समाज

म्यादी मोह (फोटो फिचर)

बिब्ल्याँटेस्थित खेलमैदानमा म्यादी प्रहरी छनौट गरिँदै । म्यादीमा भिड्ने युवाको लर्काे। तस्बिरहरूः भीम चापागाईंं

इलाम–  देउमाई नगरपालिका–९ की सुस्मिता तामाङ म्यादी प्रहरीको छनौटमा शारीरिक जाँच र दौडमा उत्तीर्ण हुँदा निकै हर्षित छिन् । कक्षा–१० सम्म पढेर छाडेकी उनी स्थानीय तह चुनावलाई म्यादी प्रहरी आवश्यकताको सूचना पाएर गद्गद् हुँदै सदरमुकाम आइपुगेकी थिइन् । 

‘अहिलेसम्मका सबै प्रतिस्पर्धामा उत्तीर्ण भएँ,’ हौसिँदै उनले सुनाइन्, ‘अब लिखित र मौखिकमा पनि पास गर्ने होप छ ।’ उनले म्यादीमा आउनु परिवारको खर्च जोहो गर्नुमात्र नभई लामो समयपछि हुन लागेको स्थानीय तह निर्वाचनलाई सघाउने इच्छा भएको पनि सुनाइन् । 

‘अहिलेसम्मका सबै प्रतिस्पर्धामा उत्तीर्ण भएँ,’ हौसिँदै उनले सुनाइन्, ‘अब लिखित र मौखिकमा पनि पास गर्ने होप छ ।’ उनले म्यादीमा आउनु परिवारको खर्च जोहो गर्नुमात्र नभई लामो समयपछि हुन लागेको स्थानीय तह निर्वाचनलाई सघाउने इच्छा भएको पनि सुनाइन् । 

चमैताकी मनिकला राई सदरमुकामको महेन्द्र रत्न बहुमुखी क्याम्पसकी बिबिएस प्रथम वर्षकी विद्यार्थी हुन् । उनी पनि म्यादी प्रहरीमा भिड्न गाउँबाट सदरमुकाम आएकी छिन् । उनलाई छनौटका कुनै चरणमा असफल हुन्छु भन्ने त लागेकै छैन । ‘महिलाले पनि केही गर्न सक्छन् भन्ने देखाउनु छ,’ उनले सुनाइन्, ‘लामो समयपछि हुन लागेको चुनावलाई हामीले पनि आफूले सक्ने ठाउँमा सघाउनुपर्छ भन्ने लागेर म्यादीमा आएकी ।’ गाउँमै १० कक्षा पढिरहेकी चमैताकै मालती राई, राँकेकी मन्दिता राई, मंगलबारेकी विनीता खड्का, शान्तिडाँडाका मनकुमार राईलगायत पनि म्यादी प्रहरीमा लागेर चुनावलाई सघाउन उत्साही भएर लागेका भेटिए । 

इलाम नगरपालिका–५, बिब्ल्याँटेस्थित खेलमैदानमा अहिले म्यादी प्रहरीमा भिड्ने जाँगरिला युवक–युवतीको भीड लाग्यो । २ दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षामा सघाउन गाउँ–गाउँबाट ३ हजार युवा सदरमुकाम आएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा ४ सय ४७ महिलासहित २ हजार ९ सय १० जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । उनीहरूलाई प्रहीले शारीरिक र बौद्धिक पक्षको जाँच गराइरहेको छ । 

भोट हाल्न नपाउनेमा चिन्ता

२०६४ र ०७० सालका संविधानसभा चुनावमा म्यादी प्रहरी र कर्मचारीले समानुपातितर्फ भोट हाल्न पाएका थिए । तर, आउँदो स्थानीय तह चुनावमा प्रत्यक्ष निर्वाचनप्रणालीमा व्यक्तिलाई मात्र भोट हाल्न पाइने भएकाले आफ्ना जनप्रतिनिधि चुन्न नपाउँदा म्यादी प्रहरीका आकांक्षी खिन्न छन् । 

माई नगरपालिका–२, दानाबारी गाउँका ४७ वर्षे जयराम खनाल दोस्रो संविधानसभा चुनावमा झापाको घेराबारीमा म्यादी प्रहरीकै रूपमा खटिएका थिए । उनले त्यसबेला समानुपातिकमा भोट हाल्न पाए । ‘तर, यो पटक कहाँ परिने हो थाहा छैन,’ उनले सुनाए, ‘भोटमा सघाउन त आइयो तर यो पटकको चुनावमा आफ्ना प्रतिनिधि छान्न चाहिँ नपाइने भो ।’ 

साङरूम्बा गाउँका ४६ वर्षे वीरसिंह राई पनि २०६४ र ०७० दुवै संविधानसभा निर्वाचनमा म्यादी प्रहरीका रूपमा खटिए । उनी अहिले देशभर जहाँ खटाएपनि जान तयार छन् । तर, आफ्नो गाउँका नेता छान्न भोट हाल्न नपाइने भएपछि उनी पनि निरास छन् । ‘पहिला स्थानीय निकायका जनप्रतिनिधि चुन्दा त भोट हालिएको थियो,’ उनले सुनाए, ‘यसपालि चाहिँ म्यादीमा लागियो भने भोट हाल्न नपाइने भएर दुःख लागेको छ । जिल्लामा १८ देखि ५२ वर्षसम्मका युवा र प्रौढ म्यादी प्रहरीमा भिड्दैछन् । 

जिल्ला निर्वाचन अधिकारी प्रेम काफ्लेले म्यादी प्रहरी र चुनावमा खटिने कर्मचारीले स्थानीय तह चुनावमा भोट हाल्न नपाउने बताए । ‘आफ्नो मतदाता नामावली रहेको मतदान केन्द्रमा पर्दा त भोट हाल्न पाउन सक्छन् तर स्थानीयलाई आफ्नै गाउँमा खटाइँदैन,’ उनले भने, ‘आउँदो चुनावमा म्यादी प्रहरीमात्र होइन, त्यसमा खटिने कर्मचारीले पनि भोट हाल्ने मौका नपाउने देखिएको छ ।’ 

गृह मन्त्रालयले आउँदो स्थानीय तह चुनावका लागि देशभरबाट ७५ हजार म्यादी प्रहरी माग गरेको छ । साधारण लेखपढ गर्नसम्म जान्नेका लागि खुलेको कोटामा स्नातकसम्मले फाराम भरेका छन् । चैत २१ सम्ममा छनौटप्रक्रिया सकेर २२ गते उनीहरूको अन्तिम नतिजा निकाल्ने गृहको तालिका छ । उनीहरूलाई चैत २५ देखि २०७४ वैशाख ८ सम्म तालिम दिएर चुनावमा खटाइने प्रहरीले जनाएको छ । प्रहरी जवानसरह सेवा–सुविधा पाउने म्यादी प्रहरीको अवधि ५५ दिनको रहने छ । 


 

म्यादी मोह फोटो फिचर