समाज

खडेरीले बकैया नदी सुक्यो

मधेश प्रदेशका चार ठूला खोलामा एक गनिने बकैया खोलाको पानी पूर्णतया सुकेको छ। कोशी, कमला, बागमती र बकैयालाई मधेश प्रदेशका ठूला खोलामा गनिने गरिएको छ।

बकैया खोलाको पानी पूर्णतया सुकेको यो पहिलोपटक भएको स्थानीयवासीको भनाइ छ। निजगढ क्षेत्रमा हरेक वर्ष गर्मीको समयमा पानी सुक्ने गरेको भए पनि बकैया खोला तल्लो क्षेत्रमा पहिलोपटक सुकेको ज्येष्ठ नागरिकहरुको भनाइ छ।

बकैया नदीको पानी पूरै सुकेपछि ठाउँ ठाउँमा जन्तु जनावरका लागि खाल्डो खनिन थालिएको छ। गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहलेबकैया नदीमा पानी खान आउने जनावरका लागि खाल्टो खनेर पानी राखेको बताए।

त्यसैगरी राजपुर नगरपालिकाले पनि बकैया खोलामा खाल्डो खनी जनावरका लागि पानी राखिदिएको छ। बकैया नदी पूर्णतया सुकेपछि स्याल, नीलगाई, बँदेलजस्ता जनावरका साथै चराचुरुंगीलाई  पानी खान अप्ठ्यारो हुने गरेको देखिन्छ।

मौलापुरका ८४ वर्षीय बिरबल साहले आफूले अहिलेको जस्तो बकैया नदीको पानी पूरै सुकेको कहिल्यै पनि नदेखेको बताउँछन्। अहिलेको जस्तो बकैया खोलाको पानी पूर्णतया सुकेर बगरमा परिणत भएको यसभन्दा पहिले आफूले कहिल्यै नदेखेको साहको भनाइ छ।

सर्वसाधारणले जथाभावी रुख काटेको तथा चुरे क्षेत्रको विनाश भएको कारण चरम खडेरीको सामना सर्वसाधारणले गर्नुपरेको स्थानीय बताउँछन्।  

प्रकाशित: २९ जेष्ठ २०८० १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App