समाज

भारतबाट ३३ नेपाली बालबालिकाको उद्धार

काठमाडौं- सरकारले भारतबाट ३३ नेपाली बालबालिकाको उद्धार  गरेको छ। केन्द्रीय बालकल्याण समितिले भारतका विभिन्न बालगृहमा रहेका बालबालिकालाई उद्धार गरेर काठमाडौं ल्याएको हो। भारतको विहार राज्यमा जोखिमयुक्त क्षेत्रमा कार्यरत बालबालिकलाई भारतीय प्रहरीले उद्धार गरेर भारतीय बालगृहमा पठाएको थियो। भारतीय प्रहरी र अभिभावकको उजुरीका आधारमा उनीहरूलाई स्वदेश फिर्ता फर्काइएको हो। उद्धार गरिएकामध्ये ३१ बालक र दुई  बालिका छन्। उनीहरूको उमेर ६ वर्षदेखि २० वर्षसम्मको छ।

केन्द्रीय बालकल्याण समितिको अगुवाइमा पटनास्थित समाजकल्याण निर्देशनालयसँग समन्वय गरेर नेपाली बालबालिकाको उद्धार गरिएको समितिका कार्यक्रम व्यवस्थापक नमुना भुसालले बताइन्। 'भारतीय प्रहरीले पक्राउ गरेर बालगृहमा पठाएका बालबालिकाको उद्धार गरेका हौं', उनले भनिन्, 'खुला सीमाका कारणले धेरै बालबालिका जोखिमयुक्त क्षेत्रमा काम गराइरहेको पाएका छौं।' उनका अनुसार खुला सीमाका बालबालिकालाई ललाईफकाई तथा रोजगारीको लोभमा भारतमा पुग्ने गरेको बताइन्।

समितिका कार्यकारी निर्देशक तारक धितालले भारतको चारवटा बालगृहमा रहेका ३३ जना बालबालिकाको उद्धार गरेर ल्याएको बताए। निर्देश बालगृह मुजफ्फरपुरबाट १३ बालक, सेवा संकल्प बालिका गृह मुजफ्फरपुरबाट दुई बालिका, निर्देश बालगृह मुजफ्फरपुरबाट बैंगलोर पठाइका चार जना, दरभंगा बालगृहबाट १४ जना बालकको उद्धार गरेर काठमाडौं ल्याइएको हो । ती बालबालिकालाई सर्कस, होटेल तथा रेस्टुरेन्ट, घरेलु श्रमिक तथा बुट्टा भर्ने काममा लगाइँदै आएको खुलेको छ।

अधिंकाश बालबालिकाको सिरहा, सर्लाही, सप्तरी, रौतहट, काठमाडौं, काभ्रे, बाँके, रुकुम, सिन्धुपाल्चोक, डोटी, महोत्तरी नवलपरासी, बारालगायतका जिल्लाका रहेका छन्। सिरहाका नौ बालबालिका छन्। खुला सिमाना, साथीभाइको लहलहै, घरबाट भागेर, आफन्तको पछि लागेरलगायतका विभिन्न कारणले भारत गएको निर्देशक धितालले बताए।

उनले उद्धार गरिएका बालबालिकालाई स्वास्थ्य उपचार, मनोपरामर्श गरेरमात्रै परिवारसँग पुनर्मिलन गर्ने तयारी भइरहेको बताए। 'उद्धार गरिएका बालबालिकामा स्वास्थ्य समस्या देखिएको छ। त्यसैले उपचार गरेर मात्रै मनोपरामर्श गर्नेछौं', उनले भने, 'परिवारलाई खबर गरिरहेका छौं। उहाँहरू आएपछि पुनर्मिलन गर्नेछौं।' उद्धार गरेर काठमाडौं ल्याइएका बालबालिकालाई केन्द्रीय बालकल्याण समितिको सुपरीवेक्षणमा गोदावरीमा रहेको छोराछोरी नेपालमा राख्ने समितिले जनाएको छ। उद्धार गरेर ल्याएका बालबालिकाले आफ्नै देशमा आउन पाउँदा खुसी व्यक्त गरेका छन् । 'साथीभाइको लहैलहैमा भारत गइयो, त्यहाँ धेरै दुःख पाइयो', गुल्मीका रमेश नेपालीले भने, 'भारतमा धेरै दुःख पाइयो। अब कहिल्यै  जान्न।'

प्रकाशित: ६ चैत्र २०७३ ०३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App