समाज

कैदी भागेपछि सुधारिएको कारागार

कैदी–बन्दीमाथि हुने गरेको आर्थिक शोषण र ‘विकृति’ का कारण देशभरका कारागारको व्यवस्थापन आलोचित भइरहेका बेला इलाम कारागार भने अनुकरणीय बन्दैछ। जिल्ला प्रशासन कार्यालयले नयाँ अवधारणासहित ‘कारागार सुधार मार्गचित्र’ लागु गरेपछि कारागार कैदी–बन्दीका लागि सहजमात्र भएको छैन, यो प्रयासले देशैभर तरंग ल्याइदिएको छ।

प्रशासनले विशेषगरी कैदी–बन्दीमाथि दैनिक उपभोग्य सामग्रीमा भइरहेको आर्थिक शोषण अन्त्य र उनीहरूले राज्यबाट पाउने सेवा–सुविधा ‘ह्यान्ड टु ह्यान्ड’ बनाइदिएपछि कारागार सुधारको बाटोमा गएको हो। कारागारमा आर्थिक शोषण गरेको आरोप लाग्ने गरेका चौकीदार, नाइके र सहनाइकेको भूमिकासमेत अब फिक्का हुँदै गएको छ।

प्रशासनले कारागारभित्र सहकारी अवधारणाको पसल खोलिदिएको छ। कारागारभित्रैको पसलमा बजारकै मूल्यमा खाद्यान्न र अन्य उपभोग्य सामान किन्न पाइन्छ। ‘यो सहकारी पसल नहुँदा हामीले चौकीदार, नाइकेलगायतमार्फत् उपभोग्य सामान किन्नुपथ्र्याे, पाँच गुणासम्म महँगो थियो,’ एक कैदीले भने, ‘अहिले बजारकै मूल्यमा सामान पाइन्छ, ठूलो आर्थिक शोषणबाट बचिएको छ।’

पसल सञ्चालनका लागि कैदी–बन्दीकै ११ जनाको समिति बनाइएको छ। समितिले पसल, क्यान्टिन सञ्चालन गरेको छ भने यहाँबाट विक्री गरिने सामानको मूल्यसमेत यही समितिले निर्धारण गरेको छ। कारागार प्रमुख सुमित मगर कारागारभित्रको सहकारी अवधारणाको पसलमा सबै सामानको मूल्य पारदर्शी रहेको बताउँछन्। ‘पसलमै मूल्यसूची राखिएको छ, यो पसल सञ्चालन भएपछि कैदी–बन्दीले उचित मूल्यमा उपभोग्य सामग्री पाएका छन्,’ उनले भने, ‘पसलमा कुनै सामान अभाव छैन। यही पसलअन्तर्गतको क्यान्टिनमा विक्री गरिने चिया, नास्ता र खानालगायतको समेत मूल्य निर्धारण गरिएको छ।’

जब इलाम कारागारमा स्थानीय प्रशासनले सुधारको खाका ल्यायो– यसको सूचना पाएपछि कारागार व्यवस्था विभागले समेत साउन १० मा देशभरका सबै कारागारलाई यही अवधारणामा सुधार गर्न निर्देशन दिएको छ। ‘हामीले थालेको प्रयास निकै प्रभावकारी बनेपछि विभागले समेत त्यसैलाई देशभर सञ्चार गरी परिपत्र गरेको छ,’ सिडिओ श्रवणकुमार पोख्रेल भन्छन्, ‘चाहने हो भने कारागारलाई सुधारगृह बनाउन सकिनेरहेछ, अझै धेरै ठाउँमा सुधार्न सकिन्छ, विभागले समेत हाम्रो कामको सिकाइ गरेकामा गर्व अनुभूत भएको छ।’  

यसरी सुधारियो कारागार

चैत तेस्रो साता इलाम कारागारका एक कैदी जेलको पर्खाल नाघेर भागे। भोलिपल्ट उनलाई प्रहरीले फेला पा¥यो र नियन्त्रणमा लियो। जब ती कैदीले आफू भाग्नुको ‘रहस्य’ खोले, त्यसले प्रशासनलाई कारागार व्यवस्थापन सुधार्न आँखा खोलिदियो। फागुन दोस्रो साता यही कारागारमा मदिरा पिइरहेको र तास खेलिरहेको सार्वजनिक भिडियोबारे भर्खरै अध्ययन गरी सुधारको योजना बनाइरहेको प्रशासनलाई ‘भगुवा’ कैदीको त्यो बयानले अझ चनाखो बनाइदियो।    

