समाज

प्रभात बसेललाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश

जबरजस्ती करणीमा कास्कीमा अनुसन्धान हुने

जबरजस्ती करणी, अपहरण र शरीर बन्धक सम्बन्धी आरोपमा थुनामा रहेका मोटरसाइकल राईडर प्रभात बसेललाई धरौटीमा रिहा गर्न जिल्ला अदालत म्याग्दीले आदेश दिएको छ।

बिहीबारको थुनछेक बहसपछि बसेललाई अपहरण र शरीर बन्धक सम्बन्धी मुद्दामा २ लाख ५० हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो। जिल्ला अदालत म्याग्दीका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले केही सर्त सहित उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हाे।

जायरवाला ४३ ९४०० ले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा बसेलमाथि अपहरण र शरीर बन्धक सम्बन्धी जाहेरी दिएकी थिइन्।

आदेशमा मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म बसेल र उनका परिवारबाट जायरवाला र परिवारसँग भेटघाट नगर्ने, गोपनीयतामा असर गर्ने, भौतिक, शारीरिक र मानसिक क्षति पुग्ने कार्यहरू नगर्ने लगायत मुद्दालाई प्रभावित पार्ने गतिविधि नगर्न समेत आदेश दिइएको छ। 

जिल्ला अदालत म्याग्दीबाट धरौटीमा छुटेका बसेललाई कास्की प्रहरीमा रहेको जबरजस्ती करणीको मुद्दामा अनुसन्धान गर्न बिहीबार नै कास्की प्रहरीमा पठाइएको जिल्ला अदालत म्याग्दीले जनाएको छ।

बागलुङ नगरपालिका–९,तित्याङका २३ वर्षीय प्रभात बसेललाई यही जेठ ७ गते पोखराबाट प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। प्रभातको पक्षमा अधिवक्ता सागरजिवी उपाध्याय, शिव सुनार, राम शर्मा, ईश्वर परियार र कुञ्जनी परियारले बहस गरेका थिए। 

प्रभातलाई जायरवाला जायरवाला ४३ ९४०० ले ०७९ फागुन ६ गते अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै गएको जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरीपछिको अनुसन्धान सकेर यसैसाता प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।

जिल्ला अदालत म्याग्दीबाट धरौटीमा छुटे पनि प्रभातले भने जबरजस्ती करणीको मुद्दामा कास्की प्रहरीको हिरासतमा बस्नुपर्ने छ। प्रभात ३ वर्षदेखि बेनीको एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा प्राविधिकको रुपमा काम गर्दै आएका थिए।

प्रभातका आफन्त र साथीह्रुले केटीका अभिभावकले स्वीकार गर्छौ भनेर बोलाएर केटा, केटीलाई छुट्टाएका र पछि केटीलाई उचालेर प्रभात विरुद्ध मुद्दा हाल्न लगाएको बताएका छन् भने जायरवाला र उनका परिवारले भने अस्वीकार गदै आएका छन्। जायरवाला र प्रभात १५ दिन भारतको कलकत्तामा बसेर फर्किएका थिए।

प्रकाशित: ३२ जेष्ठ २०८० १५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App