सुर्खेतको भेरीगंगा नगरपालिका –१३ रामघाट (भगवती टोल)की ५८ वर्षिया पार्वती रावतलाई यतिखेर बगैँचामा लगाएको आँप बिक्री गर्न भ्याई नभ्याई छ। आँप फलेपछि बिक्री गर्न र नफलेको बेला आँपको बोट हेरचाह (गोडमेल, मल हाल्ने र चाहर्ने) गर्न व्यस्त हुन्छिन्। घरको मुख्य आम्दानी आँप भएपछि उनको ध्यान नै आँप हेरचाहमा हुने गरेको छ। केही पशुचौपाय र बाख्रा पालेकी उनले प्रायः बारीमा आँप नै लगाएकी छिन्।
आँपको सिजन आउन थालेसँगै रावत आँप बिक्री गर्न र हिसाब राख्न व्यस्त हुने गर्दछिन्। व्यापारीहरू आँप बगैँचामै आँप किन्न आउँछन्। जसले गर्दा किसानहरूलाई आँप बिक्री गर्न सजिलो भएको छ। आँपको सिजन अहिले अन्तिम चरणमा पुगेकाे छ। उनको घर वरिपरि पुरै आँपको बगैँचाले लटरम्म ढाँकेको छ। २ विगाह क्षेत्रफलमा २०५१ सालमा लगाएको आँपको बोटले अँझै आम्दानी दिईरहेको छ। लगाएको तिन वर्षबाट आँप फल्न थालेको थियो। तर, आँपको बोट भाँच्ने भएकाले सुरुका वर्षहरूमा आँप टिपेर फालेका थिए। पहिलो वर्ष १ सय वटा बोट लगाएर व्यवसाय सुरु गरेकी रावतले फेरी ५० बोट लगाएकी थिइन्। ती बोटहरु हुर्कर्दैछन्। ५९ सालबाट आँप बेच्न थालेकी रावतले सुरुका वर्षहरूमा १५/२० हजार हुँदै ६० हजारदेखि १ लाखसम्म आम्दानी लिइन्।
यो वर्ष आँप राम्रो फलेकाले ६ लाखसम्म आम्दानी लिएको किसान पार्वती रावतले बताईन्। ‘कुनै वर्ष आँप राम्रो फल्छ आम्दानी पनि हुन्छ।’ किसान रावतले भनिन्. ‘कुनै वर्ष कम आँप फल्ने भएकाले आम्दानी कम हुन्छ।’ व्यापारीहरू बोटमै आँप किन्न आउने गरेपछि उनलाई आँप लिएर बजार जानुपर्दैन। ‘घरमै आँप लिने व्यापारी आउँछन्।’ रावतले थपिन् ः सुरुका दिनहरू २०६०/०६१ सालतिर आँप बेच्न गाह्रो हुन्थ्यो। अहिले टाढा टाढाबाट व्यापारीहरू घरमै आउँछन्।’ उनको घरमा अहिले ३ जना छन्। पार्वतीजस्तै रामघाट क्षेत्रमा आँप उत्पादन गर्ने किसानहरू धेरै छन्। रामघाट सुर्खेतकै बढी आँप उत्पादन हुने क्षेत्रका रुपमा चिनिँदै आएको छ। रामघाटको आँप कर्णालीमै प्रख्यात छ। बोटमै प्रतिकेजी ४० रुपैँयादेखी ५० रुपैयाँसम्म आँप बिक्री हुने गरेको छ।
प्रकाशित: २९ असार २०८० १३:०५ शुक्रबार