समाज

तुइनले जोडियो तातोपानी, फड्के भने लच्कियो

सिन्धुपाल्चोक- आगामनको एकमात्र बिकल्प लार्चा पुल भाँचिएपछि साता लामो नाकाबन्दीमा परेको सीमा नाका तातोपानी तुइनले जोडिएको छ। भोटेकोसी नदीमाथि शनिबार साँझ तुइन राख्ने काम सकिएपछि आइतबार स्थानीय ओहोदोहोर गर्न थालेका छन्।

                तुइनबाट ओहोरदोहोर गरेका स्थानीयले आइतबार दिनभरजसो यसैबाट खाद्यन्न लगायत सामग्री ओसारेका थिए । ‘तुइनले तातोपानी जोडिएपछि नाकाबन्दी हट्यो,’ प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले नागरिकसँग भने, ‘स्थानीय हिँडडुल गर्न थाले।’

                अबिरल बर्षासँगै गत साउन ८ गते राति चट्टाने ढिस्को खस्दा अरनिको राजमार्गको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चाको मोटरेबल पुल भाँचिएको थियो । भाँचिएर दुई टुक्रा भइ झोलिएको पुलको क्षतिग्रस्त संरचना भोटेकोसीले बगाएपछि पर्खाल (स्मान) मात्र बाँकी थियो । सवारी र पैदल यात्राको एक मात्र बिकल्प पुल भाँचिएपछि तातोपानीवासी एक सातासम्म गाउँमै थुनिन बाध्य भए।

                पुल भाँचिएकै स्थानमा बेलिब्रिज हाल्ने काम पनि सँगै भइरहेको प्रजिअ सिलवालले बताए। बेलिब्रिज हाल्न समय लाग्ने भएकाले तत्काल आवागमन सहज बनाउन पुल क्षेत्र नजिकै घटनाको दुई दिनपछि नै फड्के हाल्न थालिएको थियो। नदीको दायाँ–वायाँ जाली गाह्रो लगाइ फलामे पोल तेर्साएर शुक्रबार साँझ फड्के सञ्चालनमा आए पनि त्यसले काम दिएन। सुरक्षाकर्मी र स्थानीयले पाँच दिन समय खर्चेर बनाएको पुल हिँडडुल गर्दा लच्कियो।

                फड्केको यात्रा थप जोखिमपूर्ण भएपछि रातारात तुइन हालिएको हो। ‘आत्यावश्यक काममा हिँडडुल गर्न र सामग्री वारपार गर्न तुइनले केही सुविधा दिने छ,’ प्रजिअ सिलवालले भने। तुइन तत्कालीन साधन भए पनि भरपर्दो विकल्प नभएको भन्दै स्थानीयले तत्काल बेलिब्रिजको काम सक्न माग गरेका छन्। आवागमन केही सहज बनाए पनि तुइनको यात्रा जोखिमपूर्ण हुने उनीहरुको भनाइ छ।

                सिलवालका अनुसार बेलिब्रिज जोड्न मात्र बाँकी छ । बेलिब्रिजका लागि आवश्यक सामग्री धमाधम आइरहेका छन् । यसलाई अन्तिम रुप दिन सडक विभाग लागेको छ। ‘सामग्री आइसकेपछि केही दिनभित्रै जोड्ने काम सकेर बेलिब्रिज सञ्चालनमा आउँछ,’ उनले भने । घटनाको चार दिनपछि सरकारका तर्फबाट पहिलो पटक अवलोकन गर्न लार्चा आएका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले तत्काल भोटेकोसीमा फड्के वा तुइन हालेर आवागमन सहज बनाउन अधिकारीहरुलाई निर्देशन दिएका थिए ।

                २०३९ मा भोटेकोसी नदीमा आएको बाढीले लार्चा पुल बगाएपछि सोही स्थानमा अर्को पुल बनाएको थियो ।  २०५३ मा लार्चा क्षेत्रमा गएको पहिरोले उक्त पुल बगाएपछि सोही ठाउँमा चीनले ९० मिटर लामो मोटरेबल पुल बनाइ दिएको थियो । दुई साताअघि सोही पुल ढिस्कोले तेस्रो पटक भाँचिदिएको हो ।

               

प्रकाशित: १५ श्रावण २०७४ १४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App