समाज

सगरमाथा शिखर टेक्दा...

इलाम-  ‘जब चुचुरोमा पुगें, सबैथोक एकैचोटी सम्झिएँ भनौं कि बिर्सिएँ, धुरुधुरु रोएँछु मात्रै। बोली आएन, अक्क न बक्क भइएछ। रुनेबाहेक दिमागले केही सोच्नै सकेनछ,’ युवक यामबहादुर गुरुङ (कमल) भन्दैथिए, ‘म बाल्यकालमा किताबमा पढेकै सगरमाथाको शिरमा आइपुगें भन्ने त आफैंलाई पनि विश्वास भएन।’

                गुरुङले विश्वको सर्वोच्च शिखरमा पाइला राख्दाको अनुभूति सुनाउँदा जिल्लाबासीलाई काल्पनिक कथाझैं लाग्थ्यो । हिमालमा पहाड बनेको हिउँ छिचोलेर सर्वोच्च शिखरमा पाइला राख्दा उनी स्वयंलाई त विश्वास भएनछ, उनको कथा सुन्नेलाई झन् किन उनको कथा काल्पनिक लाग्दैनथ्यो र!

                ‘जब शिखरमा पुगें निकै नै इमोसनल भएँछु। एकछिन रमित हेरें । सबै आफूभन्दा तल। पृथ्वीबाट अग्ला–अग्ला देखिने हिमाल तल, भुइँबाट आकासमा देखिने बादल निकै तल। पहाड, बजार, धर्साझैं देखिने बाटाघाटा र नदी–खोला झनै तल,’ सहभागीका जिज्ञासा मेटाउँदै उनले थपे, ‘शिखरमा पाइला टेकेपछि त आफू पृथ्वीमै टेकिरहेको छैनजस्तो लाग्दोरहेछ।’

                शिखरमा पुगेको केही मिनेट उनी एक्लै रोएछन्। ‘माथि पुगेपछि कसैलाई देखिनँ। एकछिनपछि एक भाइ आए, उनले मलाई अँगालो हालेछन्, मैले नि उनलाई अँगालो हालेंछु, त्यसरी नै करिब ३० सेकेन्ड रोएछौं हामी,’ उनले फेरि सुनाए, ‘चुचुरोमा साँघुरो भाग रहेछ। ८–१० जनासम्मले मात्रै एकैपटक फोटो खिच्न सकिनेजति ठाउँ । २०–२५ मिनेट चुचुरोमा बितायौं र फर्कियौं ।’ चुचुरोमा सास फेर्न निकै गाह्रो भएको उनको अनुभव छ । ‘एकछिन अक्सिजन मास्क खोलिहेरेको, जिउ एकाएक झम्झमाएर उकुसमुकुस हुँदोरहेछ । फुल चार्ज गरेर गोजीमा हालेको मोबाइलको ब्याट्री सकिएछ चिसोले,’ उनले भने।

                यामबहादुरले जेठ २ (१६ मे सन् २०१७) मा सगरमाथा चुचुरोमा पाइला टेकेका थिए । निकै साहसिक, चुनौती र जोखिमपूर्ण मानिने हिमाल आरोहण, त्यसमा पनि सर्वाेच्च शिखरमा पाइला टेक्ने वर्षौदेखिको सपना पूरा भएपछि यामबहादुर निकै गद्गद् छन् । ‘अब चाहिँ मलाई इलामेको छोरो हुँ भन्नेमा गर्व लागेको छ,’ शुक्रबार जिल्लाबासीको सम्मान ग्रहण गरेपछि उनले भने, ‘मेरो वर्षौदेखिको सपना पूरा भएको छ । जीवनको लक्ष्य पूरा गरेजस्तो लागेको छ ।’ हिमाल चढ्नु सामान्य काम होइन तर आँट गर्दा असम्भव पनि छैन भन्ने लागेको उनले सुनाए ।

                इलाम नगरपालिका–१, साखेजुङ गाउँमा २०३४ सालमा जन्मेका यामबहादुरले सगरमाथामा पाइला टेकेर सिंगो जिल्लाबासीको गौरव बढाएको कदरस्वरूप उनलाई शुक्रबार सदरमुकाममा सम्मान गरिएको हो। नेकपा एमाले जिल्ला संगठन कमिटीले उनको सम्मान कार्यक्रम आयोजना गरेको हो ।

                                १८ वर्षदेखि बेलायती सेनामा कार्यरत गुरुङको १० सदस्यीय आरोहण दलमा ४ विदेशीसहित नेपाली युवा सहभागी थिए । उनीहरूको हिमाल आरोहणका लागि बेलायती सेनाले नै खर्चको व्यवस्था मिलाइदिएको थियो।     

 

प्रकाशित: १२ जेष्ठ २०७४ १२:०२ शुक्रबार

सगरमाथा शिखर टेक्दा...