समाज

डण्डिफोर हटाउन क्लिनिक भर्ना भएकी युवतीको मृत्युभएपछि तोडफोड

लहान—चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आज सिरहाको बन्दीपुरस्थित एक स्वास्थ्य क्लिनिकमा तोडफोड गरेका छन्।

अनुहारको डन्डीफोर हटाउने भन्दै मङ्गलवार स्थानीय राइन मेडिकेयर सेन्टरमा भर्ना भएकी सिरहास्थित कर्जनहा गाउँपालिका–२ बन्दीपुरकी २५ वर्षीया रेखादेवी मुखियाको गएराति मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयवासीले मेडिकेयर सेन्टरमा तोडफोड गरेका हुन्।

घटनालगत्तै प्रहरीले राईन मेडिकेयर सेन्टरका सञ्चालक ताहिर राइनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक यम अधिकारीले जानकारी दिए। 

तोडफोड गरिएको राईन मेडिकेयर सेन्टर जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता नगराई अवैधरुपमा सञ्चालन गर्दै आएको स्थानीयवासीको आरोप छ। अनुहारको डण्डीफोर हटाउन भर्ना भएकी रेखाको अनुहारको राईन मेडिकेयर सेन्टरका सञ्चालकले शल्यक्रिया गरेको मृतककी सासु मसिहादेवी मुखियाले बताईन्। 

शल्यक्रियापश्चात अत्याधिक रक्तश्राव भएर नरोकिएपछि रेखा बेहोस भएकी थिइन्। त्यसपछि रेखालाई कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लैजाँदै गर्दा बोटोमै उनको मृत्यु भएको परिवारले बताएको छ। रासस 

 

प्रकाशित: ९ चैत्र २०७३ १४:०८ बुधबार

डण्डिफोर हटाउन क्लिनिक भर्ना भएकी युवतीको मृत्युभएपछि तोडफोड