समाज

सवारीको ठक्करबाट बन्यजन्तुको मृत्युहुने क्रम बढ्दो

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै पूर्व पश्चिम राजमार्ग भएर तिब्र गतिमा चल्ने सवारी साधनको ठक्करवाट दुर्लभ वन्यजन्तु मृत्यु हुने क्रम बढेको छ।

सवारी साधनको ठक्कर वाट यस वर्षमा ८० वटा संरक्षित वन्यजन्तुको ज्यान गएको निकुञ्जमा तथ्याकं छ।

निकुञ्जमा टाईम कार्ड लागु गरेपनि तिब्र गतिमा हुइकाउँने सवारी साधनले ठक्कर बाट वन्यजन्तुको ज्यान जाने गरेको संरक्षण अधिकृत रमेश थापाले बताए।

‘यसको रोकथामको लागी टाईम कार्ड लागु गरेको छ’उनले भने,‘त्यति गर्दा पनि दुर्घटना बढ्दो छ। ’उनका अनुसार सवारी साधनले ठक्कर दिएर वन्यजन्तु मार्ने क्रम बृद्धि भए पछि निकुञ्जले कर्णाली अम्रनी खण्डमा दुई र सैनावार रम्भापुर खण्डमा गरी थप चार वटा जाँच चौकी थप गरेको छ।

जेठ ८ गते बिहान ५.४५ बजे नेपालगञ्जबाट कर्णाली चिसापानी हिंडेको बा १३ च १८१९ नंबरको महिन्द्रा कारमा ठोक्किएर घाईते भएको चित्ताल विपरित दिशाबाट आईरहेको ना ४ ख ३०२६ नंबरको ट्रकमा कुल्चिएर मरेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने पूर्व पश्चिम राजमार्गमा चित्तललाइ ठक्कर दिई मारेको आरोपमा सवारी साधन सहित निकुन्जले नियन्त्रणमा लिएको थियो । कार र ट्रक जफत गर्ने गरी मुद्दा चलाइएको निकुञ्जले जनाएको छ । कारका चालक रुपन्देहि खैरेनीका रेख बहादुर गुरुङ्ग र ट्रकका चालक महेन्द्रनगर कञ्चनपुरका दिनेश ठगुन्नालाई निकुञ्जले धरौटीमा छाडेको छ । पुस ६ गते राती बसको ठक्करबाट बयस्क भाले पाटे बाघ मरेको थियो । निकुञ्जले चालकको लापरवाहीले भएको दुर्घटनामा ऐन अनुसार कारबाही अघि बढाएपनि नियन्त्रण हुन नसकेको निकुञ्ज प्रशासनको भनाई छ।

यस बर्ष मात्र राजमार्ग दुर्घटनामा ८० भन्दा बढि वन्यजन्तु मारिएको निकुञ्जको ले जनाएको छ। वन्यजन्तुसँगै राजमार्ग मानवीय जोखिम पनि उत्तिकै छ । माघ ८ गते जरायोसंग ठोक्किएर मोटरसाइकल चालक टिकापुर निवासी बिष्णु भक्त रावलको मृत्यु भएको थियो। निकुञ्ज भित्र मानिस र बन्यजन्तु दुबैको जोखिम बढेपछि स्पिड नियन्त्रण र चेकजाँच बढाएको निकुञ्जले जनाएको छ।

प्रकाशित: २३ जेष्ठ २०७४ ११:५४ मंगलबार

सवारीको ठक्करबाट बन्यजन्तुको मृत्युहुने क्रम बढ्दो