समाज

नेपाली इस्कुस भारत निर्यात खुला

इलामको रोङ गाउँपालिकामा फलेको इस्कुस । तस्बिर भीम/नागरिक

वर्षाैंदेखि अवैध रूपमा निर्यात भइरहेको तरकारी इस्कुसले अब भारतीय बजारमा वैधता पाएको छ । इलामका पूर्वी सीमाबाट बर्सेनि लाखौं रुपैयाँको इस्कुस अवैध रूपमा निर्यात हुनेगरेकामा अब प्लान्ट क्वारेन्टाइन सूचीमा समावेश गरिएको हो ।  

सूर्याेदय नगरपालिकालगायत इलाम र पूर्वका विभिन्न जिल्लामा ठूलो परिमाणमा इस्कुस उत्पादन हुन्छ । तर, यसको निर्यात सहज नहुँदा किसानले सास्ती खेप्नुपरेको थियो । इलाम, पाँचथर, ताप्लेजुङलगायत जिल्लाको इस्कुस इलामका सीमावर्ती क्षेत्रबाट रातारात अवैध रूपमा निर्यात भइरहेको थियो ।

सूूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले नगरले ४ वर्षदेखि गरेको प्रयास सफल भएको प्रतिक्रिया दिए । ‘सूर्याेदय नगरमा बर्सेनि ५० हजारदेखि ४५ लाख रुपैयाँसम्मको इस्कुस बेच्न एउटै किसान पनि छन्,’ मेयर राईले भने, ‘यत्रो आम्दानीको स्रोत इस्कुसलाई क्वारेन्टाइन लिस्टमा नराख्दा किसानले यसको लगानीअनुसारको मूल्य पाउन सकेका थिएनन् ।’

मेयर राईले प्लान्ट क्वारेन्टाइन रेगुलेसन एन्ड मनिटरिङ सेक्सन र प्लान्ट क्वारेन्टाइन एन्ड पेस्टिसाइड मेनेजमेन्ट सेन्टरसँग इस्कुसलाई निर्यातजन्य वस्तुको प्लान्ट क्वारेन्टाइन सूचीमा राख्न निकै मेहनत गर्नुपरेको बताए । ‘नगरले इस्कुस भारत निर्यातका लागि पटक–पटक कृषि मन्त्रालय र विभिन्न विभागमा धाउनुुपरेको थियो,’ उनले भने, ‘संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवले आज मलाई फोनै गरेर इस्कुस प्लान्ट क्वारेन्टाइन लिस्टमा परेकामा बधाईसमेत दिनुभएको छ । म पनि निकै खुसी छु ।’

मेयर राईले नगरको पहल इलामका लागिमात्र नभइ देशभरका इस्कुस उत्पादक किसानका लागि नै ठूलो उपलब्धि भएको बताए । उनले नेपाली इस्कुस अवैध रूपमा भारत पठाउँदा कुनै पनि बेला भारतले आयात रोक्ने जोखिम रहेकामा अब हटेको बताए ।

इलामका सूर्याेदयसहित अधिकतर पालिकाका सबैजसो किसानले इस्कुस उत्पादन गर्छन् । उत्पादित इस्कुस सिजनको सुरुमा करिब ४० रुपैयाँ प्रतिकिलो विक्री हुनेगरेपनि मुख्य सिजनमा यसको मूल्य १० रुपैयाँसम्ममा झर्ने गरेको छ । ‘निकै जोखिम मोलेर रातको समयमा भारत पठाउँदा पनि किसानको हातमा इस्कुसको मूल्य प्रतिकिलो १० रुपैयाँमात्रै पर्छ,’ पशुपतिनगरका एक किसानले सुनाए, ‘अब वैधानिक रूपमा भारत पठाउन पाउने खबरले निकै खुसी बनाएको छ ।’

सूर्याेदयको सामाजिक क्षेत्रमा क्रियाशील युवक सोनाम योल्मोले इस्कुस निर्यात वैध हुनु खुसीको खबर भएको भन्दै अब कृषि उत्पादनलाई अर्गानिक बनाउनतिर लाग्नुपर्ने जनाए । मेयरको प्रयासमा इस्कुस निर्यात वैध भएपछि सयौं स्थानीय किसानले उनलाई सामाजिक सञ्जालमार्फत् बधाई दिँदै खुसी व्यक्त गरिरहेका छन् ।  

प्रकाशित: १ असार २०८० १५:४९ शुक्रबार

नेपाली इस्कुसको भारत निर्यात खुला