समाज

मर्मत नसकिँदै भत्कियो मेची राजमार्ग

इलाम धोबिधारा–कुलधाराबीचमा भर्खरै मर्मत गरिएपछि भत्केको मेची राजमार्ग। तस्बिर: भीम-नागरिक

मोटो रकम खर्चेर गरेको मर्मतको २ महिना नबित्दै मेची राजमार्ग भत्किन थालेको छ । फिक्कलदेखि बिब्ल्याँटेसम्मको राजमार्गका दर्जनौं स्थानमा मर्मत गरेकै गाउँमा खाडल परेर दुर्घटनाको जोखिम बढेको हो।  

डिभिजन सडक कार्यालयले ठेक्का लगाएको माइखोला–बिब्ल्याँटे र माइखोला–फिक्कल खण्डमा राजमार्ग खाडल पर्न थालेको हो। माइखोला–बिब्ल्याँटे खण्डमा पर्ने इलाम बजारजनिकै धोबिधारा र कुलधाराको बीचमा पहिरो खसेको ठाउँमा गरिएको मर्मतसमेत भत्किएको छ। ठूलो रकम खर्चेर मर्मत गरेको यो ठाउँमा अहिले सवारीका साधन चलाउन समस्या पर्न थालेको छ। २०७८ सालमा पहिरोसँगै बगेको करिब ३० मिटर सडक लामो समय लगाएर मर्मतसँगै भर्खरै कालोपत्रे गरिएको थियो। तर, कालोपत्रे गरेको ठाउँमा खाडल परेर गाडी चलाउनै समस्या भएपछि सवारी चालक र स्थानीय आक्रोशित छन्। उनीहरूले करोडौं रुपैयाँ खर्चेर निर्माण गरेको सडक बनिनसक्दै भत्किएकामा सामाजिक सञ्जालमार्फत् विरोध जनाइरहेका छन्।  

स्थानीय भक्त थामीले मोटो रकम खर्चेर निर्माण गरेको राजमार्ग बनिनसक्दै भत्किनु लापरबाही भएको जनाए। उनले नियामक निकायकै आँगनमा गुणस्तरहीन काम हुँदा पनि चुपचाप रहनु अझ दुःखद् भएको जनाए। भत्किएको राजमार्ग डिभिजन कार्यालयबाट करिब ५ सय मिटर दूरीमा पर्छ। माइखोला–बिब्ल्याँटे खण्डको राजमार्ग मर्मतको ठेक्का ७२ लाख रुपैयाँमा लागेको हो। गायत्री मा निर्माण कम्पनीले मर्मतको जिम्मा लिएको छ । तर, पहिरो गएको यो स्थानको अरू निर्माणको काम भने यसअघि अर्कै ठेक्काबाट सम्पन्न गरिएको थियो।  

 डिभिजनकी इन्जिनियर मनिषा कट्टेलले राजमार्गको माइखोला–बिब्ल्याँटे खण्डको मर्मत करिब ८० प्रतिशत सम्पन्न भएको बताइन्। ‘पहिरो गएको ठाउँमा गरिएको कालोपत्रे भत्किन थालेको छ, यो पुनः मर्मत नगरी हामी निर्माण कम्पनीलाई भुक्तानी दिँदैनौं, कालोपत्रे यति चाँडै भत्किएला भन्ने चाहिँ हामीलाई पनि लागेको थिएन,’ उनले भनिन्, ‘तर, बर्खा लागेकाले अब असोजसम्म कालोपत्रेको काम हुँदैन।’ उनले यो खण्डका अरू स्थानमा पनि मर्मतको काम सकिएपछि मात्रै भुक्तानी दिने दाबी गरिन्। निर्माण कम्पनीले भने २४ लाख रुपैयाँ हाराहारीमा भुक्तानी लिइसकेको छ।  

माइखोलादेखि फिक्कलसम्मको राजमार्ग पनि मर्मत गरिनसक्दै भत्किन थालेको छ। मर्मत गरिएका ठाउँ–ठाउँमा सडक खाडल परेपछि बर्खामा सवारीका साधन गुडाउन मुस्किल परिरहेको छ। यो खण्ड पनि गएको वैशाखपछि नै मर्मत गरिएको हो। तर, असार तेस्रो साता नपुग्दै बिग्रिन थालिसकेको स्थानीय बताउँछन्। ‘यहाँ राजमार्ग मर्मतको काम बजेट सक्न झारा टार्नेगरीमात्रै भएछ,’ गोदकका एक स्थानीयले आक्रोश पोखे, ‘मर्मत गरेको महिनादिन बित्दैछ, अहिले नै फेरि मर्मत गर्ने बेला भइसक्यो, कस्ता ठेकेदार, कस्ता इन्जिनियरले यो काम गरिरहेका छन्?’  

डिभिजन प्रमुख विदुर पोख्रेलले मर्मतका लागि ठेक्का लागेर काम भइरहेका सडक भत्किनथालेको गुनासो आएको बताए। ‘तर, दुवै ठेक्काको काम सम्पन्न भइसकेको छैन, गुणस्तरीय काम सम्पन्न भएपछि मात्रै कार्यालयले रकम भुक्तान गर्छ,’ उनले भने, ‘बनाउँदा बनाउँदै बिग्रेको छ भने निर्माणकर्ताले पुनः मर्मत गरी राम्रो बनाएपछिमात्रै हामी जिम्मा लिन्छौं।’  

प्रकाशित: २८ असार २०८० ०७:५० बिहीबार

मर्मत नसकिँदै भत्कियो मेची राजमार्ग इलाम धोबिधारा–कुलधारा फिक्कलदेखि बिब्ल्याँटे