समाज

मौलाकालिका पुग्ने धार्मिक पर्यटक बढे

यसअघि गैंडाकोट तथा नारायणगढ आउँदा टाढैबाट मन्दिर दर्शन गरेर जाने ६१ वर्षीया लक्ष्मी उपाध्याय गत सोमबार मौलाकालिका मन्दिरमा पूजा गर्न पुगेकी थिइन्। जिल्लाको मध्यविन्दु-३ बाट आएकी उनले हामीसँगको कुराकानीमा १७ वर्षपछि आज मन्दिर पुगेको बताइन्।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोटमा रहेको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा हिँडेर जानुपर्ने भएकाले आफू १७ वर्षसम्म मन्दिर दर्शनका लागि जान नसेकेको उपाध्यायको भनाइ थियो।

‘सत्र वर्षअघिसम्म त वर्षमा दुईतीन पटक मौलाकालिका मन्दिर आउने गरेकी थिएँ’, उनले भनिन्, ‘विस्तारै बुढेसकाल लागेपछि हिंडेर मन्दिर पुग्नसक्ने अवस्था नभएकाले टाढैबाट मन्दिरको दर्शन गरेर घर फर्किने गरेकी थिएँ।’ यस पटक भने मन्दिरसम्मै पुग्न सकिने केबलकार सञ्चालनमा आएको सुनेर आफू मन्दिर दर्शनका लागि आएको उनले बताइन्।

‘पहाडको फेदीबाटै केबलकार चल्दा सहज भएको छ। केबलकारमा पाँच मिनेको यात्रापछि मन्दिर नजिकै ओर्लिन पाइने रहेछ, यात्रा पनि रमाइलो लाग्यो’, उनले भनिन्, ‘जिन्दगीमै पहिलोपटक केबलकार चढ्ने मौका मिल्यो, केबलकारबाट झरेको पाँच मिनेटमै माताको दर्शन गर्न मन्दिर पुगिँदो रहेछ।’

केबलकार सञ्चालनपछि हिंड्न नसक्ने व्यक्तिका लागि मन्दिर पुग्न सहज भएको उनले बताइन्। यसअघि आफू नारायणगढ र गैंडाकोट आइराख्ने भए पनि टाढैबाट माताको दर्शन गरेर फर्किने गरेको उपाध्यायले सुनाइन्।

अहिले मौलाकालिकामा पूजाआजा गर्न जाने त भए नै धार्मिक पर्यटन प्रर्वद्र्धनका लागि विभिन्न समूह बनाएर जाने व्यक्तिहरू पनि पुग्ने गरेका छन्। पहिले तल देवघाट दर्शनमा आएका व्यक्तिहरू त्यहाँबाटै फर्किने गरेका भए पनि अहिले केबलकारको सुविधाका कारण मौलाकालिका मन्दिर पनि पुग्ने गरेका सोमबार धनगढीबाट मन्दिर दर्शनका लागि आएका कैलाश आचार्यले बताए।

आचार्यले भने, ‘पहिले पनि दर्शन गर्न पुगेको थिएँ, यहाँ हिंड्न नसक्नेलाई गाडीमा जान सकिने सुविधा पनि थियो र अहिले पनि रहेछ तर गाडी भरपर्दो नहुने। पानी पर्दा हिलो हुने र उकालोमा गाडी नचल्ने भएकाले एकपटक हामी बीचबाटै फर्किएका थियौं तर यसपालि निकै सजिलो गरी देवीको दर्शन गर्न पाइयो। सपरिवार आएका थियौं अब आज नै घर फर्किन्छौ।’

गैंडाकोट-१ को धारापानीबाट मन्दिर नजिकैको हेलिप्याडसम्म केबलकार सञ्चालनमा आएपछि मन्दिरमा दर्शन तथा पूजाआजाका साथै धार्मिक पर्यटनमा आउनेको सङ्ख्या बढेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले जनाएको छ।

समितिका आन्तरिक लेखा समिति संयोजक शोभाकान्त काफ्लेले पहिलेको तुलनामा अहिले दोब्बरले भक्तजनको संख्या बढेको बताए।

‘अघिल्ला वर्षमा समयसमयमा सामान्य दिनमा दैनिक पाँच सयको हाराहारी मानिस मन्दिरमा आउने गरेका थिए’, उनले भने, ‘अहिले दैनिक एक हजारभन्दा बढी मानिस मन्दिरमा आउने गरेका छन्। सार्वजनिक बिदाको दिन र चाडपर्वमा त निकै भिडभाड हुने गरेको छ।’

उनले भने, ‘वैशाखमा केबलकार सञ्चालनमा आएपछि मन्दिरमा भक्तजन बढेका हुन्। मन्दिरमा दैनिक नित्य पूजा, शिवालय मन्दिरमा रुद्री, हवन, विवाहजस्ता शुभकार्य हुने गरेका छन्।’

मन्दिरमा माता कालीको दर्शनसँगै जन्मदिन मनाउन, वैवाहिक वर्षगाँठ मनाउन, भाकल गर्न, भाकल बुझाउन, पितृको उद्धारका लागिसमेत भक्तजन आउने गरेका उनको भनाइ छ।

मन्दिरमा कुनै पनि कार्य गर्न समितिले पैसा तोकेर नलिने भन्दै उनले भने,‘हामीले परेवा उडाउन चाहने व्यक्तिका लागि दुई सय ५० रुपैयाँ मूल्य तोकेका छौं, अन्य कार्यका लागि भक्तजनले स्वेच्छाले दिएको दान हामीले सहर्ष स्वीकारेका छौं।’

मन्दिर पुग्ने भक्तजनले माताको पाउमा, दान पेटिकामा रकम दिने गरेको भन्दै उनले केही व्यक्तिले भने रसिद काटेर भेटी दिने गरेको बताए। मन्दिर दर्शनका लागि आउने भक्तजन बढेसँगै मन्दिरको भेटीसमेत बढेको उनको भनाइ छ।

‘अहिले मन्दिरले दैनिक ५० हजार रुपैयाँभन्दा बढी भेटी रकम संकलन गर्दै आएको छ’, उनले भने, ‘मन्दिरमा संकलन भएको भेटीबाट धर्मशाला, गुरुकुलम्, अतिथि गृह लगायत सञ्चालन भइरहेको छ। भेटीबाट उठ्ने रकमले मन्दिरको खर्च धान्न धौधौ हुने गरेको भन्दै उनले सरकारकोतर्फबाट हालसम्म मन्दिरलाई आर्थिक सहयोग नभएको बताए।

जेठ महिनामा मात्रै मौलाकाली केबलकारमार्फत २६ हजारभन्दा बढी व्यक्तिले यात्रा गरेका मौलाकाली केबलकार प्रालिका व्यवस्थापक सुरज पौडेलले बताए। माथि पुगेका अधिकांश व्यक्ति मन्दिरको दर्शनका लागि पुग्ने गर्दछन्।

दैनिक आठ सय जनासम्म यात्रुले केबलकार चढेर चढेर मौलाकालिका पुग्ने गरेका पौडेलको भनाइ छ। नयाँ वर्षका अवसरमा वैशाख १ गतेदेखि सुरु गरिएको केबलकारमा दैनिक जस्तो दर्शनार्थीको सङ्ख्या बढेको उनी बताउँछन्। बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने यस केबलकारबाट प्रतिघन्टा छ सय जनाले यात्रा गर्न सक्छन्। यसो लम्बाई एक हजार दुई सय मिटर छ।  

प्रकाशित: १६ असार २०८० ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App