काठमाडौँ – अपहरणमा परेको भनिएका नयाँ शक्तिका वडा अध्यक्ष उम्मेद्वार मदन गिरी गोदावरीको जंगलमा घुमिरहेको अवस्थामा फेला परेका छन् ।
बुधबारबाट सम्पर्क विहिन भएका गिरीलाई प्रहरीले गोदावरीमा फेला पारेको हो । गिरीले बुधवार आफूलाई ४ जनाले अपहरण गरेको भन्दै पार्टीका नेतालाई एसएमएस गरेपछि सम्पर्क विहिन भएका थिए।
तर प्रहरी अनुसन्धानमा भने उनी अपहरणमा नपरी आफैँ सम्पर्कविहिन बनेको देखिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी छविलाल जोशीका अनुसार गिरीले चर्चाका लागि अपहरणको नाटक गरेका हुन् । ‘ गिरी अपहरित भएको बारे विश्वसनीय तथ्य फेला परेन ।आफैँ सम्पर्कविहिन भएको देखियो,’ एसएसपी जोशीले भने ।
गिरीले अाफूलार्इ कोटेश्वरबाट ४ युवतीले अपहरण गरेको दावी गरे पनि सोधपुछमा अपहरणबारे विश्वसनीय जानकारी दिन नसकेको र चर्चामा आउन अपहरण नभइ अपहरणको हल्ला गरेको प्रहरी निष्कर्ष छ ।
नागार्जुन नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष उम्मेद्वार गिरी पूर्व सैनिक हुन्।
प्रकाशित: २२ वैशाख २०७४ ०५:५८ शुक्रबार