समाज

ऋण मिनाहासहित हरवाचरवा प्रथा खारेजीको माग

काठमाडौं– हरवा, चरवा अधिकार मञ्च र बाँधा श्रम सञ्जाल नेपालले अन्यायपूर्ण श्रम सम्बन्धको रुपमा रहेको हरवा चरवा प्रथा ऋण मिनहासहित तत्काल खारेज गर्न माग गरेको छ।

राजधानीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी मञ्चले यस्तो माग गरेको हो। त्यस्तै मञ्चले सरकारको प्रस्तावित बजेट हरवाचरवाको पक्षमा खर्च गर्नसमेत माग गरेको छ।

मञ्चका अध्यक्ष दशन मण्डलले हरवाचरवाहरुको ऋण तत्काल सरकारले मिनहा गर्नुपर्ने बताउँदै हरवाचरवाहरुको तथ्यांक सङ्कलनसमेत प्रारम्भ गर्न माग गरेका छन्। उनले भने, ‘प्रस्तावित बाँधा श्रम सम्बन्धी विधेयकको प्रक्रिया पनि अगाडि बढाउने कार्य प्रारम्भर गरियोस् ।’

मञ्चले हरवाचरवा बस्नुको कारण समेत विज्ञप्तीमार्फत उल्लेख गरेको छ। गिरहत(साहु)को चर्को ब्याजको ऋणको चङ्गुलबाट फुत्किन नसक्नुले हरवा तथा चरवाहरु दिनादिनु समस्यामा परिरहेको उनीहरुको गुनासो छ। अध्यक्ष मण्डलले भने, ‘काम गरेको ज्याला पनि ऋणको ब्याजवापत कटौति हुने भएकोले पुस्तौं पुस्तासम्म ऋणीकै रुपमा रहनुपर्ने हाम्रो बाध्यता छ, यतातिर राज्यले ध्यान दिनुपर्छ।’ त्यतिमात्रै नभएर उनीहरुले आफूहरु बिरामी पर्दा काम गर्न नसक्दा हर्जना तिर्नुपरेको समेत गुनासो राखेका छन्।

त्यस्तै कार्यक्रममा उनीहरुले कमैया, हलिया र कम्लहरीको सवालमा पनि मुक्त बाँधा श्रमिक र मुक्त घोषणा हुन बाँकी श्रमिकका लागि ‘एक घर एक रोजगार’को व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित: ७ वैशाख २०७४ ०९:२७ बिहीबार

ऋण मिनाहासहित हरवाचरवा प्रथा खारेजीको माग