समाज

नहरले बगाउँदा १ जना बेपत्ता, १ जनाको उद्धार

बुधवार साँझमा जहदाको नहरले बगाउँदा १ जना बेपत्ता भएका छन्। नहरले बगाउँदै गर्दा १ जनालाई उद्धार गरिएको छ। 

मोरङको जहदा गाउँपालिका–३ मा रहेको नहरमा पौडी खेल्दै गर्दा भारतको विहार सिनुवारी घर भई जहदामा रहेको मामा घरमा बस्दै आएका २० वर्षीय गणित राजवंशीलाई बगाउँदा बेपत्ता भएका छन्। सँगै पौडी खेल्दै गरेका जहदा–३ कै १८ वर्षीय दीपेश राजवंशीलाई उद्धार गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

दुवै जनालाई नहरले बगाएपछि खोजतलास गर्ने क्रममा प्रहरी चौकी मझारेका प्रहरी र स्थानीयले दीपेशलाई सकुशल उद्धार गरेका थिए। बेपत्ता भएका गणित हालसम्म फेला परेका छैनन्। उनको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २८ असार २०८० ०८:३९ बिहीबार

नहरले बगाउँदा १ जना बेपत्ता १ जनाको उद्धार