समाज

आठराई त्रिवेणीले सार्वजनिक गर्यो वर्ष दिनका ३० उपलब्धि

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले तीसबुँदे प्रगति विवरण प्रस्तुत गर्दै त्यसलाई वर्ष दिनभित्रको मुख्य उपलब्धिका रूपमा उल्लेख गरेको छ। पालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले मुख्य उपलब्धि सार्वजनिक गर्दै उत्कृष्ट र नमुना गाउँपालिका बनाउने गरी कार्य सम्पादन प्रक्रियामा रहेको बताएका छन्। उनका अनुसार निर्वाचित पदाधिकारीको एकबर्से कार्यकालमा गाउँपालिकाभरिका घरधुरीमा घरायसी प्रयोजनका लागि विद्युत् निःशुल्क गरिएको छ।

पालिकाभित्रका सबै स्वास्थ्य संस्था निर्माण कार्य पूरा हुने चरणमा रहेको र निघुरादिन तथा फूलबारीका स्वास्थ्य संस्था निर्माण सम्पन्न भई नयाँ भवनबाटै सेवा आरम्भ भएको, वडापालिकाका प्रशासकीय भवनमध्ये वडा नं ३ हाङ्पाङको भवन निर्माण पूरा भई नयाँ भवनबाट प्रशासकीय सेवा सुरु भएको र बाँकी चारवटा वडाको प्रशासकीय भवन निर्माण सम्पन्न भई नयाँ भवनबाटै सेवा आरम्भ गर्ने प्रक्रियामा रहेको पालिकाले जनाएको छ।

आधुनिक र एकीकृत सेवा दिने गरी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा व्यवस्थापनसहित निर्माणको चरण प्रारम्भ भएको, पालिकाका कर्मचारीका लागि आबास भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको, पालिकास्तरीय १० शैयाको अस्पताल निर्माण कार्य तीव्र रूपमा अघि बढेको, पालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन पूर्णरूपमा निःशुल्क गरिएको, लामो समयदेखि मानसिक समस्या भोगिरहेका पालिकाका २ जनाको उद्धार गरी उपचार व्यवस्था गरिएको, क्यान्सरपीडित, मेरुदण्ड पक्षाघात तथा मिर्गौला प्रत्यारोपण गरी डाइलासिस गराइरहेका १५ बिरामीलाई मासिक ५ हजार रूपैयाँका दरले करिब चार। लाख रूपैयाँ बढी रकम प्रदान गरिएको, विपन्न नागरिक सहायता कोषमार्फत पालिकाका १० जना अति विपन्नलाई १५ हजार रूपैयाँका दरले रकम उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ।

यस्तै सुशासन प्रवद्र्धनका लागि ई–हाजिरी र डिजिटल नागरिक बडापत्रसहितका व्यवस्था गरिएको, शान्ति सुव्यवस्था तथा आपराधिक गतिविधि निगारानीका लागि कार्यालयपरिसर र पालिकाका मुख्य नाकामा बुलेट सिसी क्यामेरा जडान गरिएको, सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्ने नीतिअनुरूप आवश्यक कर्मचारी र भौतिक उपकरण व्यवस्थापन गरिएको, प्रधानाध्यापकको जिम्मेवारीलाई थप प्रभावकारी बनाउन मासिक १ हजार ५ सय रूपैयाँका दरले थप प्रोत्साहन रकम उपलब्ध गराउन थालिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले ‘एक वडा, एक सामुदायिक भवन’बनाउने नीतिअनुरूप वडा नं ४ र ५ मा भवन निर्माण कार्य भइरहेको र वडा नं १ र २ मा बजेट व्यवस्था गरी प्रक्रिया आरम्भ गरिएको, प्रत्येक वडामा खेल मैदान निर्माण गर्ने गरी पहिलो चरणमा वडा नं २ को महभीर खेल मैदान निर्माण सम्पन्न गरी चालु वर्षको राष्ट्रपति रनिङ सिल्डको पालिकास्तरीय प्रतियोगिता त्यहीं सम्पन्न गरिएको, अवैध निकासीमा रहेका गोलिया तथा अवैधानिक ढंगबाट सञ्चालनमा रहेका क्रसर उद्योगलाई नियमन गरिएको, पालिकाभित्रका सातजनालाई प्राविधिक विषय निःशुल्क पढ्न पाउने व्यवस्थासहित जनही १ लाख रूपैयाँको छात्रवृत्ति प्रदान गरिएको, गाउँपालिका क्षेत्रभित्रका विभिन्न सडकलाई स्तरोन्नति र सडक क्षेत्रमा अनिवार्य ढल तथा निकास प्रबन्ध गरिएको समेत जनाएको छ।

यस्तै गाउँपालिकाको स्रोत साधन र सोको उपयोगिता वृद्धिका लागि खर्च मापदण्ड तयार गरिएको, प्रशासनिक सुधार एवम् मितव्ययितालाई ध्यान दिइएको, सडक बत्तीलाई प्राथमिकता दिई पालिका केन्द्र, वडा कार्यालय र स्वास्थ्य चौकी जाने बाटोमा सडक बत्ती जडान गरिएको, पालिकाका सेवालाई प्रभावकारी र आम नागरिकमा सेवा पहुँच स्थापित गर्न सहायता कक्ष बनाइएको, स्थानीय भाषा जगेर्नाका लागि पालिकाका सबै वडामा स्थानीय भाषा शिक्षा लागु गरिएको, महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक जनही ५ सय रूपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउन थालिएको समेत गाउँपालिकाले जनाएको छ।

यस्तै पालिकाका सबै वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको, पालिका क्षेत्रका सबै विद्यालय बन्दमुक्त घोषणा गरी बन्द समयमा विद्यालय सञ्चालन गर्न थालिएको, गाउँ शिक्षा समितिको अगुवाइमा पालिकाभित्रका माध्यमिक विद्यालयमा मासिक रूपमा स्वास्थ्य परीक्षण गर्न थालिएको, प्रत्येक वडाका गाउँघर क्लिनिकबाट मासिक रूपमा एकपटक गर्भवती र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न थालिएको, ज्येष्ठ नागरिक दन्त उपहार, निःशुल्क आँखा शिविर र चस्मा वितरण कार्यक्रम गरिएको, पालिकाको केन्द्र रहेको स्थान हाङ्पाङस्थित सरस्वती नमुना माध्यमिक विद्यालयमा कक्षा ९ देखि कक्षा १२ सम्म कृषि प्राविधिक विषयको अनुमति लिई कक्षा सञ्चालन सुरु गरिएको तथा वडा नं १ निघुरादिनस्थित परमसिंह माविमा ११ र १२ कक्षा सञ्चालन अनुमति प्रदान गरी कक्षा सुरु गरिएको जस्ता विवरणलाई गाउँपालिकाले वर्ष दिनको उपलब्धिका रूपमा लिएको छ।

प्रकाशित: ९ जेष्ठ २०८० ०२:०२ मंगलबार

आठराई त्रिवेणीले सार्वजनिक गर्यो वर्ष दिनका ३० उपलब्धि