समाज

३३ अर्बको चामल आयात

आज राष्ट्रिय धान दिवस

फाइल तस्वीर

सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा चालु आवको ११ महिनामा करिब साढे ३३ अर्बको धान तथा चामल आयात भएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि जेठ मसान्तसम्म ३३ अर्ब ६३ करोड ४७ लाख ९२ हजार रूपैयाँको धान तथा चामल आयात भएको हो।

किसानलाई उन्नत जातको धानको बिउ, आवश्यक परेका बेला रासायनिक मल, सिँचाइ सुविधा, धान रोप्न मेसिन औजार आदिको व्यवस्था गर्न नसक्दा धान उत्पादन वृद्धि हुन सकेको छैन। धानको उत्पादन र उत्पादकत्व घट्दा र उपभोग बढ्दा नेपालले चामलमा विदेशको भर पर्नुपरेको हो। धानको उत्पादन बढाउन नसक्दा चामल आयात भइरहेको पूर्वकृषि सचिव योगेन्द्रबहादुर कार्कीले बताए।

‘धान उत्पादन बढाउन किसानलाई आवश्यक बिउ, सिँचाइदेखि रासायनिक मलको उपलब्धता सहज हुन सकेको छैन,’ सचिव कार्कीले भने, ‘आयात प्रतिस्थापन गर्न धानको उत्पादन र उत्पादकत्व बढाउनुपर्छ।’

सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा चालु आवको ११ महिनामा करिब साढे ३३ अर्बको धान तथा चामल आयात भएको छ।

सरकारले शुक्रबार ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २०औं धान दिवस मनाउँदैछ। हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस मनाउँदै आएपछि मुलुक चामलमा परनिर्भर छ।

नेपाली उपभोक्ताले छिमेकी मुलुक भारत, चीनदेखि अमेरिकामा उत्पादन भएको मिठो–मसिनो चामल प्रयोग गर्ने गरेका छन्। यो वर्ष अमेरिकाबाट करिब १९ करोड रूपैयाँको मसिना चामल आयात भएको छ। त्यसैगरी भियतनाम, थाइल्यान्ड, भुटानबाट पनि नेपालमा चामल आयात हुन्छ। कुनै बेला चामल निर्यात गर्ने नेपाल अहिले परनिर्भरताको अवस्थामा पुगे पनि उत्पादन बढाउन ठोस काम हुन सकेको छैन। सरकार र राजनीतिक नेतृत्वले कृषि आत्मनिर्भरताको नारा दिए पनि व्यवहारमा त्यस्तो देखिएको छैन।

कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण नहुँदा उत्पादन बढ्न नसकेको हो। विदेशतिर प्रतिहेक्टर ६ मेट्रिक टन धान फले पनि नेपालमा प्रतिहेक्टर चार मेट्रिक टन पनि उत्पादन हुँदैन। अहिले नेपालमा प्रतिहेक्टर ३.८ मेट्रिक टन धान मात्र फल्ने गरेको छ। अहिले मुलुकभर करिब १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। चामल आयात प्रतिस्थापन गर्न ६४ लाख मेट्रिक टन धान फलाउनुपर्ने पूर्वसचिव कार्कीले बताए।

सरकारले शुक्रबार ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २०औं धान दिवस मनाउँदैछ। हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस मनाउँदै आएपछि मुलुक चामलमा परनिर्भर छ।

उनका अनुसार धानको उत्पादकत्व बढाएर प्रति हेक्टर ४ मेट्रिक टन पुर्‍याउनुपर्छ, चैते धानसहित १६ लाख हेक्टरमा धान खेती गर्नुपर्छ, वर्षभरिको सिँचाइ सुविधा ३५ प्रतिशतबाट बढाएर ५५ प्रतिशत पुर्‍याउनुपर्छ। ‘किसानलाई उन्नत जातको बिउ र रासायनिक मल समयमा उपलब्ध गराउनुपर्छ,’ कार्कीले भने, ‘उत्पादन बढाउने ठोस योजना बनाउनुपर्छ।’

उत्पादकत्व कम भएकाले चामल आयात भइरहेको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताए। हिमाल, पहाडमा दुई छाक भात खाने प्रचलनले पनि चामल आयात बढेको उनको तर्क छ। ‘मिठा, मसिना चामल विदेशबाट आयात हुन्छ,’ महानिर्देशक केसीले भने, ‘उत्पादन बढाउने योजना बनाएर काम गरिरहेका छौं।’

उत्पादन बढाउन हाइब्रिड धान रोपणमा प्रोत्साहन, सिँचाइ सुविधाको विस्तार, मलको नियमित आपूर्ति, चैते धान खेती विस्तार गरिरहेको केसीले बताए। ‘धान मिसन कार्यक्रम पनि सञ्चालन गरेका छौं,’ केसीले भने, ‘उत्पादन बढाउन धान खेतीलाई प्रोत्साहित गरेका छौं।’

उत्पादन बढाउन रासायनिक मलको अनुदानमा वृद्धि, कृषि अनुसन्धान परिषद नार्कबाट धेरै उत्पादन दिने धानका जात विकास गर्ने काम पनि भइरहेको छ। धानको न्यूनतम समर्थन मूल्य तोकेर खरिद गर्ने, मेसिनरी औजारमा अनुदान दिने काम पनि भएको विभागले जनाएको छ। नेपालीमा मिठोमसिनो खाने बानी बसेका कारण पनि चामल आयात बढेको कृषि मन्त्रालयका अधिकारी बताउँछन्।

परम्परागत खेती प्रणालीले पनि उत्पादन बढ्न सकेको छैन। अहिले पनि धान खेती परम्परागत, निर्वाहमुखी र गैरव्यावसायिक रहेको छ। सिँचाइ, मल र बिउ अभाव, गुणस्तरीय बिउ प्रतिस्थापन दर न्यून, माटोमा प्रांगारिक पदार्थ न्यून भई उर्वराशक्ति कमजोर हुनु र सन्तुलित मलखादको अभावले उत्पादकत्व वृद्धि हुन नसकेको धान विज्ञ बताउँछन्।

उत्पादकत्व कम भएकाले चामल आयात भइरहेको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताए। 

अहिले पनि किसानले साढे चार दशक पुरानो धानको बिउ प्रयोग गरेका छन्। करिब ८५ प्रतिशत किसानले पुरानो धान प्रयोग गरिरहेका छन्। उन्नत जातको धानको बिउ प्रयोगमा ल्याएर १५/२० प्रतिशत उत्पादन बढ्ने भए पनि किसानले उन्नत जातको बिउ पाउन सकेका छैनन्।

गत आर्थिक वर्षमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। गत आवमा बेमौसमी वर्षाले मुलुकभरका १ लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको ४ लाख २४ हजार ११३ टनजति उत्पादन हुने धानबालीमा क्षति भएपछि उत्पादन घटेको थियो। आर्थिक वर्ष २०७७/७८ मा भने ५६ लाख २१ हजार मेट्रिक टन  धान उत्पादन भएकाे थियाे।

प्रकाशित: १५ असार २०८० ०१:०२ शुक्रबार

३३ अर्बको चामल आयात आज राष्ट्रिय धान दिवस