन्दा उच्चतम दर्जामा राखेको देखिन्छ।’

स्वदेशमा धेरै बेरोजगार छन्। सरकारले बेरोजगारलाई रोजगारी दिन नसक्दा नेपालमाबाट दैनिक करिब तीन हजार युवा विदेसिन्छन्। विदेशिने क्रममा उनीहरू ठगिने घटना पनि बढिरहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्युरोले विदेशमा हुनसक्ने जोखिमबाट बच्न युवालाई परामर्श दिन्छ, कागजपत्र नमिलेको र नक्कली भएर विदेश जानबाट रोक्छ। भिसा तथा नक्कली श्रम स्वीकृति भएका तथा मानव बेचबिखनमा पर्न सक्ने शंका भएका व्यक्तिलाई विदेश जानबाट रोक्ने गरेको ब्युरोका प्रहरी एसपी नरहरी रेग्मीले बताए। उनले भने, ‘हाम्रो चाहना कोही पनि विदेश गएर दुःखको भूमरीमा नपरून् भन्ने हो। केही सिप नभईकन आफूले नदेखेको ठाउँमा जान हुन्न भनी विभिन्न तरिकाले परामर्श दिँदै आएका छौं।’ विशेष गरी सिप नभएका र नपढेका विदेश गएपछि विभिन्न समस्यामा पर्ने गरेको उनले बताए।

ब्युरोको तथ्यांकअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म पाँच हजार चार सय ६८ जना विदेसिन लागेका युवायुुवतीलाई विभिन्न परामर्श दिएर फर्काइएको छ। साउन ३० गते पनि बिदेसिन लागेका ५२ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको थियो। जसमध्ये २९ जना पुरुष रहेका थिए भने २३ जना महिला रहेका थिए। विदेश जान लागेकामध्ये शकांस्पद कागजात भएको हुदा परामर्श दिई त्रिभुवन विमानस्थलबाट फर्काइएको छ। गत असारमा नौ सय ८३ जना, जेठमा नौ सय ८८ जना, वैशाखमा ती सय १४ जना, चैतमा छ सय ५३ र फागुनमा पाँच सय ५७ जनालाई विमानस्थलबाट फर्काइएको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका ३४ जनालाई पनि जोखिममा पर्ने देखेर फर्काइएको थियो ।

प्रकाशित: ६ भाद्र २०८० ०१:३० बुधबार

विदेश पुगे पनि छैन सहज त्रिभुवन विमानस्थल