समाज

महानगरका मेयर-उपमेयरलाई २ करोडको गाडी

मेयर विद्यासुन्दर शाक्ले चढ्दै आएको गाडी। तस्बिर : केशव थोकर

काठमाडौं- काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरका लागि दुई करोडभन्दा बढी मूल्यका गाडी खरिद गरेको छ। महानगरले मेयर विद्यासुन्दर शाक्यलाई १ करोड २० लाख रुपैयाँ पर्ने र उपमेयर हरिप्रभा खड्गीलाई ८६ लाख मूल्य पर्ने गाडी खरिद गरेको हो।

मेयर शाक्यले चढ्ने टोयोटा कम्पनीको विलासी गाडी महानगरपालिकाको कार्यालयमा आइसकेको छ भने उपमेयर खड्गीको गाडी आउन बाँकी छ।

स्रोतका अनुसार उममेयर खड्गी चढ्ने गाडी पनि कम्पनीमा आइसकेको छ। केही दिनमै महानगरपालिका आइपुग्ने महानगर उच्च स्रोतले बतायो।

शाक्य मेयरमा निर्वाचित भएर आउनेबित्तिकै निसान जिप चढेका थिए। उक्त गाडी पनि करिब ८५ लाख बराबरको हो।

त्यसैगरी उपमेयर खड्गीले सुजुकी कम्पनीको कार चढ्दै आएकी थिइन्। उक्त कारको मूल्य २५ लाख पर्छ।

नयाँ गाडी खरिद गर्दा टेन्डर आह्वान गरिएको थियो। टोयोटा कम्पनीको मात्रै क्षमता पुग्ने गरी टेन्डर आह्वान गरिएकाले गाडी खरिदमा महानगरपालिकाका कर्मचारी र कम्पनीको मिलेमतो भएको हुन सक्ने आशंका गरिएको छ।

नयाँ बजेटमा जनप्रतिनिधिको सवारी खरिदका लागि ३ करोड बजेट विनियोजन गरिएको छ। महानगरले जनप्रतिनिधिको सुविधामा ६ करोड २५ लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ।

महानगरपालिकाले तलबसुविधामा २ करोड १५ लाख, गाडी सुविधाका लागि ३ करोड १० लाख, फोन सुविधाका लागि १० लाख, उपचार सुविधाका लागि २० लाख, पोसाक सुविधाका लागि २० लाख र सल्लाहकार सुविधाका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्› कार्कीले मर्यादाका आधारमा गाडीको मूल्य धेरै नभएको बताए। उनका अनुसार जनप्रतिनिधि आउनुअघि नै गाडी खरिद प्रक्रिया थालिएको थियो।

प्रकाशित: २४ श्रावण २०७४ ०१:४६ मंगलबार

महानगरका मेयर-उपमेयरलाई करोडको गाडी