कारागारभित्र चौकीदार, नाइके, सहनाइकेलगायतबाट चरम आर्थिक शोषण भइरहेको हुन्छ। तर, हत्तपत्त कोही कैदी–बन्दी त्यसबारे बोल्दैनन्। किनकि, उनीहरू बोल्यो भने भरे राति आफूमाथि अझ ‘खतरा’ आइलाग्छ भनेर डराउँछन्। तर, ती भगुवा कैदीले सुरक्षाकर्मीलाई बयान दिए– ‘जेलभित्र भइरहेको चरम आर्थिक शोषणले म अहिले पनि मरेकै अवस्थामा छु, यहाँबाट भाग्दा सुरक्षाकर्मीले देखिहाले भने गोली हानेर मार्ने नै होलान्, त्यसैले यहाँ बसेपनि भागेपनि आखिर म मर्ने नै हुँ भन्ने लागेर भाग्ने आँट गरें।’

उनको बयान सुनेपछि सिडिओ पोख्रेलले कारागार सुधार्ने ठोस योजनालाई मूर्तरूप दिए। उनले कैदी–बन्दी र स्थानीय सहकारीसँग समन्वय गरी कारागारभित्र सहकारी पसलको अवधारणा बनाए। सुरक्षाकर्मी, कारागार प्रशासन र कैदी–बन्दीलगायत सरोकारवालासँग पटक–पटक छलफल गरे। उनको प्रस्तावलाई सबैले स्वीकारेपछि कारागारभित्रै सहकारी अवधारणाको पसल सञ्चालनमा आयो। ‘कैदी–बन्दीकै समूहले सञ्चालन गर्ने गैरनाफामूलक पसलमा सबैखाले सामानको भाउ निश्चित गरिएको छ, उनीहरूले बजारकै भाउमा सामान्य ढुवानी खर्च जोडेर आफैं मूल्य निर्धारण गरेका छन्,’ सिडिओ पोख्रेलले भने, ‘अब कैदी–बन्दीले कसैलाई सामान किन्न बजार पठाउनुपर्दैन, चौकीदार, नाइकेलगायतलाई पाँचगुणा नाफा दिनुपर्दैन अब।’  

प्रशासनले कारागारमा सुधार गरेको अर्काे पाटो हो–कैदी–बन्दीले राज्यबाट पाउने सिदा (सुविधा)। कैदी–बन्दीलाई सरकारले दिनको ८० रुपैयाँ भत्ता र सात सय ग्राम चामल दिन्छ। त्यसबाहेक शरीरमा लगाउने र ओढ्ने–ओछ्याउने कपडाको खर्च वर्षमा दुई पटक दिइन्छ। चामल–भत्ता चाहिँ १५÷१५ दिनमा वितरण गरिन्छ। यी सुविधा पनि कारागारले चौकीदार, नाइकेहरूमार्फत् नै कैदी–बन्दीलाई दिनेगरेको थियो।  

यसो गर्दा चौकीदार, नाइकेले वास्तविक सुविधा कैदी–बन्दीसम्मै नपु¥याइ आफूखुसी दिनेगरेका थिए। तर, प्रशासनले यो सुविधा अहिले कारागारका कर्मचारीमार्फत् सोझै कैदी–बन्दीलाई वितरण गर्ने र त्यसको फोटो–भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने, जिल्ला प्रशासनमा समेत पठाउने व्यवस्था गरेको छ। ‘पहिला कैदी–बन्दीलाई चौकीदार, नाइकेमार्फत् नै चामल, भत्तालगायत सुविधा दिइन्थ्यो,’ कारागार प्रमुख मगरले भने, ‘अहिले हामीले सोझै उनीहरूलाई नगद र सामान दिन्छौं। हामीले सामान र नगद दिँदा कतिपय कैदी–बन्दी त यत्रो धेरै पो पाइन्थ्यो भनेर छक्क परे। हर्षितसमेत भए।’

कैदी–बन्दीको सन्तुष्टि

कहिलेकाहीं खानेपानी अपुग हुने गरेपनि कारागारको मुख्य समस्या समाधान भएपछि कैदी–बन्दीले खुसी व्यक्त गरेका छन्। अन्यत्रका कारागारबाट सरुवा आएका कैदी–बन्दी पनि यहाँको कारागारमा बस्न पाउँदा सन्तुष्ट देखिएका छन्। आठ वर्षयता कारागारमा रहेकी रञ्जिता बिकले कारागारमा निकै सुधार भएको बताइन्। ‘पहिला धेरैथोकमा कडाइ थियो, सामानको मूल्य पनि बढी थियो, कारगार प्रशासनले पनि हाम्रो खासै वास्ता नगरेको जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले सबैथोक सुुध्रिएको छ, हामी अब महँगीको मारमा पनि छैनौं। बाहिरबाटै सामान ल्याउँदा पनि महँगो पर्दैन। ठूलो राहत मिलेको छ।’  

