समाज

क्युनेट जालोमा बैंकर्स पनि

काठमाडौं- एनआइसी एसिया बैंकका लोन अफिसर सुमित मानन्धर अहिले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। उनी हिरासतमा पुग्नुको कारण हो अवैध नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको अभियोग।

क्युनेट नामको सञ्जालमार्फत पिरामिड शैलीको नेटवर्किङ व्यवसाय चलाएको अभियोगमा ब्युरोले उनलाई आइतबार पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेको छ । सुमितसँगै ब्युरोको हिरासतमा रहेका क्षितिज पौडेल जनता बैंकका असिस्टेन्ट हुन् । उनीमाथिको अभियोग पनि ठगी नै हो ।

क्यु नेटमार्फत पिरामिड शैलीको नेटवर्किङ व्यवसायमा संलग्न भएको अभियोगमा नियन्त्रणमा लिइएका १ सय २ मध्ये हिरासतमा रहेका १४ जना सुमित र क्षितिजझैं राम्रो व्यवसायमा संलग्न देखिए । कोही ब्यांकर देखिए, कोही चिकित्सक त कोही अन्तर्राष्ट्रिय संस्थामा कार्यरत कर्मचारी समेत भेटिए ।

हिरासतमा रहेकी सृजना सिंह चिकित्सक हुन् । किरण जोशी सेफ द चिल्ड्रेनका म्यानेजर हुन्। ब्युरोको विवरणअनुसार नरेश मल्ल भायोनेटमा कार्यरत कर्मचारी हुन् । विकल्प श्रेष्ठ इन्जिनियर हुन् । सुमित श्रेष्ठ, प्रकृति बुढाथोकी र श्वेता बस्नेत चार्टर्ड अकाउन्टेन्ट हुन् भने सौरभ गोयन्का एमबिए गरेर सामान खरिदबिक्रीमा संलग्न थिए ।

प्रमेश मानन्धर लाजिम्पाटमा रहेको ब्लिंक क्याफेमा आबद्ध देखिएका छन् । नेटवर्क विस्तार गर्न, सदस्यता शुल्क लिनेलगायतका काममा सो क्याफेसमेत प्रयोग हुने गरेको ब्युरोको अनुसन्धानमा खुलेको छ ।

५४ अनुसन्धानको दायरामा, ४६ पीडित

प्रहरीले बानेश्वरको सिद्धार्थ फुडल्यान्डमा छापा मारेर नियन्त्रणमा लिइएकामध्ये सदस्य बनाएको संख्या र क्यु नेटको जालो फैलाउन सक्रिय रहेको आधारमा १४ जनालाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ । ब्युरोको हिरासतमा रहेका गोल्डेन क्वाइन पाइसकेका हुन् ।

ब्युरोकी प्रवक्ता मिरा चौधरीका अनुसार अन्यलाई हाजिर जमानीमा राखिएको छ । हाजिर जमानीमा भएकालाई पनि सदस्यमात्र बनेको र सदस्य बनाएको गरी २ वटा सूचीमा राखेर अनुसन्धान अगाडि बढाउने ब्युरोको तयारी छ ।

चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानमा हाजिर जमानीमा रहेकामध्ये ४६ जना सदस्य बने पनि उनीहरुले सदस्य नबनाएको खुलेको छ भने ४० जनाले सदस्य बनाएको देखिएको छ ।

अझै फरार छन् मुख्य नाइके

स्रोतका अनुसार नेपालमा डेढ वर्षअगाडि क्युनेट प्रवेश गराउने र सदस्य विस्तार गराउने मुख्य केही व्यक्ति फरार छन् । फरार हुनेमा बैंकर्स र चार्टर्ड एकाउन्टेन्टको संख्या बढी छ । केही नेपालमै छन् भने केही मलेसिया पुगेको ब्युरो स्रोतले जानकारी दियो ।

प्रहरीले आइतबार छापा हान्दासम्म उनीहरु फेसबुकलगायतका सामाजिक सञ्जालमा सक्रिय थिए । प्रहरीले पक्राउ गरेको समाचार सार्वजनिक भएसँगै उनीहरुले सामाजिक सञ्जालमा रहेका आफ्ना विवरण निष्क्रिय बनाएका छन् ।

‘अहिले हामी पक्राउ परेकाको संलग्नताकै अनुसन्धानमा केन्द्रित छौ,’ चौधरीले भनिन्, ‘अनुसन्धानमा अन्य व्यक्ति खुलेमा उनीहरुको भूमिकाका आधारमा खोजी सुरु गछौं ।’

क्युनेटले निष्क्रिय बनायो वेबसाइट

क्युनेटले वेबसाइटमार्फत सबै काम गर्ने भएकाले प्रहरीले अनुसन्धानमा तथ्य र विवरण संकलनका लागि क्युनेटडटनेटलाई नै आधार बनाएको छ । ३ हजार ५ सय अमेरिकी डलर शुल्क तिरेर सदस्य बनेपछि वेबसाइटमा प्रवेश गर्न पासवर्ड दिने र सदस्य बनाएबापतको विवरण तथा कमिसनसमेत वेबसाइटमै रहने भएकाले पक्राउ परेकाको गतिविधिबारे सूचना संकलनमा प्रहरी वेबकै भर परेको थियो ।

क्युनेटका सदस्य पक्राउ परेपछि हङकङमा रहेको मुख्य कार्यालयले नेपालको आइपीबाट मूल साइट खोल्न नमिल्ने बनाएको छ ।

प्रकाशित: ३१ जेष्ठ २०७४ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App