समाज

अवैध मलको लिलामी प्रक्रियामा अवैध काम

गौर भन्सार कार्यालयले गत सोमबार बीस लाखको मल दश लाखमै तस्करको हातमा लिलामी दिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी कार्यवाहीको लागि सम्बन्धित निकायमा प्रतिवेदन पठाएको छ।

प्रहरीले असहज पस्थितिका बाबजुद राजपुरबाट चार राउन्ड गोली चलाएर भारतबाट तस्करी भएर आएको १,३०६ बोरा रासायनिक मल बरामद गरी २० लाख रुपैयाँ मूल्य कायम गरी प्रतिवेदन आइतबार गौर भन्सार कार्यालयको जिम्मा लगाएको थियो। भन्सार प्रमुख वासुदेव नेपाल बिदामा रहेको बेला भन्सारमा कार्यरत नासुहरूले तस्करसँग मिलेर फास्टट्रयाकको बाटो अपनाएर मल लिलामी प्रक्रिया अगाडि बढाएको थियो।

२० लाखको मल १० लाख दुई हजारमै लिलामी गरेको नागरिक न्युजले बारम्बार समाचार प्रकाशन गर्न थालेपछि रासायनिक मल लिलाम प्रक्रियामा ठूलो रकमको चलखेल भएको रहस्यहरू बाहिरिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले लिलाम प्रक्रियामा सहभागी तिनवटै फर्म र भन्सार प्रमुख वासुदेव नेपाल, नायब सुब्बाहरू शिव हरि निरौला, गजेन्द्र थापा, रेवती रोक्का, नवीन कुमार ठाकुर र निशा सराफसँग बयान लिएको छ।

लिलाम प्रक्रियामा जय माता दी जेनरल सप्लायर्स गौर, जैएमडी सप्लायर्स गौर र जय मा दुर्गा सप्लायर्स राजपुरलाई भन्सारका कर्मचारीहरुले मिलेमतो गरेर समावेश गराएका थिए। लिलामीको तारतम्य सबै नासु रेवती रोक्काले मिलाएर औपचारिक पूरा गर्न सम्बन्धित निकायलाई बोलाएका थिए। मिलेमतोमा आधा मूल्यमा मल खाद लिलाम भएको खबर बाहिरिएपछि जिल्ला प्रशासन कार्यालयसहितको ध्यान आकृष्ट भएको थियो।

जिल्ला प्रशासन कार्यालय रौतहट स्रोतका अनुसार गौर भन्सार प्रमुख वासुदेव नेपालले आफू बिदामा रहेको बेला भन्सारमा कार्यरत नासुहरूले गुड फेजमा लिलाम प्रक्रियामा सही गराएको स्वीकार गरेका छन्। पानीले रासायनिक मल नष्ट भइरहेको तारन्तार फोन गर्न थालेपछि बिदामा रहेका नेपालले लिलाम प्रक्रिया अगाडि बढाउन भनेका थिए।

मल खाद लिलामी भएको दिन गत सोमबार बेलुकी छ बजेको समयमा कार्यालय पुगेपछि भन्सारमा कार्यरत सबै नासुहरूले सही गरिसकेको तपाई स्वीकृत गर्दिनू भन्दै मुद्दामा कार्यरत नासु रेवती रोक्का र भन्सारको तत्कालीन निमित्त जिम्मेवारी पाएका नासु शिव हरि निरौला तथा गजेन्द्र थापाले दबाब दिएको नेपालले बताएका छन्। कार्यालयका कर्मचारीहरु सबैको एकमत हुँदा आफूलाई विश्वास लागेर लिलामीमा हस्ताक्षर गरेको भन्सार प्रमुख नेपालले बयानमा स्वीकार गरेका छन्।

लिलामी प्रक्रियाबारे केही जानकारी नभएको भन्सारमा कार्यरत अन्य सुब्बाहरूले हस्ताक्षर गरेको कारण आफूलाई पनि हस्ताक्षर गर्न भनेपछि वहाँहरूको गुड फेथमा लिलामी प्रक्रियामा हस्ताक्षर गरेको नासु निशा सर्राफले बयान गरेकी छिन। भन्सारकै अन्य शाखामा कार्यरत नासु नवीन कुमार ठाकुरले तीन जना नासुले हस्ताक्षर गरिसकेपछि मलाई सही गर्न भनेको आधारमा हस्ताक्षर गरेको स्वीकार गरेका छन्।

जिल्ला प्रशासन स्रोतका अनुसार लिलामी प्रक्रिया भन्सार ऐनमा टेकेर ऐन नियम कानुन अनुसार गरिएको सुब्बात्रय शिव हरि निरौला, रेवती रोक्का र गजेन्द्र थापाले जिल्ला प्रशासन कार्यालय रौतहटमा बयान दिएका छन्।

जिल्ला प्रशासन कार्यालयले अवैध रूपमा रासायनिक मल लिलाम प्रक्रियामा सहभागीहरूलाई प्रारम्भिक चरणको अनुसन्धान र बयान सकेर कार्यवाहीको लागि सम्बन्धित निकायमा पठाउनको लागि प्रतिवेदन तयार भइरहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताएका छन्।

लिलाम प्रकरणमा दोषी देखिएका कर्मचारीहरुलाई कार्यवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भन्सार विभाग, अर्थ मन्त्रालय पठाउने तथा लिलामी प्रक्रियामा सहभागी फर्मका सञ्चालकलाई कार्यवाहीको लागि अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा पठाइने स्रोतबाट बुझिएको छ।

प्रहरीले अवैध मल बरामद गरी भन्सारलाई बुझाएकोमा भन्सारले पनि अवैध तरिकाले लिलामी गरेपछि गौर भन्सार कार्यालयको बदनामी भएको छ।

मोटो कमिसन आउने मललाई एक दिनमै लिलामी गरेको भन्सार कार्यालयले चार सय भन्दा बढी बोरा मल भन्सारमा आएको कैयौँ दिन बितिसक्दा पनि लिलामी गर्न सकेको छैन। 

फलो-अप स्टोरी :

 

 

यो पनि पढ्नुहोस्

भन्सारका पाँच सुब्बाको मिलोमतोमा मलखाद लिलाम

 

 

यो पनि पढ्नुहोस्

मल तस्करी प्रकरणमा प्रहरीको दोहोरो भूमिका

 

 

यो पनि पढ्नुहोस्

भन्सार कार्यालयले प्रक्रिया मिचेर बेचेको ‘मल’ को अनुसन्धान अख्तियारले गर्ने

 

 

यो पनि पढ्नुहोस्

भन्सार कर्मचारीको मिलेमतोमै रासायनिक मल बेचेको खुलासा

 

 

यो पनि पढ्नुहोस्

प्रहरीले बरामद गरेको मल भन्सार प्रमुखले सेटिङमा लगाए तस्करको जिम्मा

 

प्रकाशित: ८ जेष्ठ २०८० १३:५९ सोमबार

अवैध मल