समाज

बालविवाह रोक्न प्रहरीको बढ्दो सक्रियता

चरिकोट –  बढ्दै गएको बालविवाहलाई रोक्न दोलखा प्रहरी कडाइका साथ कानून कार्यान्वयनमा लागिपरेको छ । यो सातामात्रै जिल्ला प्रहरी कार्यालय दोलखाले दुईवटा बालविवाह रोकेको छ। 

दोलखाको बैतश्वर गाउँपालिका–६ मा भएका एक बालविवाह प्रहरीकै सक्रियतामा रोकिएको हो भने अर्को भीमेश्वर नगरपालिका–९ स्थित लाँकुरीडाँडामा भएको बालविवाह रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरीले भीमेश्वर नगरपालिका–९ मा १९ वर्षिय पारस थामीले १३ वर्र्षीया एक किशोरीलाई मागी विवाह गरेको अवस्थामा गाउँभन्दा दुईघण्टा परको जंगलको ओढारबाट पक्राउ गरेको छ। 

त्यस्तै बैतेश्वर गाउँपालिका–६ मा २२ वर्षीय समुन खड्काले जिरेल थरकी १५ वर्षीय किशोरीलाई विवाह गर्न मानसिक दबाब दिएपछि हुन लागेको जबरर्जस्ती बालविवाह रोकिएको छ। 

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार सामाजिक संस्कार र चेतनाका कमीले कम उमेरमा हुने विवाह रोक्न प्रहरीले सक्रियता बढाएको बताए। जनजाति र दलित समुदायमा धेरैजसो बालविवाह हुने गरेको बाल अधिकारकर्मीको भनाइ छ। 

बढ्दो सूचना प्रविधि र सामाजिक विकृतिका कारण पनि विवाह हुने गरेको छ । अशिक्षा, सामाजिक संस्कार र साथीभाइको लहैलहैमा बालविवाह हुने गरेको बाल अधिकारकर्मी राजन बस्नेत बताउँछन्। कम उमेरमा विवाह गर्दा पुण्य प्राप्त हुने सामाजिक संस्कारले गर्दा थामी समुदायका बालबालिकालाई आमा बुबाले नैै विवाह गराउन बाध्य पार्ने शिक्षक बलबहादुर थामी बताउँछन्। रासस 

प्रकाशित: ११ श्रावण २०७४ ०९:३२ बुधबार

बालविवाह रोक्न प्रहरीको बढ्दो सक्रियता