समाज

अनुदानको मल अनुमतिबिना बेच्नेलाई दुई लाख जरिवाना

इलाम बजारको माँ दुर्गा एग्रिकल्चर एन्ड सप्लायर्सबाट बरामद मल ।

जिल्ला प्रशासन कार्यालय इलामले सरकारी अनुदानमा आएको रासायनिक मल बिनाअनुमति बिक्री गर्ने पसललाई जरिवाना गराएको छ।

इलाम बजारमा पवित्रा चौहानले सञ्चालन गरेको माँ दुर्गा एग्रिकल्चर एन्ड सप्लायर्सलाई प्रशासनले दुई लाख रुपैयाँ जरिवाना गराएको हो।

प्रशासनले गरेको अनुगमनमा यो पसलबाट १४ बोरा युरिया, २६ बोरा डाई एमोनियम फोस्फेड (डिएपी) र दुई बोरा पोटास बरामदसमेत गरिएको सहायक सिडिओ ध्रुव कोइरालाले जानकारी दिए। सप्लायर्ससँग मल बिक्री र सञ्चय गर्ने अनुमति नभएकाले जरिमाना गराइएको उनको भनाइ छ। कार्यालयको निर्देशन अनुसार सप्लायर्सले सात दिनभित्रमा तोकिएको जरिवाना बुझाउनुुपर्ने प्रावधान छ।

प्रशासनले गत असारमा पनि इलाम बजार र सूर्याेदय नगरपालिकाका एक–एक पसललाई बिनाअनुमति मल बेचेको पाएपछि दुई–दुई लाख रुपैयाँ जरिमाना गराएको थियो।  

प्रकाशित: ३ भाद्र २०८० १२:३५ आइतबार