समाज

दार्जिलिङमा प्रहरी-मोर्चा कार्यकर्ताबीच झडप

इलाम- चिया मजदुरले आह्वान गरेको १२ घन्टे बन्दको समर्थन गर्दै जुलुसमा निस्किएका गोर्खा जनमुक्ति मोर्चा (गोजमो)का कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। मजदुरको आन्दोलनको दोस्रो दिन मंगलबार दार्जिलिङसहित पहाडी क्षेत्र बन्दको आह्वान गरिएको थियो।

जोइन्ट फोरमले आयोजना गरेको बन्दको समर्थनमा गोजमोले दिउँसो जुलुस निकालेपछि प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्दा लाठीचार्ज भएको हो। झडपका कारण दार्जिलिङ पुनः तनावग्रस्त बनेको छ। स्थानीय मोटर स्ट्यान्डबाट जुलुस सुरु भइ बजार परिक्रमा गरेर पुनः त्यही स्थानमा आइपुगेपछि प्रहरीले लाठीचार्ज गरेको मोर्चा नेताले बताएका छन्। मोर्चासहितका केही दलले बन्दको समर्थन गरेका छन्।

मजदुरको न्यूनतम् पारिश्रमिक र सेवा–सुविधा माग गर्दै फोरमले आह्वान गरेको बन्दले बिहानैदेखि दार्जिलिङ सुनसान छ। विद्यालय, सवारी साधन, पसललगायत सबै बन्द छन्। फोरमले सोमबार यहाँका सबै चिया बगान बन्द गराएको थियो। मंगलबार दार्जिलिङसहित कालेबुङ, कुचबिहार, जलपाइगुडी, अलिपुरद्वार र उत्तरदिनाजपुर जिल्लामा आमहड्ताल आह्वान गरेपछि जनजीवन प्रभावित बनेको हो।

यसैबीच, प्रहरीले रेलिङ–कैजले समष्टी सभासद् सतिश पोख्रेललाई सोमबार राति उनको घरबाटै नियन्त्रणमा लिएको छ। उनलाई पक्राउ गर्नुको कारण खुलिसकेको छैन। सोमबार राति नै प्रहरीले गोजमोका थप ३ समर्थक पनि पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। पक्राउ पर्नेमा लोकेश थापा, राजेश प्रधान र मिलन थापा रहेको गोजमोले जनाएको छ। दार्जिलिङमा भएका सवारी साधन तोडफोड, आगजनी, प्रहरीमाथि ढुंगा–मुढा गरेकोजस्ता आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। तर, गोजमोले भने आफूहरूको भाषा आन्दोलन हिंसात्मक नभई शान्तिपूर्ण रहेको जनाएको छ। गोजमो महासचिव रोशन गिरीले भने, ‘हामीले हिंसात्मक आन्दोलन गरेका होइनौं, मोर्चाको बद्नाम गर्न कसैले हिंसात्मक घटना गराएको हुनसक्छ।'

विद्यालयको पाठ्यक्रममा बंगाली भाषा अनिवार्य गर्ने घोषणापछि करिब ३ सातायता दार्जिलिङलगायतका पहाडी क्षेत्रको अवस्था दिनहुँ तनावपूर्ण बनिरहेको छ। नेपालीभाषीको नेतृत्वकर्ता गोजमाले आन्दोलनको नेतृत्व गरेको छ। भाषाकै विषयमा दार्जिलिङ, खर्साङ, कालिम्पोङ र मिरिक क्षेत्रमा आन्दोलन भइरहेका छन्। आन्दोलनक्रममा प्रहरीले मंगलबारसम्म ११ जनालाई नियन्त्रणमा लिइसकेको छ।

प्रकाशित: ३० जेष्ठ २०७४ ०८:१५ मंगलबार

दार्जिलिङमा प्रहरी-मोर्चा कार्यकर्ताबीच झडप