समाज

सरकारी वकिलले भने ‘न्यायाधीश नियुक्तिमा ढिलाइ भयो’

न्यायाधीश नियुक्तिका विषयमा सरकारी वकिल समाजले चासो व्यक्त गरेको छ। सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायाधीशको पद रिक्त रहेको र नियुक्ति ढिलाइ भएको भन्दै सरकारी वकिल समाजले एक विज्ञप्तिमार्फत चासो देखाएको हो।

समाजले न्यायाधीश नियुक्तिमा ढिलाइ भएकाले न्याय सम्पादनका काम रोकिएकोप्रति पनि चिन्ता व्यक्त गरेको छ। समाजका अध्यक्ष लोकराज पराजुली र सचिव दिनेशप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा योग्य व्यक्तिलाई न्यायाधीशमा नियुक्ति गर्नुपर्ने उल्लेख गरेका छन्।

‘न्यायाधीश नियुक्ति प्रक्रिया रोकिदा न्याय सम्पादनका कामहरू प्रभावित हुन गई जनताको शीघ्र न्याय पाउने अधिकारको हनन भएको छ,’ मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नियमित रूपमा हुनुपर्ने न्यायाधीश नियुक्ति समयमै नहुँदा उमेरहदका कारणले सेवामा रहेका दक्ष जनशक्ति अवसरबाट बञ्चित भएका छन्।’

कार्यरत न्यायाधीश, नेपाल न्याय सेवा (न्याय, कानुन र सरकारी वकिल समूह) कानुन अधिकृत, कानुन व्यवसायी, कानुन र न्यायको क्षेत्रमा निरन्तर काम गरेका व्यक्तिमध्येबाट सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायाधीश नियुक्त गर्ने व्यवस्था संविधानमै किटान गरिएको छ।

‘सबै पक्षको उचित र न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्दै संविधानको मर्म र भावना अनुरूप न्यायाधीश नियुक्तिमा सरकारी वकिलको उचित प्रतिनिधित्व हुने,’ सरकारी वकिल समाजको अपेक्षा छ।

प्रकाशित: २७ असार २०८० ०४:१४ बुधबार

सरकारी वकिल समाज