समाज

दोलखामा पहिरोमा परी चार जना बेपत्ता, तीनको उद्धार

फाइल तस्बिर

दोलखाको गौरीशंकर गाउँपालिका–७* मा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन्। बिहिबार साँझ गएको पहिरोमा परेर दुई घरका चार जना बेपत्ता भएको वडा ८ का अध्यक्ष दावा शेर्पाले जानकारी दिए। त्यस्तै पहिरोमा पुरिएका तीन जनाको उद्धार गरिएको वडाअध्यक्ष शेर्पाले नागरिकन्यूजलाई बताए। 

वडा नं ८ को सल्ले भन्ने ठाउँमा गएको पहिरोमा परेर १६ घर जोखिममा छन् भने ६ घर बगाएको छ। सल्लेको पहिरोले केही तल रहेको वडा ७ काे टोपाटार गाउँमा पनि ३ घर पुरिएको उनको भनाइ छ। पहिराेमा बेपत्ता र उद्धार गरिएकाकाे परिचय खुल्न सकेकाे छैन।

घटनास्थलमा अहिले प्रहरी र स्थानीयले उद्धारको कार्य गरिरहेका छन्। 'हिजो दिनभरी सल्ले भन्ने ठाउँमा मात्र मुसलधारे पानी पर्यो। एकदम ठुलो पानी परेकोले साँझ देखि पहिरो जान थालेको स्थानीयले भनेका छन्', वडा अध्यक्ष शेर्पाले भने,  'त्यो गाउँ दुर्गम छ। हामी जाँदै छौं अझै डेढ दुई घन्टा हिड्नु पर्छ। केही प्रहरी पुग्नु भएको खबर छ। हामी पनि जाँदै छौं। '

दुर्गम भएकाले पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकी छ। बाढीले स्थानीय खारेको खोलाको एक झोलुंगे पुल समेत बगाएको छ। झोलुङ्गे पुल बगाउँदा आवात जावतमा समस्या भएकाे वडा अध्यक्ष शेर्पाले बताए।

*सच्याइएकाेः वडा ८ काे पहिराेले वडा ७ काे घर पुर्दा ४ जना बेपत्ता भएकाे।

प्रकाशित: १९ श्रावण २०८० ०३:०४ शुक्रबार

चार जना बेपत्ता दोल खाको गौरीशंकर गाउँपालिका