झापामा साढे तीन वर्ष र वीरगञ्ज कारागारमा सात महिना बसेर पाँच महिनाअघि सरुवा आएकी अर्की कैदीले ती ठाउँभन्दा इलाम कारागार सुविधासम्पन्न भएको प्रतिक्रिया दिइन्। ‘यहाँ बस्न कुनै समस्या छैन,’ उनले भनिन्, ‘सुधार नै गर्ने हो भने झापा र अरू कारागार सुधार्नु नितान्त जरुरी छ, ती जिल्लाका कैदी–बन्दीमाथि जेलभित्रै ठूलो अन्याय भइरहेको छ, महँगी आकाशिएको छ। र, शारीरिक यातनासमेत दिइन्छ त्यहाँ। इलाममा चाहिँ राम्रो व्यवस्थापन छ।’ विराटनगरै घर भएकी अर्की कैदीले आफूलाई विराटनगर कारागारबाट यहाँ आउँदा घरै आएजस्तो लागेको सुनाइन्। ‘यहाँ अब हामीलाई केही अभाव छैन,’ उनले सुनाइन्, ‘यो त जेलजस्तो पनि लाग्दैन, घरैजस्तो पो हुनथाल्यो।’ महिलातर्फ २० जनाको क्षमता रहेको कारागारमा अहिले १६ कैदी–बन्दी छन्।  

नौ वर्षयता इलाम कारागारमै रहेका एक युवकले प्रशासनको पहलमा सहकारी अवधारणाको पसल स्थापना भएपछि आफूहरू अन्यायबाट मुक्त भएको बताए। ‘हामी त जसले जति रुपैयाँमा बेच्यो, त्यति नै मूल्य तिरेर सामान किन्न बाध्य थियौं, हाम्रो गुनासो सुनिदिनेसम्म कोही थिएन,’ उनले भने, ‘अहिले सबै परिवर्तन भएको छ, हामीले राज्यबाट पाउने सुविधासमेत यति हुँदोरहेछ भन्ने भर्खरैमात्र थाहा पायौं र वास्तविक सुविधा पनि पायौं, यसअघिसम्म जति दिन्छन्, त्यतिमै चित्त बुझाउन बाध्य थियौं।’  

गत कात्तिकदेखि कारागार बसेका धनसिंह फागोले कारागारको अवस्था सुध्रिएको बताए। ‘प्रशासनको पहलमा जेलको धेरैथोक सुधार भएको छ,’ उनले भने, ‘राज्यले दिने सुविधा पनि सरकारी कर्मचारीबाटै पाउँदा ढुक्क हुँदोरहेछ।’ अर्का कैदी युवकले कारागारभित्र खेलकुदको व्यवस्थापन चाहिँ आवश्यक रहेको बताए।  

पुरुषपट्टिको कारागारमा सय जनाको क्षमता रहेपनि अहिले दुई सय ५० कैदी–बन्दी छन्। क्षमताभन्दा बढी नै कैदी–बन्दी रहेपनि खाने–बस्ने, सुत्ने कुनै पनि काममा ठूलो समस्या भने नभएको कारागार प्रमुख मगर बताउँछन्। ‘कारागार सुधार मार्गचित्रले ठूलो सुधार गरेको छ,’ उनले भने, ‘हामी त्यसको पूर्ण कार्यान्वयन गर्दैछौं।’  

कारागारका चौकीदार राज सुवेदीले कुनै पनि जेलमा कैदी–बन्दीसम्म पुग्ने उपभोग्य वस्तुको मूल्य महँगो हुनुमा चौकीदार, नाइके, सहनाइकेको मात्रै कमजोरी नहुने बताए। ‘बाहिरबाट ल्याउने सामानको मूल्य आकासिनुका पछाडि चौकीदार, नाइके, सहनाइकेको मात्रै हात हुँदैन, निकै माथिल्लो तहसम्मको लाइन हुन्छ यसमा,’ आठ वर्षदेखि कारागारमै रहेका उनले खुलाए, ‘तर, ढिलै भएपनि इलाम कारागारमा चाहिँ सुधार भएको छ, हामी सबै खुसी छौं।’  

प्रकाशित: ३० श्रावण २०८० ०८:१३ मंगलबार

इलाम कारागार