समाज

धार्मिक गुरु बागेश्वर बाबाले शास्वतधाममा आजदेखि हनुमान कथा प्रवचन गर्ने

धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा)।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कौलीस्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रवचन सुरु हुँदै छ। भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा)ले शास्वतधाममा तीन दिनसम्म हनुमान कथा प्रवचन गर्ने चौधरी ग्रुपका प्रबन्धक रामचन्द्र धितालले बताए।  

बागेश्वर बाबाको नामले चर्चित धीरेन्द्र कृष्ण शास्त्री बिहान ८ः३० बजे काठमाडौँबाट भरतपुर विमानस्थल हुँदै दुम्कौलीस्थित शास्वतधाममा आउने धितालले बर्ताए।

“शास्वतधाममा सोमबारसम्म दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बागेश्वर बाबाले कथा वाचन गर्नुहुने छ”, उनले भने, “हनुमान कथा प्रवचनका लागि अवाश्यक सम्पूर्ण तयारी पूरा भएको छ।” तीन दिनसम्म दैनिक करिब ११ हजारभन्दा धेरैले कथा सुन्ने व्यवस्था मिलाइएको प्रबन्धक धितालले बताए। शास्त्रीको कथा सुन्नका लागि शास्वतधाममा प्रवेशका लागि अनलाइन पासको व्यवस्था गरिएको छ।

शास्वतधामस्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए।

उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको कम्पनी चौधरी ग्रुपले निर्माण गरेको शास्वतधाम मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलोपटक नेपाल आएका हुन्। शास्वतधाम हिन्दू धर्मका सबै देवीदेवताको एकै थलोमा पूजा गर्न सकिने मन्दिरका रुपमा चर्चित छ।  

शास्वतधाम वास्तुशास्त्र अनुसार निर्माण गरिएको रमणीय र आर्कषक शैलीको हिन्दू मन्दिर हो। यहाँ संस्कृत गुरुकुलसमेत सञ्चालन गरी कक्षा ६ देखि ८ सम्म पढाइ सञ्चालन हुँदै आएको छ। आगामीसोमबार शास्त्री चितवनको मेघौलीस्थित होटल ताज सेराइमा रहने र भोलिपल्ट काठमाडौँ हुँदै सोही दिन राति दिल्ली जाने कार्यक्रम तय भएको धितालले बताए।

प्रकाशित: २ भाद्र २०८० ०३:०१ शनिबार

शास्वतधाम बागेश्वर बाबा धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री