समाज

हतुवागढीमा दिमालुङ स्मारक उद्यान

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ। किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा यहाँ स्मारक उद्यान निर्माण गरिएको हो।

किरात राईको आस्थाको केन्द्रको रूपमा रहेको वडा नं २ र ३ मा पर्ने सो स्थानमा कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय, भवन तथा शहरी विकास कार्यालय धनकुटाको दुई करोड आठ लाख रुपैयाँ र गाउँपालिकाको पाँच लाख रुपैयाँ उद्यान निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए। आर्थिक वर्ष २०७४/७५ मा निर्माण थालिएको गरिएको पार्कलाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

‘किरात संस्कृतिको संरक्षणसँगै यसलाई पर्यटनसँग जोडेका छौं। यसबाट संस्कृतिको संरक्षणसँगै यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ’, अध्यक्ष राईले भने।

यो ठाउँ गाउँपालिकाले निर्माण गरिरहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्गको अन्तिम विन्दुको रूपमा रहेको छ। यो स्थानमा पर्यटकलाई लक्षित गरेर किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिका छन्।

यहाँ रहेको किरात राईको इतिहास बोकेको विशेष खालको दिमालुङ ढुंगाको संरक्षण गर्दै उद्यान निर्माण गरिएको हो।राई भाषामा ‘दिमा’ भनेको बोजु र ‘लुङ’ भनेको ढुंगा हो। त्यसैले उद्यानको नाम दिमालुङ राखिएको हो। किरात समुदायले वर्षमा दुई पटक यस क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन्। दिमालुङ उद्यानको आवश्यक व्यवस्थापनका लागि प्रदेश सरकारको २५ लाख रुपैयाँ र गाउँपालिकाको सात लाख रुपैयाँमा थप काम गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए।  

प्रकाशित: ११ श्रावण २०८० ०४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App